अघिल्लो दिनसम्म कारखानाको भगवान् अर्कै थियो, भोलिपल्ट अर्कैको उदय भयो । पुरानाको अस्तयमा भक्तजनका आँखामा आँसु रसायो, र नयाँको उदयमा मनमा त्रास व्याप्त भयो ।
अब परिचित र प्रिय पुरानाको भजन गाऊँ, सिंहासनमा त्यो छैन । अपरिचित र भयकारी नयाँको भजन गाऊँ, हिजोसम्म त्यत्रो निन्दा गरिएकाको कसरी गाऊँ ? यसरी भक्तिभजनरहित एक दिन बित्यो ।
र, सढाउ कारखानाको वातावरण मरुमारु भएका घरको जस्तै भयो । शोकग्रस्त, शून्य र मौन कोलाहलमय । नित्य भक्तिभजनका माध्यमले जसको देवत्वकरण गरिएको थियो, सिंहासनबाट त्यो लखेटियो । नित्य निन्दाद्वारा जसको दानवीकरण गरिएको थियो, सिंहासनमा त्यो गजधम्म आसीन भयो । र, कारखानाका भक्तजन भए त्यसैत्यसै स्तब्ध र किंकर्तव्यविमूढ ।
यो गोरखापत्र नामक सरकारी भक्तिमार्गी कारखानाको कथा हो । नैतिक प्रदूषणको मुहानरूपी सरकारी कारखानाको कथा । कत्ति बियाँलो नगरी अस्तित्वहरण गरिनुपर्ने चरम हानिकारक कारखानाको कथा ।
अघिल्लो दिनसम्म सत्ताको सिंहासनमा भगवान्को औतारमा ओली थिए । ओली गए र खाली ठाउँमा देउवा आए । यो परिवर्तनले मलाई एउटा लाभ भयो । केही महिनायता मकहाँ नैतिक प्रदूषणको खोलो भएर बग्दै एकाबिहानै गोरखापत्र आइरहेको थियो । ओली जानु र देउवा आउनुसँगै मेरो गोरखापत्र अलप भयो । अघिल्लो नागरिक आन्दोलनमा एक दाह्रीवाल कवि थिए, अर्जुन पराजुली । यी कवि पलपलमा पानी घुट्क्याउँदै जमाएर गर्जनमय सडक कविता सुनाउँथे ।
घोचक व्यङ्ग्य र तीक्ष्ण कटाक्षयुक्त मनोरञ्जनकारी एवं उद्वेलनकारी सडक कविता । यिनको चार पाउको एउटा कविता गजपको थियो । कवि पश्चगामीलाई सराप दिने सिलसिलामा तैँले यसो गर्नु परोस्, तैँले उसो गर्नु परोस् भन्दै आखिरमा ‘तैँले गोरखापत्र पढ्नु परोस्’ भन्थे । कविको आशयमा गोरखापत्र पढ्नु नारकीय कष्ट झेल्नुसरह थियो । सिंहासनमा जब ओली गए र देउवा आए, यो नारकीय कष्टबाट म मुक्त भएँ । ओलीको दुःखद बहिर्गमनसँगै मेरो द्वारमा गोरखापत्र आगमनको सुखद अन्त्य भयो । एमाले सरकारको क्लेशकारक कृपाबाट कांग्रेसी सरकारले मलाई मुक्त गरिदियो । धन्य सिंहासन आरोही शेरबहादुर देउवाजी !
गोरखापत्रको जन्म १९५८ सालमा मूलतः श्री ३ जहानियाँ प्रभुको भक्तिभजन गाउन भएको थियो । यसका संस्थापक थिए श्री ३ हजुरै, र यसले भक्तिभजन गाउँथ्यो संस्थापक हजुरैहरूको । कठोर जहानियाँ राणा शासन गयो, र किञ्चित् नरम जहानियाँ शाह शासन आयो । तर, गोरखापत्र उर्फ शासकको भजनपत्र रहिरह्यो । मानौँ, सत्ताबाट राणाहरू फालिएका उसैगरी शाहहरूको भजन गाइनलाई हो ।
शाह शासन गयो र कमसेकम स्रेस्तामा शाहमुक्त लोकतन्त्र आयो । तर, गोरखापत्र नामक नैतिक प्रदूषणको कारखाना कायमै रह्यो । मानौँ, टोपीधारी शासकहरूलाई राणा र शाह भइन रहर थियो । मानौँ, गोरखापत्रले श्रीपेचधारी राणा र शाहको भजन गाएको देखेर यी टोपीधारीलाई डाहा लागेको थियो । वंशमार्गी स्वेच्छाचारी राणा शासनमा उही गोरखापत्र, वंशमार्गी निरङ्कुश शाह शासनमा उही गोरखापत्र, जननिर्वाचित लोकशासनमा पनि उही गोरखापत्र ! अनि उही चाकरी, उही चाप्लुसी, उही भक्तिभजन, उही नैतिक प्रदूषण ! शासकको उही देवत्वकरण, शासितको उही दानवीकरण !
