२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘तँलाई गोरखापत्र पढ्नु परोस’

साउन २२, २०७८, ९:०६ .शुक्रबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अघिल्लो दिनसम्म कारखानाको भगवान् अर्कै थियो, भोलिपल्ट अर्कैको उदय भयो । पुरानाको अस्तयमा भक्तजनका आँखामा आँसु रसायो, र नयाँको उदयमा मनमा त्रास व्याप्त भयो ।

अब परिचित र प्रिय पुरानाको भजन गाऊँ, सिंहासनमा त्यो छैन । अपरिचित र भयकारी नयाँको भजन गाऊँ, हिजोसम्म त्यत्रो निन्दा गरिएकाको कसरी गाऊँ ? यसरी भक्तिभजनरहित एक दिन बित्यो ।

र, सढाउ कारखानाको वातावरण मरुमारु भएका घरको जस्तै भयो । शोकग्रस्त, शून्य र मौन कोलाहलमय । नित्य भक्तिभजनका माध्यमले जसको देवत्वकरण गरिएको थियो, सिंहासनबाट त्यो लखेटियो । नित्य निन्दाद्वारा जसको दानवीकरण गरिएको थियो, सिंहासनमा त्यो गजधम्म आसीन भयो । र, कारखानाका भक्तजन भए त्यसैत्यसै स्तब्ध र किंकर्तव्यविमूढ ।

यो गोरखापत्र नामक सरकारी भक्तिमार्गी कारखानाको कथा हो । नैतिक प्रदूषणको मुहानरूपी सरकारी कारखानाको कथा । कत्ति बियाँलो नगरी अस्तित्वहरण गरिनुपर्ने चरम हानिकारक कारखानाको कथा ।

अघिल्लो दिनसम्म सत्ताको सिंहासनमा भगवान्को औतारमा ओली थिए । ओली गए र खाली ठाउँमा देउवा आए । यो परिवर्तनले मलाई एउटा लाभ भयो । केही महिनायता मकहाँ नैतिक प्रदूषणको खोलो भएर बग्दै एकाबिहानै गोरखापत्र आइरहेको थियो । ओली जानु र देउवा आउनुसँगै मेरो गोरखापत्र अलप भयो । अघिल्लो नागरिक आन्दोलनमा एक दाह्रीवाल कवि थिए, अर्जुन पराजुली । यी कवि पलपलमा पानी घुट्क्याउँदै जमाएर गर्जनमय सडक कविता सुनाउँथे ।

घोचक व्यङ्ग्य र तीक्ष्ण कटाक्षयुक्त मनोरञ्जनकारी एवं उद्वेलनकारी सडक कविता । यिनको चार पाउको एउटा कविता गजपको थियो । कवि पश्चगामीलाई सराप दिने सिलसिलामा तैँले यसो गर्नु परोस्, तैँले उसो गर्नु परोस् भन्दै आखिरमा ‘तैँले गोरखापत्र पढ्नु परोस्’ भन्थे । कविको आशयमा गोरखापत्र पढ्नु नारकीय कष्ट झेल्नुसरह थियो । सिंहासनमा जब ओली गए र देउवा आए, यो नारकीय कष्टबाट म मुक्त भएँ । ओलीको दुःखद बहिर्गमनसँगै मेरो द्वारमा गोरखापत्र आगमनको सुखद अन्त्य भयो । एमाले सरकारको क्लेशकारक कृपाबाट कांग्रेसी सरकारले मलाई मुक्त गरिदियो । धन्य सिंहासन आरोही शेरबहादुर देउवाजी !

गोरखापत्रको जन्म १९५८ सालमा मूलतः श्री ३ जहानियाँ प्रभुको भक्तिभजन गाउन भएको थियो । यसका संस्थापक थिए श्री ३ हजुरै, र यसले भक्तिभजन गाउँथ्यो संस्थापक हजुरैहरूको । कठोर जहानियाँ राणा शासन गयो, र किञ्चित् नरम जहानियाँ शाह शासन आयो । तर, गोरखापत्र उर्फ शासकको भजनपत्र रहिरह्यो । मानौँ, सत्ताबाट राणाहरू फालिएका उसैगरी शाहहरूको भजन गाइनलाई हो ।

शाह शासन गयो र कमसेकम स्रेस्तामा शाहमुक्त लोकतन्त्र आयो । तर, गोरखापत्र नामक नैतिक प्रदूषणको कारखाना कायमै रह्यो । मानौँ, टोपीधारी शासकहरूलाई राणा र शाह भइन रहर थियो । मानौँ, गोरखापत्रले श्रीपेचधारी राणा र शाहको भजन गाएको देखेर यी टोपीधारीलाई डाहा लागेको थियो । वंशमार्गी स्वेच्छाचारी राणा शासनमा उही गोरखापत्र, वंशमार्गी निरङ्कुश शाह शासनमा उही गोरखापत्र, जननिर्वाचित लोकशासनमा पनि उही गोरखापत्र ! अनि उही चाकरी, उही चाप्लुसी, उही भक्तिभजन, उही नैतिक प्रदूषण ! शासकको उही देवत्वकरण, शासितको उही दानवीकरण !

