४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दीपाश्रीको कहानी : पुरानो स्टोभ र काठमाडौंको डेरा

भदौ १२, २०७८, २:०२ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्रकाशका दुई भेद छन– उज्यालो र अँध्यारो । जब कोही उज्यालोमा उभिन्छ, उसलाई छर्लङ्ग देखिन्छ । दृश्यहरू स्पष्ट हुन्छन् । त्यहाँ सबैको दृष्टि पर्छ । तर, अँध्यारोमा ? अँध्यारोमा त आफ्नै छायाँले पनि साथ छाड्छ ।

यो उनको अँध्यारो दिनहरूको कथा हो, जतिबेला उनलाई कसैले देख्दैनथे, चिन्दैनथे । जिन्दगानीमा अभावको क्षेत्रफल ठूलो थियो । दुःखको घनत्व बढी थियो । हो, यो उनको भोकको कथा हो । संघर्षको कथा हो । अनि कथा हो, आकांक्षा, अठोट, दृढता र लगावको ।
कथाकी पात्र हुन्, दीपाश्री निरौला । त्यो पुरानो स्टोभ, कराही र काठमाडौंको डेरा ।

टेलिचलचित्र, रेडियो नाटकबाट थोरबहुत पैसा आउन थालेपछि म काठमाडौंमा एउटा कोठा भाडामा लिएर बस्न थालें । त्यो साँघुरो कोठा थियो । एकै ठाउँ पकाउने, सुत्ने सबै ।

केशव भट्टराई र भाउजू रेनु दिदी डेरा नजिकैको घरमा भाडामा बस्थे । दिदीले भनिन्, ‘दीपा तिमीले कोठा लियौं । अब यसो गर तिमीलाई स्टोभ, कराही र थाल–बटुका म दिन्छु । केही गाह्रो भयो भने मलाई भन्नु ।’ त्यसबेला स्टोभकै चलन थियो । मट्टीतेल लगाएर स्टोभमा खाना पकाउनुपथ्र्यो । सुत्ने पलङ, केही लुगाफाटो र त्यही भाडावर्तन बाहेक मसँग केही थिएन । टेलिचलचित्रमा खेल्थें । तर, आफ्नो अभिनय हेर्नका लागि मसँग टेलिभिजन पनि थिएन ।

टेलिभिजन हेर्नका लागि घरबेटीको कोठामा पुग्नुपर्ने । ‘म पनि हेर्छु न है’ भन्दै जान्थें र टुसुक्कै मुडामा बसेर टिभी हेरिन्थ्यो । एकदमै असजिलो लाग्थ्यो । उहाँहरूलाई डिस्टर्ब हुने पो हो कि ? लुसुक्कै गयो, टुसक्क बसेर हे¥यो । विज्ञापन आउँदा पनि छटपटी हुने । सरासर सिरियल मात्र आउनु नि जस्तो हुन्थ्यो ।

त्यो समयमा मोबाइल नहुने । सम्पर्कका लागि घरबेटीकै ल्यान्डलाइन फोन नम्बर दिइन्थ्यो । कसैले सम्पर्क गर्नु परेमा त्यहीं फोन आउँथ्यो । जब फोनको घण्टी बज्थ्यो, म बेचैन हुन्थें । कतै मेरो नै फोन आएको हो कि ? कसैले मलाई सिनेमामा अफर गर्न पो सम्झिएको थियो कि ? जबसम्म घरबेटीले फोन उठाउँदैनथे, मेरो मुटुको चाल पनि बढिरहन्थ्यो । छिटो उठाउनु नि, मलाई बोलाउनु नि ! म अधीर हुन्थें ।
लुगा नहुँदा कार्यक्रम रद्द

मसँग गतिलो लुगाफाटो थिएन । जहाँ जाँदा पनि एउटै लुगा लगाउनुपर्ने बाध्यता । त्यसबेला नर्थफेस लेखिएको एउटा ज्याकेट थियो, बाहिर हिंडडुल गर्दा लगाउने । त्यो सक्कली नर्थफेस होइन । ज्याकेटको बाहिरी रातो र भित्री नीलो रंग थियो । दुवैतिर फर्काएर लगाउन मिल्ने । कहिले रातो लगाउँथें, कहिले नीलो । त्यो ज्याकेट लगाउँदा–लगाउँदै मलाई मान्छेले टाढाबाटै चिन्ने भइसकेका थिए ।

