८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘सरकार बनाउने र भत्काउने खेलबाट माओवादी बाहिर निस्कनुपर्छ’

साउन २५, २०७८, ३:२८ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अब विस्तारै माओवादीलाई माओवाद नै भारी हुन थालेको हो ?

तेस्रो विश्वका अर्गानिक विचारक भनेका माओ र गान्धीहरू हुन् । दक्षिण गोलाद्र्ध खासगरी पूर्वका लागि उनीहरूको विचारमा केही नवीनतम कुराहरू छन् । त्यसैले माओवादीलाई माओवाद भारी नहुनुपर्ने हो । जब लेनिन माइनस मार्क्सवादको कुरा हुन्छ तब भयानक विचलन शुरू हुन्छ । मार्क्सवादको एउटा पछिल्लो कडी माओवादलाई विकास गर्ने कुरा हो । म लेनिनकै बेलाको लेनिनवाद, माओकै बेलाको माओवादले पुग्दैन भन्नेमा छु । त्यसलाई निरन्तर विकसित तुल्याउनुपर्छ । तर उनीहरूको योगदानलाई खारेज गरेर होइन ।

नेपालका राजनीतिक दलहरू अहिले बढी व्यवहारवादी र बढी ‘रियल पोलिटी’ अर्थात् जे आउँदै जान्छ त्यही गर्ने दैनिक राजनीतिमा अभ्यस्त छन् । दीर्घकालीन रणनीति र सोचको सट्टा भैपरी आउने गर्ने खालको स्थिति अहिले हामी देख्दैछौं । यसको कारण बारेमा धेरै गम्भीर छलफल भएको छैन ।

किन आयो यस्तो क्लान्तपन ? किन यस्तो लेथार्जिक (सुस्त) भए नेपालका राजनीतिक पार्टीहरू । केवल आत्मगत कुराहरू हामी पत्रपत्रिकामा देख्छौं– नेताहरू स्वार्थी भए आदित्यादि भनेर । तर यस्तो किन भए भनेर त्यसको गहिरिएर विश्लेषण गर्ने काम भएको छैन ।

किन सुस्ताइरहेछ माओवादी आन्दोलन ?

जब विगतमा गरेका त्याग, तपस्या र बलिदानको परिणाम जायज नजँचेको जस्तो अवस्था छ । विगत ५० वर्षमा नेपाली जनताले गरेको त्याग, तपस्या र बलिदानको परिणाम पुष्टि भएन वा राम्रो देखिएन भने समाजलाई त्यो त्याग पनि अनाहक नै गरियो कि भन्ने लाग्न थाल्छ । त्यति धेरै गर्नुपर्ने थिएन कि ? त्यत्रो मान्छे मरेर के भयो भन्ने छलफल, बहस पनि भइरहेको सुनिन्छ । त्यत्रो हजार मान्छे मर्नुहुँदैनथ्यो । कति हजार मर्नुपथ्र्यो त ? त्यो चाहिं भन्दैनन् । कति मरेर यो गणतन्त्र, कति जना जेल परेर वा बेघरबार भएर वा कति जनाको परिवार विघटन भएर यो गणतन्त्र आउनुपथ्र्यो त ? भन्ने कुरा चाहिं छैन ।

समाजसँग हुने संघर्षको ऊर्जा एकचोटि बाहिर आइसकेपछि तुरुन्तै पुनः संघर्ष नहुने रहेछ । संघर्षमा ऊर्जा प्रमुख रहेछ । यो एकपटक बाहिर आइसकेपछि फेरि तुरुन्तै नआउने रहेछ । संसारभरि यस्तो छ । भारतको पश्चिम बंगालमा भएको दमनले नक्सलवादी आन्दोलन ५० वर्षपछि उठ्न सकेको छैन । यो संसारभरिकै कुरा हो । जस्तो– मजदूरको संख्या कम भए पनि तत्कालीन जर्मन, फ्रान्स र अरू पश्चिमी देशमा राजनीतिक हड्ताल भएन । तर मजदूरको संख्या कम भएको रूसमा चाहिं राजनीतिक हड्ताल भइरहेको थियो ।

भनेपछि, नेपालमा अब माओवादी आन्दोलन पुनः उठ्दैन ?