यी सब सरकारका औँलाका इशारामा नाच्ने मैनका पुतली हुन् । गोरखापत्र, नेपाल टेलिभिजन, साझा प्रकाशन, प्रज्ञा–प्रतिष्ठान आदि । र, हुन् यी सब नैतिक एवं सांस्कृतिक प्रदूषणका विषाक्त कारखानाहरू । यी लोकतन्त्रका धमिरा हुन् ।

सढाउ नैतिक संस्कृतिमा राणाका उत्तराधिकारी शाह, शाहका उत्तराधिकारी कोइराला, अधिकारी, दाहाल, खनाल, नेपाल, ओली, श्रेष्ठ, देउवा ! व्यवस्था जे होस् र शासक जो होस्, नैतिक संस्कृतिको टुकुचातुल्य गोरखापत्र नित्य निरन्तर ! के लोकतन्त्र अहंकारी, स्वेच्छाचारी र भ्रष्ट शासकको घृणित भक्तिभजनको विषाक्त सांस्कृतिक प्रवाहबाट नित्य प्रदूषित र पीडित हुन अभिशप्त छ ? गोरखापत्र भन्छ– आखिर छ त ! नपत्याए मेरो अविच्छिन्न उपस्थितिलाई हेर ।

राणाकालीन गोरखापत्रको मलाई उत्रो जानकारी छैन । शाहकालीन र बिनाशाहकालीन गोरखापत्र आवरणका एकाध कुरामा फरक छ । सारमा खासै फरक छैन । शाहकालमा प्रथम पृष्ठमा नित्य राजाको ‘महावाणी’ छापिन्थ्यो । अहिले त्यही नाममा त्यो वाणी छैन । तर, शासकको यमानको तस्वीर पहिले पनि हुन्थ्यो, अहिले पनि हुन्छ । शासकका बाहुलीबाट दैनन्दिन शिलान्यास र उद्घाटनको खबर पहिले पनि हुन्थ्यो, अहिले पनि हुन्छ ।

समाचारमा शासकको स्तुति, अभिमतमा शासकको स्तुति, सम्पादकीयमा शासकको स्तुति । यत्रतत्र, सर्वत्र शासकको स्तुति, स्तुति र स्तुति । पहिले यस्तै थियो, अहिले उस्तै छ । फरक एउटै छ । अहिले शासकको नाम ‘श्री ५ महाराजाधिराज’, ‘मौसुफ सरकार’, ‘राष्ट्रप्राण’, ‘हृदयसम्राट्’ आदि चाप्लुसीमय अलङ्ककारले विभूषित हुँदैन ।

यी विभूषणको सट्टा अहिले ‘स्वप्नदर्शी’, ‘दूरदर्शी’, ‘त्यागी’, ‘अप्रतिम’, ‘अथक मिहिनेती’ ‘महान् राजनेता’ आदि संज्ञाले दुःखम–सुखम निर्वाह चलाइन्छ । भजनमण्डलीमाझ सिंहासनधारी शासकको भक्तिभजनमा तँ बढी चाप्लुस कि म बढी भनी मारामार प्रतिस्पर्धा चल्छ । एकै हातका औँलामा गन्न सकिने अनुहार छन्, जो गोरखापत्रमा अभिमत लेख्छन् । अभिमत भन्नु नै के छ, नित्य अन्नदाता शासकको विरुदावली लेख्नु छ ।

कोरोनाले अर्थतन्त्रको ढाड भाँचेको छ । भ्याक्सिन किन्ने पैसो नभएर दुनियाँछेउ भिख माग्नु छ । बाढी–पहिरोले जनजीवनको हाल बयान गरिनसक्नु बेहाल छ । र, हर क्षेत्रमा व्याप्त छ आर्थिक दुरवस्था र बेराजगारीको भयावह महामारी । यस्तो कष्टकर सङ्कटमा सन्की शासक कुर्सी जोगाउन चुनावको घोषणा गर्छ । र, गोर्खे भजनकर्मी सुन्दरताको कत्ति न पारखी हुँझैँ गरी भजन गाउँछ– ‘निर्वाचन लोकतन्त्रको सुन्दरता हो । जो निर्वाचनको जय भन्दैन, लोकतन्त्रको खसोखास वैरी हो त्यो ।’