यी सब सरकारका औँलाका इशारामा नाच्ने मैनका पुतली हुन् । गोरखापत्र, नेपाल टेलिभिजन, साझा प्रकाशन, प्रज्ञा–प्रतिष्ठान आदि । र, हुन् यी सब नैतिक एवं सांस्कृतिक प्रदूषणका विषाक्त कारखानाहरू । यी लोकतन्त्रका धमिरा हुन् ।
सढाउ नैतिक संस्कृतिमा राणाका उत्तराधिकारी शाह, शाहका उत्तराधिकारी कोइराला, अधिकारी, दाहाल, खनाल, नेपाल, ओली, श्रेष्ठ, देउवा ! व्यवस्था जे होस् र शासक जो होस्, नैतिक संस्कृतिको टुकुचातुल्य गोरखापत्र नित्य निरन्तर ! के लोकतन्त्र अहंकारी, स्वेच्छाचारी र भ्रष्ट शासकको घृणित भक्तिभजनको विषाक्त सांस्कृतिक प्रवाहबाट नित्य प्रदूषित र पीडित हुन अभिशप्त छ ? गोरखापत्र भन्छ– आखिर छ त ! नपत्याए मेरो अविच्छिन्न उपस्थितिलाई हेर ।
राणाकालीन गोरखापत्रको मलाई उत्रो जानकारी छैन । शाहकालीन र बिनाशाहकालीन गोरखापत्र आवरणका एकाध कुरामा फरक छ । सारमा खासै फरक छैन । शाहकालमा प्रथम पृष्ठमा नित्य राजाको ‘महावाणी’ छापिन्थ्यो । अहिले त्यही नाममा त्यो वाणी छैन । तर, शासकको यमानको तस्वीर पहिले पनि हुन्थ्यो, अहिले पनि हुन्छ । शासकका बाहुलीबाट दैनन्दिन शिलान्यास र उद्घाटनको खबर पहिले पनि हुन्थ्यो, अहिले पनि हुन्छ ।
समाचारमा शासकको स्तुति, अभिमतमा शासकको स्तुति, सम्पादकीयमा शासकको स्तुति । यत्रतत्र, सर्वत्र शासकको स्तुति, स्तुति र स्तुति । पहिले यस्तै थियो, अहिले उस्तै छ । फरक एउटै छ । अहिले शासकको नाम ‘श्री ५ महाराजाधिराज’, ‘मौसुफ सरकार’, ‘राष्ट्रप्राण’, ‘हृदयसम्राट्’ आदि चाप्लुसीमय अलङ्ककारले विभूषित हुँदैन ।
यी विभूषणको सट्टा अहिले ‘स्वप्नदर्शी’, ‘दूरदर्शी’, ‘त्यागी’, ‘अप्रतिम’, ‘अथक मिहिनेती’ ‘महान् राजनेता’ आदि संज्ञाले दुःखम–सुखम निर्वाह चलाइन्छ । भजनमण्डलीमाझ सिंहासनधारी शासकको भक्तिभजनमा तँ बढी चाप्लुस कि म बढी भनी मारामार प्रतिस्पर्धा चल्छ । एकै हातका औँलामा गन्न सकिने अनुहार छन्, जो गोरखापत्रमा अभिमत लेख्छन् । अभिमत भन्नु नै के छ, नित्य अन्नदाता शासकको विरुदावली लेख्नु छ ।
कोरोनाले अर्थतन्त्रको ढाड भाँचेको छ । भ्याक्सिन किन्ने पैसो नभएर दुनियाँछेउ भिख माग्नु छ । बाढी–पहिरोले जनजीवनको हाल बयान गरिनसक्नु बेहाल छ । र, हर क्षेत्रमा व्याप्त छ आर्थिक दुरवस्था र बेराजगारीको भयावह महामारी । यस्तो कष्टकर सङ्कटमा सन्की शासक कुर्सी जोगाउन चुनावको घोषणा गर्छ । र, गोर्खे भजनकर्मी सुन्दरताको कत्ति न पारखी हुँझैँ गरी भजन गाउँछ– ‘निर्वाचन लोकतन्त्रको सुन्दरता हो । जो निर्वाचनको जय भन्दैन, लोकतन्त्रको खसोखास वैरी हो त्यो ।’
सिंहासनमा पात्र फेरिएको दोस्रो दिन गोरखापत्रमा देउवाको सानो तस्वीर छापियो । ओलीको न कतै नाम छापियो न तस्वीर । कुरो हिजैसम्मको हो । भक्तहरूले भन्न बाँकी एउटै मात्र कुरो थियो– आकाशमा सूर्य–चन्द्र रहुञ्जेल धरतीमा ओलीको शासन…। यी भक्तहरूले हिजोको आजै ओलीलाई मरेका मुसालाई उपियाँलेझैँ गरी छाडिदिए ।