सिनेमा एवम् मनोरञ्जन क्षेत्रमा धेरै तडकभडक हुन्छ । तर यो चमकदमकको दुनियाँमा म अलग पात्र थिएँ । मसँग राम्ररी लगाउनका लागि लुगा नै थिएन । त्यही कारण म अक्सर कार्यक्रममा सहभागी हुन्नथें । लुगा नभएकाले नै मैले थुप्रै कार्यक्रम छुटाएकी छु ।
विराटनगरको एकजना दाइले विशालनगरको चारतले भवनमाथि कपडा पसल राखेका थिए । एकजना दिदीको सिफारिशमा म त्यहाँ गएँ । भोलिपल्ट फिल्मको छायांकन तय भइसकेको थियो । आज मसँग लुगा छैन ।

दाइले लुगा त दिने हुनुभयो तर, त्यहाँ आफ्नो लागि पालो पर्खिरहनुपर्ने । ग्राहक आइरहन्थे । एउटा ग्राहक जान पाएकै हुँदैन, अर्को थपिन्छ । ट्राइल रुममा जान्छ । फेरि अर्को लुगा खोज्छ । म सोच्थें, यिनीहरू छिटो–छिटो लुगा लिएर जानु नि ! बिहान एघार बजे पुगेको, पाँच बजेसम्म पनि मेरो पालो नआउने । दाइ सोध्नुहुन्थ्यो, ‘नानी के भोक लाग्यो ?’ ‘होइन, ठीकै छ’ म भन्थें । तर, भोकले पेट बटारिएको हुन्थ्यो । दाइले समोसा र चिया मगाउँथे । त्यस दिनको नास्ता, खाना जे भने पनि त्यही हुन्थ्यो मेरो ।

भोकको क्षेत्रफल

धेरै पटक मैले भोक सहेकी छु । अहिले त पत्याउन गाह्रो होला, तर कति दिनहरू यस्ता छन् जतिबेला मेरो पेटमा एक दान अन्न पनि पर्दैनथ्यो । पानी पिएर पनि दिन कटाएँ । संघर्षको बेला कामका लागि धेरैभन्दा धेरै दौडधूप गर्नुपर्छ । आफ्नो कामको कुनै मूल्य हुँदैन । धेरै काम र थोरै कमाइ हुन्छ । यसले गर्दा भरपेट खानका लागि न त पर्याप्त पैसा हुन्छ, न पुग्दो समय नै । कहिले फुर्सद नभएर त कहिले पैसा नभएर मैले खान पाइनँ । कुनै बेला पाउरोटीले मात्र छाक कटाएकी छु ।

कुनै कार्यक्रममा, साथीभाइकहाँ खाजा खाने समयमा पुगियो भने केही खान पाइन्थ्यो । त्यसले नै मेरो दिनभरको भोक मेट्थ्यो । अनन्त वाग्ले, शान्तिप्रिय, माधव दाइहरूलाई सम्झन चाहन्छु, जसले मेरो धेरै छाक टार्न सहयोग गर्नुभयो । सिनेमाको भव्य स्क्रिनमा राजेश हमालसँग नाच्न पाउनु मेरो लागि सामान्य कुरा थिएन । ‘गोली सिसाको’ गीतमा यस्तो मौका पाउँदा मैले निर्देशकलाई थुप्रै पटक ‘थ्यांक यु, थ्यांक यु’ भनें । वास्तवमा यो मेरो जीवनकै टर्निङ प्वाइन्ट थियो
टेम्पु चढ्न पैसा नहुने

त्यसबेला काठमाडौंमा सानो टेम्पो चल्थ्यो । त्यसमा १० रुपैयाँ भाडा लाग्थ्यो । तर, मसँग यति पैसा पनि नहुने कि १० रुपैयाँ खर्च गरेर टेम्पो चढ्न सकियोस् । ट्याक्सी चढ्ने कुरा त कल्पना बाहिर भयो । मैले ट्याक्सी चढ्छु भनेर त सोच्दा पनि सोचिनँ ।
जहाँ पुग्नुपर्छ लखरलखर हिंड्दै जाने हो । सुटिङमा जानु परेको बेला होस् वा रेडियो नेपालमा, हिंडेरै पुगिन्थ्यो । पछि रामविलास–धनियाँ रेडियो नाटकपछि केही गाईजात्रे कार्यक्रममा काम गर्न पाइयो । त्यहाँबाट थोर–बहुत खर्च आउन थाल्यो । अनि बल्ल टेम्पु चढ्न थालियो ।