सिंहासनमा पात्र फेरिएको दोस्रो दिन गोरखापत्रमा देउवाको सानो तस्वीर छापियो । ओलीको न कतै नाम छापियो न तस्वीर । कुरो हिजैसम्मको हो । भक्तहरूले भन्न बाँकी एउटै मात्र कुरो थियो– आकाशमा सूर्य–चन्द्र रहुञ्जेल धरतीमा ओलीको शासन…। यी भक्तहरूले हिजोको आजै ओलीलाई मरेका मुसालाई उपियाँलेझैँ गरी छाडिदिए ।

भक्तिमार्गमा वास्तवमा यो निकृष्ट अवसरवाद हो । अन्य सन्दर्भमा स्वामीभक्तिको आयु यति छोटो किमार्थ हुँदैन । भक्तिमा पनि न्यूनाधिक निष्ठा हुन्छ । हनुमानको रामभक्तिको निष्ठा, त्यो कति प्रगाढ छ ! तर गोरखापत्रमा ? दिनदिनै प्रधानमन्त्री फेरिए निर्लज्ज भक्तले दिनदिनै स्वामी सहजै फेर्छ । स्वामीको क्षणभङ्गुर भक्ति केवल एक साधन हो । साध्य त गोरखापत्रको तर मार्नु हो ।

ख्वामित् ओलीको सत्ता परमधाम भएको सात दिन भयो । र, गोरखापत्रको आङ्ग्ल औताररूपी राइजिङ नेपालको अभिमत पृष्ठमा डरलाग्दो शीर्षक छापियो । शीर्षकले भन्यो– ‘सर्वोच्च अदालतको फैसलाले ओलीको पतनलाई शीघ्र तुल्यायो ।’ साता दिनअघि यस्तो कुरा सोच्नुसम्म पनि महापाप थियो । सपनाको पनि सपनामा मनको कुनै अन्तरमा यस्तो कुरा उठे भक्त भयभीत भई भूमिसात् हुने भय भयङ्कर थियो । अहिले उही भक्त यीः यसरी बोल्न थाल्यो ! स्वामीभक्तिको अल्पायुपनको यो हदै निकृष्ट उदाहरण हो ।

दिन बित्दै गए र गोरखापत्रमा नवोदित स्वामी देउवा छाउँदै गए । र, पन्ध्र दिन बित्न नपाई यो भजनपत्र देउवामय भयो । तस्वीरमा देउवा, समाचारमा देउवा, सम्पादकीयमा देउवा, अभिमतमा देउवा । गोरखापत्रको शिरदेखि पुछारसम्म देउवै देउवा । भक्तगणलाई मानौँ, सत्ताबाट ओली लखेटिएकोमा किञ्चित् विशाद छैन, सत्तामा देउवा उक्लिएकोमा परमानन्द छ । लोभी, ढोँगी र लम्पट भक्तको यो नीचता, यो कृतघ्नता, अहो !

लोकतान्त्रिक परिपाटीमा सरकारको अखबार हुँदैन । न त टेलिभिजन हुन्छ । पलप्रतिपल सारा लोकको दृष्टि र ध्यान सरकारमाथि एकाग्र हुन्छ । कोही आसले सरकारलाई हेर्छ । कोही त्रासले सरकारलाई हेर्छ । कोही सन्देहले सरकारलाई हेर्छ । कोही आलोचनात्मक भावले सरकारलाई हेर्छ । मुलुकभरिका सञ्चारकर्मी सूचनाको सिकार गर्न सरकारका क्रियाकर्मको हरपल चियो गरिरहन्छन् ।

सत्तामा जो चोर होइन, उसलाई आफ्ना कुकृत्य ढाकछोप गर्न न गोरखापत्र नै चाहिन्छ, न चाहिन्छ नेपाल टेलिभिजन । सत्तामा जो असनको भूपू साँढे होइन, उसलाई कुटिल कलाका माध्यमले निधारका कलङ्कका दाग पुछिदिन न साझा प्रकाशन चाहिन्छ, न चाहिन्छ प्रज्ञा–प्रतिष्ठान ।