संघर्षको ऊर्जाको नवीकरण त हुनसक्छ तर त्यसका लागि फेरि नयाँ सिद्धान्त ल्याउनुपर्छ । अहिले फेरि त्यही माओवाद, पुरानै कमिटी, अध्यक्ष अथवा नेतृत्व र नारामा पुनः जनताले संघर्ष गर्दैनन् । संघर्षको ऊर्जा नवीकरण हुँदा यो ज्यामितीय भन्दा पनि बढेर अगाडि आउँछ । तर त्यो ऊर्जा ल्याउनका लागि नयाँ सिद्धान्त चाहिन्छ ।

नेपाललाई ५० वर्ष अगाडि लैजाने विकास रणनीति कोसँग छ ? कोहीसँग छैन । राजनीतिक पार्टीसँग खोइ त विकास रणनीति ? अहिले संसार सिद्धान्तको हिसाबले भयंकर आशावादी हुने स्थिति छ । समाजवाद ऊ त्यहीं छ नजिकै । मेरो पालामा होइन, मेरो कुरा सुनिरहेको नयाँ पुस्ताले सम्भवतः समाजवाद देख्न पाउँछन् ।

कुरा त हराभरा छन् । तर आन्दोलन सुस्ताइरहेको छ, समस्या कहाँनेर भइरहेछ ?

तर यहाँको जुन ‘रियल पोलिटी’ अर्थात् व्यावहारिक राजनीति छ, त्यसले मानिसलाई निराश बनाउँछ । म क्रान्तिकारी आशावादितालाई विश्व पूँजीवादी व्यवस्थासँग जोड्न चाहन्छु । यो पूँजीवादी व्यवस्था भनेको कुनै राष्ट्र, देश र इलाका विशेषको होइन । पूँजीवाद भनेको एउटा विश्व व्यवस्था हो । यसलाई अब विचरण गर्ने भूगोल छैन । अब त्यो विश्व पूँजीवादी व्यवस्था किरानामा आइपुगेको छ ।

किनारामा रहेका भारत र चीन अहिले आफैं कोर समूहमा पुगेका छन् । उनीहरू वैश्विक राजनीतिमा आफ्नो भूमिका खोज्दैछन् । सन् २००८ बाट ओरालो यात्रामा रहेको अमेरिका अहिलेसम्म पनि उक्सिन सकेको छैन । उक्सिने स्थिति पनि देखिंदैन । अब नयाँ विश्व व्यवस्थाको निम्ति चर्चा, परिचर्चा गर्नुप¥यो ।

माओवादीभित्र नाम फेर्ने बहस छ भन्ने खबर बाहिरिएका थिए । नाम किन फेर्दै हुनुहुन्छ ? नाम मात्रै फेरेर केही हुनेवाला छ र ?

भन्छन् नि नाममा के राखेको छ र ? गुलाबलाई हामीले जे नाम राखे पनि बास्ना आउन छाड्दैन । नाम फेर्ने कुरा पार्टी एकीकरण र ध्रुवीकरण हुँदा आउँछ । धेरैपटक नाम फेरिएको पनि छ । नेकपा फुटेपछि मानिसहरूको दुईथरी अनुमान थियो । पहिलो– ओलीले नेतृत्व गरेको पार्टी बन्छ, दोस्रो– प्रचण्ड, माधव नेपालहरूले नेतृत्व गरेको पार्टी बन्छ । यसरी प्रचण्ड र माधव नेपाल दुवैजना एकठाउँमा बस्ने पार्टी भनेको त माओवादी नहोला । माओवादी नाम भित्र सबै शक्तिहरू नअटाउलान्, नसमेटिएला भनेर मानिसले अनुमान गरेका हुन् । अहिले तत्काल त नाम फेर्ने जस्तो देखिंदैन । किनभने अहिले कुनै समूह माओवादीमा आइरहेको छैन ।

पार्टीले के गर्ला एउटा कुरा भयो । एउटा बौद्धिक नेतृत्वको हिसाबले माओवादीले आफ्नो अस्तित्व रक्षाको लागि के गर्नुपर्ला जस्तो लाग्छ ?