आफैंले नाचेको ‘गोली सिसाको’ हेर्न नपाउँदा
‘गोली सिसाको
मेरो माया किन रिसाको
ताजा खबर
ज्यान माया नहेर है
कर्के नजर’

एकताका खूब चलेको गीत हो, यो । त्यसबेला टिभी, रेडियो सर्वत्र यो गीत बज्थ्यो । गीतमा राजेश हमालसँगै मैले नाचेकी छु । साथमा राजाराम पौडेल पनि छन् । ‘गाउँले’ चलचित्रको प्रमोशनल गीत रहेछ यो । यसको निर्देशक थिए, दीपक श्रेष्ठ । उनी धरानका । म विराटनगरकी ।

एकपटक नृत्य गर्नका लागि नारायणघाट गएकी थिएँ । दीपक श्रेष्ठ दाइ पनि त्यतै रहेछन् । मैले भनें, ‘दाइ आज हाम्रो डान्स हुँदैछ, हेर्न आउनु है ।’ नारायणी खोला छेवैमा म र मेरा साथीहरू नाच्यौं । ‘दाइ डान्स हेरिसकेपछि स्टेज पछाडि भेट्न आउनु ल’ भनें ।

दीपक दाइ आएर उत्साहित भावमा भने, ‘दीपा तिमीले त बबाल डान्स गर्यौ । दामी ग¥यौ ।’ म अलि हक्की स्वभावको । बोल्न नडराउने । प्वाक्क भनिहालें, ‘तपाईं डाइरेक्टर रे, हामीलाई लिनु त हुन्न ।’ ‘म एउटा फिल्म बनाउँदैछु’ उनले भने, ‘तिमीलाई त्यसमा बोलाउँछु । बुझ्यौ ?’ त्यसपछि हामीले फोन नम्बर आदान–प्रदान ग¥यौं । घरबेटीकै ल्यान्डलाइन नम्बर थियो, त्यो ।

नभन्दै १५–२० दिनपछि दीपक दाइको फोन आयो । डिल्लीबजारको ओरालोमा गोपाल कर्माचार्यको घर रहेछ । त्यहीं उनको अफिस । अफिसमा बोलाए । शुरुमा त मैले पत्याइनँ । ‘हा, दीपक दाइ मजाक गर्नुहुन्छ’ मैले उहाँको कुरा उडाएँ, ‘होइन होला ।’
पछि म गएँ । गाउँले फिल्मको गीतमा नाच्नुपर्ने रहेछ । गीत थियो, गोली सिसाको ।

गीतमा राजेश हमालसँग मैले नाच्नुपर्ने । राजेश हमाल, जसलाई मैले फिल्ममा हेरिरहेकी थिएँ । राजेश हमालको को–एक्टर भएर खेल्न पाइयो । मैले दीपक श्रेष्ठ दाइलाई कति पटक ‘थ्यांक यु‘ थ्यांक यु’ भनें । मेरो जीवनकै टर्निङ प्वाइन्ट यही हुन्छ भन्ने लाग्यो । यदि होइन भने मैले घर र्फकनुपर्छ । किनभने मेरो लागि यो ठूलो मौका थियो । सिनेमाको भव्य स्क्रिनमा, राजेश हमालसँग नाच्नु सामान्य कुरा थिएन ।