देशभरिका क्यामेरा नित्य–निरन्तर सरकारका गतिविधि नियालिरहन्छन् । प्रधानमन्त्री र मन्त्रीहरूका बोली मात्र होइन, डकार र अपान वायु पनि सञ्चारकर्मीका कान र नाकमा नपरी छाड्दैनन् । अनि सरकारलाई किन चाहियो आफ्नै मुट्ठीको माखोतुल्य गोरखापत्र ? किन चाहियो आफ्नै इशारा–चालित नेपाल टेलिभिजन ? किन चाहियो आफ्नै दलाल–नियन्त्रित साझा प्रकाशन ? किन चाहियो आफ्नै हनुमान–वेष्टित प्रज्ञा–प्रतिष्ठान ? लोकहितका काम गरे सरकारका कर्ताहरूलाई सबै कुरा सहजै प्राप्त हुन्छ । प्रशंसा प्राप्त हुन्छ । लोकप्रियता प्राप्त हुन्छ । अमरत्व प्राप्त हुन्छ । अनि किन चाहियो भजनपत्रे गोरखापत्र ? र, किन चाहियो स्तुति–गायक नेपाल टेलिभिजन ? अनि साझा ? अनि प्रज्ञा ?

कुराको रहस्य गहिरो छ । एकपछि अर्को गोर्खे सरकारलाई हिटलरी गोयबल्सका पदचिह्न पछ्याउनु छ । सरकारलाई भष्टाचार गर्नु छ र भष्टाचार नै सदाचार हो भनी भक्तगणबाट मायावी झुट लेखाउनु छ । सरकारलाई कमिसन खानु छ र कमिसन अवैध भक्षण होइन भनी भक्तगणबाट कुतर्क गराउनु छ । सरकार प्रमुखलाई अहंकार गर्नु छ र अहंकार प्रतीत हुने प्रभुवाणीमा खासमा विनयशीलता निहित भनी भक्तगणबाट भजन जपाउनु छ । सरकारका शिखर पुरुषद्वारा दुच्छर वचन बोल्नु छ, स्वेच्छाचार गर्नु छ, विधान तोड्नु छ, विधि भत्काउनु छ । र, ख्वामित्का यी कृत्यहरूका अन्तर्यमा मृदुभाव निहित छ, मर्यादा निहित छ, विधानको सम्मान निहित छ र विधिको पालना निहित छ भनी भक्तहरूका मुखबाट मिथ्या पैरवी गराउनु छ ।

सत्तामा जो चोर होइन, उसलाई आफ्ना कुकृत्य ढाकछोप गर्न न गोरखापत्र नै चाहिन्छ, न चाहिन्छ नेपाल टेलिभिजन । सत्तामा जो असनको भूपू साँढे होइन, उसलाई कुटिल कलाका माध्यमले निधारका कलङ्कका दाग पुछिदिन न साझा प्रकाशन चाहिन्छ, न चाहिन्छ प्रज्ञा–प्रतिष्ठान । जसका वचनमा सच्चाइ छ र जसका कर्म पारदर्शी छन्, उसलाई सरकारी दानापानीमा पालित र पोषित दासवत् भजन–मण्डली चाहिँदैन । जसलाई यी चीज चाहिन्छ, ऊ गोरखापत्रको स्वामी हुन्छ । ऊ नेपाल टेलिभिजनको मालिक हुन्छ । ऊ साझा प्रकाशनको रक्षक हुन्छ । ऊ प्रज्ञा–प्रतिष्ठानको प्रभु हुन्छ । र, ऊ सारमा छोटे गोयबल्सको स्वामित् छोटे हिटलर हुन्छ ।

यहाँ ज–जसका कुरा गरियो, यी सब सरकारका औँलाका इशारामा नाच्ने मैनका पुतली हुन् । गोरखापत्र, नेपाल टेलिभिजन, साझा प्रकाशन, प्रज्ञा–प्रतिष्ठान आदि । र, हुन् यी सब नैतिक एवं सांस्कृतिक प्रदूषणका विषाक्त कारखानाहरू । यी लोकतन्त्रका धमिरा हुन् । यी अमानवीयताका रक्षक हुन् । यी असमानताका पहरेदार हुन् । यी उच–नीचका संवाहक हुन् । यी दासताका पोषका हुन् । यी हीन भावनाका प्रवर्द्धक हुन् । यी मानिस जिउँदो, हक्की, सत्यवादी, स्वाभिमानी र आलोचनाशील बन्ने बाटोका अवरोध हुन् । तसर्थ यी सब विवेकयुक्त, सचेत, सशक्त एवं प्रतिरोधी मानवीय चेष्टाद्वारा शीघ्रातिशीघ्र नासिन लायक छन् ।

लेखक : खगेन्द्र संग्रौला

पछिल्लो समाचार

गिरीबन्धु टी–स्टेटको जग्गाबारे माओवादीले माग्यो प्रदेश सरकारको धारणा

अघिल्लो समाचार

दासढुङ्गाको घटना अझै रहस्यमय

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.