माओवादी पार्टीले आफ्नो अस्तित्व रक्षाका लागि केवल सरकार बनाउने र सरकार भत्काउने काममा मात्रै आफूलाई सीमित गर्नुहुँदैन । कम्युनिष्टहरू संसदमा सहभागी हुन थालेको तीसौं वर्ष बितिसक्दा पनि मजदूर किसानलाई सम्बोधन गर्ने कुनै पनि विधेयक न संसदमा टेबल गरिएको छ, न पास भएको छ । हामी अहिले क्युबा वा चीनको बाटोबाट, हिंसात्मक बाटोबाट अगाडि बढ्न सक्ने अवस्थामा छैनौं । तत्कालका लागि हामी संसदीय बाटोबाटै अगाडि जाने हो । यसका लागि संसदीय बाटोबाटै राम्रो काम गरिएका उदाहरण खोज्नुप¥यो ।

जस्तो ! केही उदाहरण सुझाउन सक्नुहुन्छ ?

केही कमजोरी भए पनि केरला एउटा नमूना बनेको छ । विगत २५–३० वर्षदेखि मानवीय विकास सूचकाङ्क, शिक्षा, जनस्वास्थ्य, बाल मृत्युदर कम हुनेमा, महिला र पुरुषको समानुपातिक प्रतिनिधित्व, मानिसको आयु यी सबै कुरामा केरला एक नम्बरमा छ । हामीले सरकार, संसदमा र सडकबाट पनि मजदूर र किसानको पक्षमा, जनतालाई सक्षम र बलियो बनाउने हिसाबले संसदमा बिलहरू लैजान सक्छौं । सरकारबाट नीतिहरू बनाउन सक्छौं । मजदूर र किसानको पक्षमा हामीले सडकबाट, गाउँ र शहरबाट यी कुराहरू उठाउन सक्छौं ।

संसदको कुरा गर्नुभयो । सांसदलाई ‘बिचौलिया जस्तो’ छविबाट मुक्त गरेर साँच्चै ‘जनताको प्रतिनिधि’ बनाउन कसरी सम्भव हुन्छ ?

हो, यसलाई बदल्न सक्नुपर्छ । मैले सधैं उदाहरण दिंदा पश्चिम बंगाल र केरलालाई लिने गर्छु । किनभने पार्टी त एउटै हो । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीकै नेतृत्वमा त्यहाँ काम भइरहेको छ । पश्चिम बंगालमा जनताको पछौटेपनलाई उपयोग गरेर सरकारमा जाने काम गरे । ३३ वर्ष शासन गरेको ठाउँमा अहिले एक सीट पनि आएन । भारतमा ५० वर्षदेखि शासन गरिरहेको कंग्रेस र कम्युनिष्ट पार्टीहरू मिल्दा एउटा सीट पनि आएन ।

तपाईंको विचारमा कम्युनिष्टहरू कहाँ चुकिरहेका छन् ?

नेपालमै हेरौं । म अहिले झापा जिल्लाको प्रतिनिधित्व गर्छु । तर झापामा कम्युनिष्टहरूको संख्या बढेपछि त्यहाँ स्कूल र पुस्तकालयभन्दा मन्दिर, गुम्बा र चर्चको संख्या बढेको छ । जनताले यो कुरा बुझिहाल्छन् । बंगालका जनताले कम्युनिष्टले मूर्ख बनाइरहेको थाहा पाएपछि फालिदिए । यहाँ पनि सांसदहरू ब्रोकर जस्तो देखिने स्थितिको अन्त्य गर्नका लागि जनतामा जमेर बस्नुप¥यो । किसान र मजदूरको पक्षमा विधेयकहरू ल्याउनुप¥यो ।

तपाईंले पटक–पटक विधेयकको कुरा उठाइरहनुभएको छ नि ?

अहिले सबैभन्दा बढी नेपालका किसान, मजदूर, न्यून बेतनभोगी कर्मचारी पासोमा पर्ने भनेको शिक्षा र स्वास्थ्यमा हो । जेनतेन पेट पालिरहेको मान्छे जब बिरामी भएर निजी अस्पतालमा जानुपर्छ र अस्पतालले जब ७ लाखको बिल थमाइदिन्छ, तब ऊ सकियो । उसको बचत पनि सकियो, उसको खेतबारी पनि सकियो । हामीले स्वास्थ्य र शिक्षा सबै जनताको निम्ति निःशुल्क गर्न प्रयास गर्नुपर्छ । जनताले उपचार निःशुल्क गर्न पाउनुपर्छ ।

नेपालमा लगभग सबै दल समाजवादी छन् । साम्यवादको कुरा गर्ने कम्युनिष्टहरू बहुमतको संख्यामा छन् । संविधान पनि समाजवादउन्मुख नै छ । तर नतिजा देखिहाल्नुभएकै छ । बोली र व्यवहारमा यति ठूलो भेद किन छ ?