नैकापको चौरमा गीतको छायांकन भएको थियो । शान्ता नेपाली नृत्य निर्देशक । शान्तिप्रिय, अनन्त वाग्ले दाइहरू पनि छायांकनमा गएका थिए । उनीहरू मलाई हौसला दिन्थे । त्यसबेला नृत्य निर्देशकहरू पनि एकदमै राम्रा । उत्प्रेरणा दिने खालका । राम्रो नाच्यो भने बक्सिस्मा पैसा दिन्थे । गीत सार्वजनिक भयो । सर्वत्र चर्चा हुन थाल्यो । चिनेजानेकाहरू भन्थे, ‘तेरो गीत कस्तो हिट भयो ।’
तर, मेरोमा टिभी थिएन । आफूले त्यति अपेक्षा गरेको गीत आफैंले हेर्न नपाउँदाको छटपटी कस्तो भयो होला ? गीत टप टेनबाट बाहिरिएपछि मात्र बल्ल मैले हेर्न पाएँ ।

यसरी रामविलासकी धनियाँ बनें

‘दीपाजी, एउटा धनियाँको चरित्र निर्माण गरिरहेका छौं । त्यो तपाईले गरिदिनु न’ एकदिन दीपकराज गिरीले प्रस्ताव राखे । त्यसबेला हामीबीच खासै दोस्ती जमिसकेको थिएन । हाइहेल्लो मात्र थियो ।

उहाँलाई मैले पहिलो पटक रेडियो नेपालकै प्राङ्गणमा देखेकी थिएँ । म भर्खरै मात्र काठमाडौं टेकेकी । विराटनगरमै मेरो ‘अग्निपथ’ टेलिशृंखला हिट भइसकेको थियो । त्यहाँ मैले एक मैथिली किशोरीको भूमिका गरेकी थिएँ ।

‘ऊ त्यो अग्निपथमा खेल्ने केटी होइन ?’ मलाई देखेर उहाँहरू यसै भन्नुहुन्थ्यो रे ! त्यसबेला उहाँसँग जीतु नेपाल, दमन रूपाखेती हुन्थे । दीपकराजजीले अनायासै धनियाँको लागि प्रस्ताव राखेपछि शुरूमा त म हच्किएँ । ‘अबुई, सक्दिनँ होला’ म पन्छिन खोजें, ‘मलाई त डर लाग्छ ।’

उहाँले सहजीकरण गर्नुभयो, ‘म सिकाइहाल्छु नि ! त्यस्तो गाह्रो हुँदैन ।’ मलाई उक्त चरित्र निर्वाह गर्न किन पनि चुनौतीपूर्ण थियो भने, रेडियोमा रामविलास स्थापित भइसकेको थियो । रामविलासले प्रेम प्रसंगका कुरा गरेर असंख्य श्रोताको मन जितिसकेको थियो ।
रामविलासले ‘मेरी धनियाँ’ भनिरहँदा श्रोतामा कस्ती होला धनियाँ भन्ने परेको थियो । तर, त्यसबेलासम्म धनियाँ भन्ने पात्र नै उपस्थित गराइएको थिएन । ‘मेरी धनियाँ छे, गाउँमा छे’ भनेर एक अदृश्य पात्रलाई दीपकराजले राम्ररी स्थापित गरिसकेका थिए ।

रामविलास–धनियाँको कुनै स्क्रप्ट हुँदैनथ्यो । कुनै विषय छनोट गरिन्थ्यो र त्यसमै नाटकीय संवाद गर्नुपर्ने हुन्थ्यो । कुन विषयमा कुरा गर्ने, कस्तो परिवेश र परिस्थिति निर्माण गर्ने भन्ने मोटामोटी खाका हुन्थ्यो । त्यसैमा रहेर स्वतस्फूर्त संवाद बोल्नुपर्ने ।

‘रामविलास–धनियाँ’ यति धेरै लोकप्रिय भयो कि, श्रोताले पठाएको पत्रको ठूल–ठूलो चाङ हुन्थ्यो । हामी त्यही पत्रमध्येबाट छानेर राम्रा–राम्रा मुक्तकहरू प्रसारण गथ्र्यौं ।रामविलास र धनियाँ मधेशी मूलका पात्र हुन् । उनीहरूको लवज र परिवेश मधेशकै हुने । प्रत्यक्ष देखभेट हुँदा त हामीलाई धेरैले चिन्दैनथे । तर, रेडियोका रामविलास र धनियाँलाई भने धेरैले चिन्थे ।