भक्तिमार्गमा वास्तवमा यो निकृष्ट अवसरवाद हो । अन्य सन्दर्भमा स्वामीभक्तिको आयु यति छोटो किमार्थ हुँदैन । भक्तिमा पनि न्यूनाधिक निष्ठा हुन्छ । हनुमानको रामभक्तिको निष्ठा, त्यो कति प्रगाढ छ ! तर गोरखापत्रमा ? दिनदिनै प्रधानमन्त्री फेरिए निर्लज्ज भक्तले दिनदिनै स्वामी सहजै फेर्छ । स्वामीको क्षणभङ्गुर भक्ति केवल एक साधन हो । साध्य त गोरखापत्रको तर मार्नु हो ।
ख्वामित् ओलीको सत्ता परमधाम भएको सात दिन भयो । र, गोरखापत्रको आङ्ग्ल औताररूपी राइजिङ नेपालको अभिमत पृष्ठमा डरलाग्दो शीर्षक छापियो । शीर्षकले भन्यो– ‘सर्वोच्च अदालतको फैसलाले ओलीको पतनलाई शीघ्र तुल्यायो ।’ साता दिनअघि यस्तो कुरा सोच्नुसम्म पनि महापाप थियो । सपनाको पनि सपनामा मनको कुनै अन्तरमा यस्तो कुरा उठे भक्त भयभीत भई भूमिसात् हुने भय भयङ्कर थियो । अहिले उही भक्त यीः यसरी बोल्न थाल्यो ! स्वामीभक्तिको अल्पायुपनको यो हदै निकृष्ट उदाहरण हो ।
दिन बित्दै गए र गोरखापत्रमा नवोदित स्वामी देउवा छाउँदै गए । र, पन्ध्र दिन बित्न नपाई यो भजनपत्र देउवामय भयो । तस्वीरमा देउवा, समाचारमा देउवा, सम्पादकीयमा देउवा, अभिमतमा देउवा । गोरखापत्रको शिरदेखि पुछारसम्म देउवै देउवा । भक्तगणलाई मानौँ, सत्ताबाट ओली लखेटिएकोमा किञ्चित् विशाद छैन, सत्तामा देउवा उक्लिएकोमा परमानन्द छ । लोभी, ढोँगी र लम्पट भक्तको यो नीचता, यो कृतघ्नता, अहो !
लोकतान्त्रिक परिपाटीमा सरकारको अखबार हुँदैन । न त टेलिभिजन हुन्छ । पलप्रतिपल सारा लोकको दृष्टि र ध्यान सरकारमाथि एकाग्र हुन्छ । कोही आसले सरकारलाई हेर्छ । कोही त्रासले सरकारलाई हेर्छ । कोही सन्देहले सरकारलाई हेर्छ । कोही आलोचनात्मक भावले सरकारलाई हेर्छ । मुलुकभरिका सञ्चारकर्मी सूचनाको सिकार गर्न सरकारका क्रियाकर्मको हरपल चियो गरिरहन्छन् ।
सत्तामा जो चोर होइन, उसलाई आफ्ना कुकृत्य ढाकछोप गर्न न गोरखापत्र नै चाहिन्छ, न चाहिन्छ नेपाल टेलिभिजन । सत्तामा जो असनको भूपू साँढे होइन, उसलाई कुटिल कलाका माध्यमले निधारका कलङ्कका दाग पुछिदिन न साझा प्रकाशन चाहिन्छ, न चाहिन्छ प्रज्ञा–प्रतिष्ठान ।
देशभरिका क्यामेरा नित्य–निरन्तर सरकारका गतिविधि नियालिरहन्छन् । प्रधानमन्त्री र मन्त्रीहरूका बोली मात्र होइन, डकार र अपान वायु पनि सञ्चारकर्मीका कान र नाकमा नपरी छाड्दैनन् । अनि सरकारलाई किन चाहियो आफ्नै मुट्ठीको माखोतुल्य गोरखापत्र ? किन चाहियो आफ्नै इशारा–चालित नेपाल टेलिभिजन ? किन चाहियो आफ्नै दलाल–नियन्त्रित साझा प्रकाशन ? किन चाहियो आफ्नै हनुमान–वेष्टित प्रज्ञा–प्रतिष्ठान ? लोकहितका काम गरे सरकारका कर्ताहरूलाई सबै कुरा सहजै प्राप्त हुन्छ । प्रशंसा प्राप्त हुन्छ । लोकप्रियता प्राप्त हुन्छ । अमरत्व प्राप्त हुन्छ । अनि किन चाहियो भजनपत्रे गोरखापत्र ? र, किन चाहियो स्तुति–गायक नेपाल टेलिभिजन ? अनि साझा ? अनि प्रज्ञा ?