२०४६÷४७ सालबाट राजनीतिमा आएका पार्टीहरूले कर्मचारीतन्त्र निर्माण गरे । पार्टी भनेको गतिशील, सधैं नयाँ–नयाँ कुरा गर्ने, नयाँ–नयाँ मुद्दालाई अगाडि ल्याएर नयाँ ढंगले अगाडि जाने हुनुपथ्र्यो । तर ती त कर्मचारीतन्त्र जस्ता भए । जनतालाई शिक्षा र स्वास्थ्यको बलमा मात्र बलियो बनाउन सकिन्छ । दलहरू त यहींभित्र किर्ना पसेजस्तो पसेर त्यसको व्यापार गरे । २०६३÷६४ मा नेपाली जनताले यो कर्मचारीतन्त्रलाई सिध्याउने शक्तिको रूपमा अपरिचित र अपरीक्षित माओवादीलाई ठूलो म्याण्डेट दिंदै मतदान गरे । सबै ठूलाठूला नेताहरूलाई चुनाव पनि हराइदिए ।

अब पहिलो काम– जनतासँग हामीले आत्मसमीक्षा गर्नुपर्छ । दोस्रो– अब हामी तपाईंहरूप्रति प्रतिबद्ध छौं भनेर नयाँ नीति र कार्यक्रम ल्याउनुपर्छ । त्यो नयाँ नीतिलाई बोक्न सक्ने नयाँ नेतृत्व अगाडि आउनुपर्छ ।

नेपाली कांग्रेस र एमालेका असाध्यै ठूला भनिएका नेताहरू माओवादीका साधारण मानिसबाट पराजित भए । नेपाली जनताले त साथ दिने रहेछ नि त ! त्यतिबेला शहर, बजार र चोकका सबै जान्नेसुन्ने, धनीमानीहरूका निम्ति माओवादी भनेका परचक्री थिए । कोही कसैले साथ र समर्थन दिएका थिएनन् । हाम्रोमा नेता भएपछि त्यसको घर चोकमा सर्छ । पछाडि गाउँमा बस्दैन । चुनावमा मात्र आफ्नो गाउँमा जान्छन् । त्यसपटक जनताले पुराना नाइकेको कुरा मानेनन् । त्यो चोके नेताको कुरा सुनेनन् । सबै नाम चलेका नेताहरूलाई हराइदिए ।

तर जब जनताले देखे कि माओवादी पनि यो कर्मचारीतन्त्रलाई भत्काएर जनतालाई स्वास्थ्य, शिक्षा, कृषिका अनुदानहरू हामीलाई उपलब्ध गराउने बाटोमा छैनन् । त्यसपछि २०७० मा माओवादीलाई पनि उनीहरूले दण्डित गरे । त्यसैले यसबाट शिक्षा लिनुपर्छ । निराश भएर सबै कुरा समाप्त गर्ने कुरा भएन ।

अबको बाटो के हो ? सच्चिने कि सक्किने ?

म आबद्ध पार्टीका साथीहरू सबैलाई मेरो आग्रह छ– हामीले गल्तीहरू सच्याऊँ । बीचमा हामी अलिकति बाङ्गियौं भनेर जनतासँग आत्मसमीक्षा गरौं । अहिले पनि जनता खासगरी किसान र मजदूरका मुद्दालाई संसदमा लिएर जाऔं । उनीहरूका मुद्दालाई हामीले सरकारी योजनामा समाविष्ट गरौं । यसरी अगाडि बढ्दा हामीले नयाँ छलफल र नयाँ बहसलाई सुनिश्चित गर्न सक्छौं । होइन, यत्तिकै चुनावमा जाने हो भने हाम्रो कुरा कसैले सुन्नेवाला छैनन् । हामीले शिक्षा व्यवस्था फेर्छौं भन्यौं भने अहिले मानिसले पत्याउँदैनन् ।

माओवादी जनताले नपत्याउने अवस्थामा कसरी पुग्यो ? माओवादीका त्रुटिहरूलाई कसरी समीक्षा गर्ने ?