रेडियो नेपालको ५०० रुपैयाँ पारिश्रमिक

रेडियो नेपालमा धनियाँ बनेपछि मैले पारिश्रमिक ३०० पाउँथे, मासिक । वासुदेव मुनालको बाल नाटकमा पनि मैले मौका पाएँ । त्यहाँ २०० रुपैयाँ पाउँथें । यसरी जम्मा गरेर मैले ५०० रुपैयाँ पाउने भएँ ।

यो मेरो लागि चानचुने कुरा थिएन । ठूलो पैसा थियो । त्यो पनि आफ्नो कलाबाट आर्जन गरेको । जुन दिन रेडियो नेपालको लेखापालले मलाई ५०० रुपैयाँको नोट थमाइदिए, म आत्मगौरवले फुलिएँ । पैसा समातेर मैले मनमनै भने, ‘म काठमाडौं किनिदिन्छु ।’
मलाई यस्तो किन पनि लाग्यो भने यो सानो दुःखले आर्जेको सम्पत्ति थिएन । सामान्य परिवारबाट अनेक हन्डर खाँदै हुर्किएकी छोरी थिएँ म । अभावै अभावका रातहरू गुजारेकी थिएँ । भोको पेट, थकान र कष्टहरू खेपेकी थिएँ ।

बाल्यकालमा म छोरा थिएँ

बाल्यकालमा त मलाई पुल्पुल्याएर हुर्काए । बुवाआमा दुवैले जागिर गरेर हामीलाई सुकिलो राखे ।
म छोरो स्वभावकी । छोराकै लुगा लगाउने । खेल्न पनि छोराले जस्तै खेल्ने । भाँडाकुटी मन नपर्ने । साथीहरू भन्थे, ‘दीपा किन तँ यस्तो लुगा लगाउँछेस् ?’ ‘किनभने तिमीहरू केटी हौ, म केटा हुँ’ यसै भन्थें । बुवाआमाले पनि मलाई छोरा नै भनेर हुर्काए । किनभने उहाँहरूको छोरा नै थिएन । पछि आठ कक्षामा पुगेपछि मात्र कुर्ता सुरुवाल लगाएँ ।

सानैदेखि म रौसे । नाच्नुपर्ने, सिनेमा हेर्नुपर्ने । आमासँग लहसिएर सिनेमा हेर्न गइरहन्थें । दशैंमा टीका थापिरहँदा बुवा–आमालाई भन्थें, ‘छोरी हिरोइन बनोस् भनेर आशीर्वाद दिनुहोस् ।’ आमाले मेरो मनोभाव बुझ्नुभएको थियो । उहाँले नाच्नकै लागि भनेर मलाई बालमन्दिरमा भर्ना गरिदिनुभयो । बाल दिवसको दिन नृत्य गरेर मैले पुरस्कार पाएँ । मेरो जीवनको पहिलो स्यावासी थियो, त्यो ।जहाँ म हुर्किएँ, त्यो न शहर भन्न मिल्ने, न गाउँ । ठिमाहा बस्ती ।

त्यहीं हाम्रो बाल्यकाल बित्यो– दौंतरीसँग हाँस्दै, खेल्दै, झगडा गर्दै । शुक्रबार हिन्दी फिल्म सार्वजनिक हुन्थ्यो । आमाहरू नाइट शो हेर्न जाने । उहाँहरू चढेको रिक्सामा झुन्डिनै पर्ने म । पछाडि झुन्डिएर हुन्छ कि, अगाडि रिक्सा चालकसँग बसेर हुन्छ, फिल्म हेर्न दौडिहाल्ने । एक हिसाबले बाल्यकाल रमाइलोमा बित्यो । बुवाआमालाई त गाह्रो थियो । तर, हाम्रो खुशीका लागि उहाँहरूले आफ्नो दुःख भुल्नुभयो ।

मातृवियोग र मन भुलाउने बहाना

हामी सानै छँदा आमा बित्नुभो, २०४७ सालमा । दुई जना दिदीको विवाह भइसकेको थियो । त्यसैले घरको सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आयो ।

बहिनी, भाइ रेखदेख गर्नुपर्ने, बुवाको लागि खाना तयार गर्नुपर्ने । यस्ता थुप्रै काममै मेरो दिन बित्न थाल्यो । किशोरवयमा त सबै जना रमाउँछन्, खेल्छन् । तर, म जिम्मेवारीबाट बाँधिएँ । किशोर उमेरको आनन्दबाट विमुख भएँ । आमा वितेपछि घर नै शून्य भयो । हामीले एक्लोपन महसूस गर्यौं, जीवन निरास थियो ।