कुराको रहस्य गहिरो छ । एकपछि अर्को गोर्खे सरकारलाई हिटलरी गोयबल्सका पदचिह्न पछ्याउनु छ । सरकारलाई भष्टाचार गर्नु छ र भष्टाचार नै सदाचार हो भनी भक्तगणबाट मायावी झुट लेखाउनु छ । सरकारलाई कमिसन खानु छ र कमिसन अवैध भक्षण होइन भनी भक्तगणबाट कुतर्क गराउनु छ । सरकार प्रमुखलाई अहंकार गर्नु छ र अहंकार प्रतीत हुने प्रभुवाणीमा खासमा विनयशीलता निहित भनी भक्तगणबाट भजन जपाउनु छ । सरकारका शिखर पुरुषद्वारा दुच्छर वचन बोल्नु छ, स्वेच्छाचार गर्नु छ, विधान तोड्नु छ, विधि भत्काउनु छ । र, ख्वामित्का यी कृत्यहरूका अन्तर्यमा मृदुभाव निहित छ, मर्यादा निहित छ, विधानको सम्मान निहित छ र विधिको पालना निहित छ भनी भक्तहरूका मुखबाट मिथ्या पैरवी गराउनु छ ।
सत्तामा जो चोर होइन, उसलाई आफ्ना कुकृत्य ढाकछोप गर्न न गोरखापत्र नै चाहिन्छ, न चाहिन्छ नेपाल टेलिभिजन । सत्तामा जो असनको भूपू साँढे होइन, उसलाई कुटिल कलाका माध्यमले निधारका कलङ्कका दाग पुछिदिन न साझा प्रकाशन चाहिन्छ, न चाहिन्छ प्रज्ञा–प्रतिष्ठान । जसका वचनमा सच्चाइ छ र जसका कर्म पारदर्शी छन्, उसलाई सरकारी दानापानीमा पालित र पोषित दासवत् भजन–मण्डली चाहिँदैन । जसलाई यी चीज चाहिन्छ, ऊ गोरखापत्रको स्वामी हुन्छ । ऊ नेपाल टेलिभिजनको मालिक हुन्छ । ऊ साझा प्रकाशनको रक्षक हुन्छ । ऊ प्रज्ञा–प्रतिष्ठानको प्रभु हुन्छ । र, ऊ सारमा छोटे गोयबल्सको स्वामित् छोटे हिटलर हुन्छ ।
यहाँ ज–जसका कुरा गरियो, यी सब सरकारका औँलाका इशारामा नाच्ने मैनका पुतली हुन् । गोरखापत्र, नेपाल टेलिभिजन, साझा प्रकाशन, प्रज्ञा–प्रतिष्ठान आदि । र, हुन् यी सब नैतिक एवं सांस्कृतिक प्रदूषणका विषाक्त कारखानाहरू । यी लोकतन्त्रका धमिरा हुन् । यी अमानवीयताका रक्षक हुन् । यी असमानताका पहरेदार हुन् । यी उच–नीचका संवाहक हुन् । यी दासताका पोषका हुन् । यी हीन भावनाका प्रवर्द्धक हुन् । यी मानिस जिउँदो, हक्की, सत्यवादी, स्वाभिमानी र आलोचनाशील बन्ने बाटोका अवरोध हुन् । तसर्थ यी सब विवेकयुक्त, सचेत, सशक्त एवं प्रतिरोधी मानवीय चेष्टाद्वारा शीघ्रातिशीघ्र नासिन लायक छन् ।
लेखक : खगेन्द्र संग्रौला
Discussion about this post