झापा, १० भदौ । गायक जेबी टुहुरेको निधन भएको छ ।
केही दिनअघि राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिए ।
उनी ७८ वर्षका थिए । उनलाई मुटुसम्बन्धी समस्या, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो । गत मंगलबार उनलाई मष्तिष्कघात भएको थियो ।
उनको शव श्रद्धाञ्जलीका लागि बिहीबार दिउँसो १ देखि २ बजेसम्म पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा राखिनेछ। त्यसपछि अन्तिम संस्कारको लागि उनको शव पशुपतिमा लगिनेछ ।
जनगायक टुहुरे वि.सं. २००१ कात्तिक १५ गते धरानमा जन्मिएका थिए । उनी पिता कृष्णबहादुर खड्गी, माता दानदेवी खड्गीका जेठो छोराको रूपमा जन्मिएका थिए ।
जेबी टुहुरेको वास्तविक नाम जुटबहादुर खड्गी हो। जब २०२१ सालमा उनका पिताको निधन भयो, त्यसपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोड्न थालेका हुन् । उनी कम्युनिष्ट आन्दोलनलाई गीतको माध्यमद्वारा अगाडि बढाउने सर्जक भनेर चिनिन्छन् ।
पञ्चायतकालदेखि नै कम्युनिष्ट पार्टीमा लागेर उनले कैयन गीत गाए, बुढापाका र महिलाहरूलाई कम्युनिष्ट आन्दोलनमा आकर्षित गराए ।
उनले गाएको ‘आमा दिदी बहिनी हो’ बोलको गीत उनको सबभन्दा लोकप्रिय गीत हो । यो गीतको साथमा नेकपा एमालेले पूर्वदेखि पश्चिमसम्म टुहुरेलाई आफ्ना चुनावी कार्यक्रममा लैजान्थ्यो ।
एक समय टुहुरेकै कारण एमालेले चुनाव जित्यो भन्नेहरू पनि थिए। तर उनै टुहुरे जीवनको उत्तरार्द्धमा आइपुग्दा भने नेकपा एमालेमा रहेनन्। उनी २०७० सालमा माओवादीमा प्रवेश गरेका थिए ।
Discussion about this post