यो एक्लोपन, निराशाबाट मुक्त गर्नका लागि काका, आफन्तहरूले मलाई नाचगानमा प्रेरित गर्नुभयो । हाम्रो मनोदशा बुझेर उहाँहरू भन्नुहुन्थ्यो, ‘दीपा नाच्दा कति खुशी हुन्छे । कति रमाइलो मान्छे ।’

नाचगानमा लागेपछि मेरो मन बहलिन्छ भनेर उहाँहरूले मुकुन्द श्रेष्ठसँग भेट गराइदिए । मुकुन्द श्रेष्ठ त्यसबेला ‘बनिदिस्योस् न’ भन्ने नाटक गर्दै हुनुहुन्थ्यो । नाटकमा म मुख्य चरित्रका लागि छनोट भएकी थिएँ । तर, सोही बखत एउटा टेलिशृंखलाको प्रोजेक्ट आयो– अग्निपथ ।

यसका लागि काठमाडौंबाट सम्पूर्ण टोली विराटनगर आए । यहाँ उनीहरूलाई एउटा एकदमै मौलिक देखिने, मैथिली बोल्न सक्ने किशोरी चाहिएको रहेछ । काठमाडौंबाट नै यस्तो चरित्रका लागि कलाकार ल्याउने तयारी हुँदै गर्दा मैले यो कुरा थाहा पाएँ । अनि मुकुन्द दाइलाई भनें, ‘म त्यो रोल गर्छु नि !’ त्यो विन्दास केटी हुन्छे । ऊ लड्डु खाँदै निर्धक्क बोल्छे । आफ्नो गाउँको बखान गर्छे । यस्तो चरित्र थियो । उहाँले मेरो लागि मौका मिलाइदिनुभयो । अब म अभिनय र मैथिली भाषा सिक्न थालें । यो १० भागको थियो ।

अग्निपथ गरिरहँदा मेरो नाम दीपा निरौला मात्र थियो । काठमाडौंमा यसको सम्पादन भइरहँदा सम्पादकले नै उसको नाममा श्री थपौं भनेछन् । अनि मेरो नाम, दीपाश्री भयो । अग्निपथ कहिले प्रसारण हुन्छ भनेर एकदमै अधीर थिएँ । जब प्रसारण भयो, घरभरी मान्छे । त्यसबेला हाम्रोमा पनि टेलिभिजन ल्याइसकेको थियो । घरमा खचाखच मान्छे । म फुरुंग ।

अग्निपथ प्रसारण भएपछि त मेरो भुइँमा खुट्टा भएन । टोलमा, विद्यालयमा सबैले मलाई त्यही पात्रको नामले बोलाउन थाले । मलाई सानैमा एउटा इच्छा थियो, बाटो हिंड्दा पनि सबैले चिनुन् । नामको कतिसम्म लोभ थियो भने नाच्नका लागि जहाँ पनि पुगिन्थ्यो । कहिले इलाम, कहिले धनकुटा ।

अवार्ड लिन रात्रिबस चढेर काठमाडौं

काठमाडौंबाट एकदिन पत्र आयो, मेरो नाममा । ‘अग्निपथ’बाट मलाई नव अभिनेत्री अवार्ड दिने उल्लेख थियो, त्यसमा । यो अप्रत्यासित खबरले म फुर्किएँ । पत्र देखाउँदै टोलभरि दौडिएँ । साथीहरूलाई देखाएँ, ‘हेर मैले अवार्ड पाउने भएँ, म सम्मानित हुँदैछु ।’ मेरो मिल्ने साथी थिए, संगीता र विनिता । उनीहरूलाई लिएर दौडिएँ ।