माओवादीको सबैभन्दा गम्भीर त्रुटि भनेको उसले जुन सामाजिक वर्ग धरातलमा टेकेर आएको थियो, त्यो वर्गप्रति यो प्रतिबद्ध रहेन, इमानदार रहेन । केही पनि काम गरेन । त्यसैले जनताले धोका महसूस गरे । विश्वासघात भएको महसूस गरे । नेताहरू आत्म प्रवञ्चनाको शिकार बने । जुन वर्गबाट तपाईंले जीवनरस पाउनुभएको छ, त्यो वर्गसँग कटेपछि तपाईं शक्तिहीन बन्नुहुन्छ । त्यो शक्तिको क्षतिपूर्ति तपाईंले बैंकमा ब्यालेन्स राखिदिएर, तपाईंसँग ठूलो गाडी र घर भएको भरमा हुँदैन । किनभने म संसार हल्लाइदिन्छु, म संसार परिवर्तन गर्छु भन्ने तागत तपाईंलाई जहाँबाट प्राप्त भइरहेको थियो, त्यो स्रोतबाट तपाईं कट्नुभयो । यसपछि तपाईं शक्तिहीन बन्नुभयो ।

अब पहिलो काम– जनतासँग हामीले आत्मसमीक्षा गर्नुपर्छ । दोस्रो– अब हामी तपाईंहरूप्रति प्रतिबद्ध छौं भनेर नयाँ नीति र कार्यक्रम ल्याउनुपर्छ । त्यो नयाँ नीतिलाई बोक्न सक्ने नयाँ नेतृत्व अगाडि आउनुपर्छ ।

यो आत्मस्वीकारोक्ति तपाईंहरू जस्ता केही नेताहरूको मात्रै कि सिङ्गो पार्टीको हो ?

आत्मस्वीकारोक्ति भनेको के हो ? कसैले बोलेर वा भाषण गरेर वा कतै लेखिदिएर मात्र हुँदैन । मेरो स्वीकारोक्तिलाई पनि तपाईंले गम्भीरतापूर्वक लिनुहुँदैन । मैले काम गर्ने क्षेत्रमा मेरो हिंडडुल कोसँग छ ? मेरो उठबस कोसँग छ ? म बस्न, खान, हिंड्न कोसँग बढी रुचाउँछु ? त्यो हेरेर मात्रै तपाईंले भन्न सक्नुहुन्छ ।

हामी बिचौलिया जस्तो भएछौं भन्नुहुन्छ । फेरि त्यही गर्नुहुन्छ ? कसरी विश्वास गर्ने ?

यो कुरा त हाम्रो पारिवारिक कुरा भयो । हाम्रो शहीद परिवार, घाइतेहरूको कुरा चाहिं आफ्नै परिवारभित्रको भयो । तर जनतासँग गरेको प्रतिबद्धता त हामी सबै मिलेर गरेका थियौं । यसमा दुइटा पक्ष छन् । पहिलो– हाम्रो आफ्नै पार्टी पंक्तिभित्र न्याय गर्न नसकिएको कुरा छ । दोस्रो– हामीलाई साथ र समर्थन दिएका जनता । हाम्रो शहीद परिवार, घाइते पनि त्यही जनताका छोराछोरी नै हुन् । ती जनतालाई हामी इमानदार छौं भन्ने कुरा अनुभूति हुनुपर्छ । यो कुरा नीतिमा नझल्किए र व्यवहारमा कार्यान्वयन नभएसम्म उनीहरूले पत्याउन सक्दैनन् ।

तपाईंहरूलाई रूपान्तरण हुन कसले रोकेको छ ? के कुराले बाधा पु¥याइरहेको छ ?