त्यो उमंग साट्न म कतिसम्म आतुर रहेछु भने दौड्दा दौड्दै खुट्टा काटेको पनि पत्तो पाइनँ । बाटोमा मेरो खुट्टामा ठूलो चोट लागेछ । खुट्टाबाट रगत आइरहेको छ । तर, मलाई मतलब छैन । आन्टीकोमा जान्छु, साथीको घरमा जान्छु । बेपत्तासँग दौडन्छु । अवार्ड थाप्न म ठूलो भिनाजुलाई साथमा लिएर काठमाडौं आएँ रात्रिबसमा चढेर । बसमा रातभर कल्पिरहें, अवार्ड थाप्दाको क्षण कस्तो हुँदो हो । बस गुडिरहँदा म आफ्नै सपनामा सयर गरिरहेकी थिएँ ।

अवार्ड समारोहमा वेग्लै माहोल थियो । त्यहाँ उद्घोषकले ‘अग्निपथ’ बाट फलानोले अवार्ड पाउँदै हुनुहुन्छ भन्दा मेरो छाती अरू चौडा भयो । सास रोकिएला जस्तो भयो । त्यसबेला म उठेर अरूसँगै जोडले ताली बजाएछु । काठमाडौं आएर अवार्ड थाप्न जाँदा मलाई शान्ति मास्के, बसुन्धरा भुसाल दिदीहरूले ढाडस दिनुभयो । यसले मलाई अगाडि बढ्नका लागि थप ऊर्जा मिल्यो ।

अवार्ड थापेर घर फर्किएँ । त्यहाँ गएपछि संगिनी भन्ने भिडियो फिल्ममा काम गरें । त्यसमा मैले पहिलो पटक सरोज खनालसँग काम गर्ने मौका पाएँ । त्यसमा रूपा राना लगायतका कलाकार हुनुहुन्थ्यो । यतिबेलासम्म मलाई कलाकारिताको यति रस भिजिसकेको थियो कि, त्यसबाट म बाहिर आउनै नसक्ने अवस्थामा थिएँ ।

रेडियो नेपालको सेरोफेरो

‘हिरोइन’ बन्न काठमाडौं आएपछिका दिनहरू मेरा लागि सहज थिएनन् । जुन उत्साहका साथ मैले काठमाडौंमा पाइला टेकें, त्यहींबाट मेरो कठिन समय शुरु भयो । शुरूमा म दिदीकहाँ पाहुना लागें । दिदीको अनामनगरमा घर थियो । तर, दिदी झापामा । घरमा सासू–ससुरा मात्र । घरमा कतिबेला आउने–जाने मेरो टुंगो हुँदैनथ्यो । त्यसैले दिदीको घरमा बसिरहन असहज भयो । जे भए पनि कुटुम्बको घर । पछि आफ्नो बेग्लै कोठा लिएँ । कोठाको लागि खर्च जुटाउँछु भन्ने हिम्मत आयो । किनभने त्यसबेला म रेडियो नाटक रामविलास–धनियाँमा आवद्ध भइसकेकी थिएँ ।

दीपकराज गिरीसँग मेरो भेट त्यही सिलसिलामा भएको हो । उनी पनि त्यसबेला संघर्षकै क्रममा थिए ।
शुरुमा त मलाई मदनदास श्रेष्ठले रेडियोमा प्रवेश गराए । त्यसअघि एउटा भिडियो फिल्म ‘अग्निपथ’ मा उहाँ मेरो बुवा बनेर खेल्नुभएको थियो । अग्निपथ विराटनगरमै बनेको भिडियो फिल्म हो । त्यही हुँदा उहाँले भन्नुभएको थियो, ‘काठमाडौं आएको बेला फोन गर है ।’ विराटनगर छँदै मैले फोन गरें, ‘मदनदास बुवा म काठमाडौं आउँदैछु । हजुरले सहयोग गर्नु ल ।’

उहाँले बोलाएपछि म रेडियोमा गएँ । नाटकमा बोल्नका लागि तालिम लिनुपर्ने रहेछ । बीबीसीले दिएको एउटा तालिम पनि लिएँ । रेडियोमा कसरी बोल्ने, कति दूरीमा माइक्रोफोन राख्ने, आवाजकै माध्यमबाट कसरी आफ्नो भावहरू प्रस्तुत गर्ने इत्यादि ज्ञान भयो ।
‘द गेस्ट’ भन्ने एउटा रेडियो नाटक थियो, त्यसमा बाल कलाकारको भूमिका गरें । जबकि म फिल्मकी हिरोइन भैसकेकी थिएँ । जीविकोपार्जन गर्नका लागि एकपछि अर्को ढोका ढकढक्याउनुपर्ने अवस्था थियो । अतः कुनै काममा लागिसकेपछि त्यहींभित्र अवसरहरू खुला हुँदै जाने रहेछ । म विस्तारै रेडियोको संगतमा भिज्दै थिएँ । पछि ‘दिन–प्रतिदिन’ भन्ने रेडियो नाटकमा काम पाएँ । त्यसपछि रामविलास–धनियाँ ।