संस्कार र सिद्धान्त फरक कुरा हुन् । मेरो विचारमा पहिला फ्रायड जन्मिनुपथ्र्यो अनि मार्क्स आउनुपथ्र्यो । मान्छेको मनोविज्ञान, संस्कारको बारेमा फ्रायड लगायतले धेरै कुरा लेखेका छन् । यता, मार्क्सवादीभित्र पनि थुप्रै मानिस छन् जसले यसबारेमा धेरै चर्चा, परिचर्चा गरेका छन् । तर हाम्रो दुर्भाग्य के छ भने हामी केवल शक्तिमा भएका लेनिन, स्टालिन र माओ मात्रै पढ्छौं । मनोविज्ञान, कृषि, शिक्षाको क्षेत्रमा काम गरेका उनीहरूका वरिपरि रहेका नेताको बारेमा हामी पढ्दैनौं । यसले पनि गाह्रो परिरहेको छ ।

अर्को कुरा, हाम्रो संस्कार एकदमै पछौटे र विचार एकदमै अत्याधुनिक प¥यो । यसको अन्तरविरोध पनि देखिन्छ । ठूला भनेका नेतालाई पनि बेलाबेलामा उसको संस्कार अगाडि आएर लगिदिन्छ, पछारिदिन्छ । एकदमै ठूलो मान्छे भनेको यो त होइन रहेछ भन्ने पारिदिन्छ । यसरी हेर्दा, माओवादी आन्दोलनमा प्रचण्ड एउटा स्थापित नाम बन्यो । माइनस प्रचण्ड धेरै साथीहरूले प्रयास गरे तर माओवादी चाहिं बनेन । मलाई पनि के लाग्छ भने प्रचण्डको अभावमा पनि अर्थोक केही बनाउन सकिन्छ, तर यही पार्टीलाई फेरि पुनर्गठन गर्ने कुरामा एउटा महत्वपूर्ण धुरी बनेर प्रचण्ड नै देखा पर्छन् ।

केही दिनअघि मैले कमरेड प्रचण्डसँग नै छलफल गरेको थिएँ । मैले आफ्ना रायहरू राखें । हामीले अन्तिमपटक पाएको अवसर हो । त्यो पनि कताबाट यो सुयोग जुट्यो । ओली नै केही समय टिक्न सकेको भए हाम्रो हालत के हुन्थ्यो ? हामी भन्न सक्दैनौं । हामीसँग कति मानिस रहन्थे ? नेपाल त्यही त हो ।

अस्तिसम्म आकाश थर्काउने गरी ओली बा कि ओली बा भन्थे । अब केही दिनपछि ओली बा भन्नेहरू हराइहाल्छन् । यो खालको अवस्था हाम्रोमा छ । यसबारे मैले प्रचण्डसँग पनि कुरा गरें । अरू साथीहरूसँग पनि कुरा भइरहेको छ ।

यहाँ नयाँ नीति र नेतृत्व पनि भनिरहनुभएको छ । प्रचण्ड विनाको माओवादी पुनर्गठन हुनसक्दैन पनि भनिरहनुभएको छ । अलि अन्तरविरोधी कुरा भएन र ?

मैले प्रचण्ड कमरेडसँग पनि भनेको छु– अब एकचोटि यसलाई मेसोमा ल्याएर हामीले छाडिदिनुपर्छ । उहाँभन्दा म दुई तीन वर्ष कान्छो छु । तर मैले पनि अब कार्यकारी भूमिका लिनुहुँदैन । मैले तपाईंहरू जस्तै युवा पुस्तालाई जिम्मेवारी सुम्पिनुपर्छ । स्वाभाविक रूपमा ‘थिङ्क ट्याङ्क’को रूपमा र पार्टीको सम्पत्तिको रूपमा मेरो भूमिका रहोस् । म नै कार्यकारी ठाउँमा पुग्नुपर्छ भन्ने होइन । मैले प्रचण्ड कमरेडलाई ढिला नगरी नेतृत्व छाड्नुपर्छ भनेको छु । तर मेसोमा ल्याएर सुम्पनुपर्छ । छरपस्ट छाडेर त हुन्न । अब कसले लिने अहिले जिम्मेवारी । कसैको हातमा पनि जाँदैन जिम्मेवारी । अहिले माओवादी आन्दोलनको जिम्मा कसले लिन सक्छ ?