‘डमी डाइरेक्टर’देखि तीतो सत्यसम्म

रामविलास–धनियाँ हिट भएपछि हामीलाई विभिन्न कार्यक्रमको निम्तो आउन थाल्यो । खासगरी गाईजात्रामा हाम्रो प्रस्तुति समेटिन्थ्यो । त्यसबेला राष्ट्रिय सभा गृहमा गाईजात्रा कार्यक्रम हुन्थ्यो । यसरी विस्तारै जीवनले गति लिन थाल्यो । यतिबेलासम्म दीपकराज गिरीसँग मेरो सहयात्रा शुरू भइसकेको थियो । उहाँ र म एकसाथ रामविलास–धनियाँ बनेर विभिन्न कार्यक्रममा पुग्थ्यौं । त्यससँगै छिमेकी, देवी टेलिशृंखला, सिनेमाको काममा पनि हामी व्यस्त हुँदै गयौं ।

दीपकजीले एकदिन प्रस्ताव राखे, एउटा टेलिफिल्म बनाऔं न । त्यसअघि हामीले धेरै टेलिफिल्म बनाइसकेका थियौं, जो नेपाल टेलिभिजनबाट अस्वीकृत भयो । अहिले पनि हामीले बनाएका टेलिफिल्महरू डब्बामै छन् । टेलिफिल्मको डमी बनाउने, लगेर टेलिभिजनमा बुझाउने । दीपकजीलाई त कतिसम्म भयो भने, ‘डमी डाइरेक्टर’ नै भन्न थाले ।

तर, हामी हरेस खाएका थिएनौं । किनभने हामीसँग समय थियो, उमेर थियो । ऊर्जा र उत्साह थियो । जबकि हास्य कलाकारलाई नपत्याउने, खासै भाउ नदिने अवस्था थियो । हास्य कलाकारको खास मूल्य थिएन । पछि हामीले एउटा हास्यप्रधान टेलिशृंखलाको अवधारणा बनायौं । त्यसको नाम संगीतकार शम्भुजीत बासकोटाले जुराइदिनुभयो, तीतो सत्य । शुरूमा यो तीन भागको मात्र हामीले तयार गरेका थियौं । तर, पछि १३ भागसम्म बनाउने सम्झौता भयो । १३ पछि २६ । २६ पछि ५२ हुँदै १२ वर्षसम्म अविच्छिन्न तीतो सत्यको शृंखला निर्माण गरियो ।

तीतो सत्यपछि हाम्रो करिअरको ग्राफ विस्तारै उकालो लाग्यो । तर, लोडसेडिङ लगायतले टेलिभिजनको क्रेज घट्न थाल्यो । टेलिभिजन हेर्ने दर्शक विथोलिए । त्यही समयमा हामीले फिचर फिल्मको काम गर्ने योजना बनायौं । त्यही अनुसार ६ एकान ६ बनायौं । भाग्यवश यो निकै राम्रो भयो । यसले हामीलाई अगाडि बढ्न अरू हौसला दियो । त्यसपछि छक्का पञ्जा हुँदै छ माया छपक्कैसम्म पुगियो ।
हाम्रो यो यात्रा अटुट रहनेछ । किनभने हिजो हामी जुन अवस्थाबाट गुज्रियौं, त्यो भोलिका निम्ति हाम्रो मार्गदर्शन बन्नेछ ।

(अनलाइन खवरबाट)

पछिल्लो समाचार

सुनसरीमा नेपाल राष्ट्रिय बङ्गाली समाज गठन

अघिल्लो समाचार

अमेरिकी ड्रोन आक्रमणमा आईएस–केका योजनाकार मारिए

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.