यो नेतृत्व भनेको लिने र दिने कुरा होइन होला नि ! प्रचण्डको पुस्तालाई पनि कसैले दिएको होइन होला । अहिलेको दोस्रो पुस्ताको हैसियत के हो ?

तपाईंले ठीक कुरा उठाउनुभयो । यहाँ दुइटा कुरा हुन्छ । स्थापित भइरहेको र रहेको नेतृत्वले अब हामी विदा हुनुपर्छ भन्ने सोच राख्नुप¥यो । सबैभन्दा सकारात्मक सोच त्यही हुन्छ । राजनीतिक नेतृत्व भनेको बाउले छोरालाई अंश दिए जस्तो अथवा छोरीलाई दाइजो दिए जस्तो होइन । यो लडेर लिने कुरा हो । कुनै जमानामा हामी पनि लडेका थियौं ।

हामीभन्दा अगाडिका नेताहरूलाई चुनौती दिएर आएका हौं । मोहनविक्रमदेखि पुष्पलालसम्मको विरोध गरेर हामी अगाडि आएका हौं । उहाँहरूभन्दा हामी राम्रो गर्न सक्छौं, उहाँहरूको गलत बुझाइ छ भनेर हामी अगाडि आएका हौं । तर भइदिंदोरहेछ के भने आफूले राम्रो काम गर्न नसकेपछि तिनै पुर्खाको नाम लिनुपर्ने ।

जहिले पनि बाजेकै नाम लिएर आफ्नो परिचय दिनुपर्ने । अहिले पुष्पलाल महान, मनमोहन महान भन्ने कुरा जसरी आइरहेको छ, त्यो किनभने अहिलेको पुस्ता चाहिं साह्रै गएगुज्रेको भयो । अहिलेको नयाँ पुस्ताले बुझ्नुपर्छ कि म त एकप्रकारले भीष्म बन्न खोजेको हुँ । भीष्मले अर्जुनहरूलाई बताउँछन् कि उनी आफैंलाई पराजित गर्ने तरिका के हो ? मलाई यसरी हराउन सकिन्छ, आऊ हराऊ । जस्तो– द्रोणलाई यसरी हराउन सकिन्छ भन्ने कुरा अर्जुनहरूलाई जानकारी दिइन्छ ।

उनले नचाहे पनि हराउनुपर्छ । तपाईं कस्तो बोल्नुहुन्छ, कस्तो लेख्नुहुन्छ, कसरी सम्बोधन गर्नुहुन्छ ? यो तपाईंको संस्कारको कुरा भयो । तर तपाईंले राजनीतिक÷सैद्धान्तिक रूपमा प्रहार गर्नैपर्छ । यो पिंढी लाचार भयो, यसले काम गर्न सकेन, यसले अगाडिको बाटो देखाउन पनि सक्दैन भनेरै आउनुपर्छ ।

प्रचण्डको स्वीकारोक्तिको अवस्था कस्तो पाउनु भयो ?

उहाँले यसबारे हो भनेरै भन्नुहुन्छ । उहाँ आफ्नो अडानमा धेरै समय बस्ने मान्छे होइन । मान्छे कन्भिन्स पनि हुनसक्ने र कन्भिन्स पनि गर्न सक्ने मानिस हो उहाँ । तर, अरू को कहाँ बिग्रिए भनेर म बिग्रने छुट हुँदैन । अरूको बहाना बनाएर म बिग्रन पाउँदिनँ ।

त्यसैले, मैले आफ्नो क्षेत्रमा चाहिं सांसद विकास कोषको रकम शिक्षा, स्वास्थ्य र कृषिमा मात्र खर्च गरेको छु । सरकारी विद्यालयहरूमा केही न केही रकम दिएर त्यहाँ आइटी शिक्षा दिने, सबै वडाहरूमा रक्तचाप, सुगर, छाती आदि जाँच्ने ल्याब स्थापना गर्ने र आवासविहीनहरूका लागि आवास बनाइदिने । तर, यो आवास बनाउने कुरामा स्वाभाविक पक्षपात पनि हुँदोरहेछ । शहीद परिवार, लामो समय जेलमा बसेका परिवारका निम्ति घर बनाउने काममा म बढी जोड दिइरहेको छु ।

यो त तपाईंको व्यक्तिगत कुरा भयो । यति ठूलो संगठन भएको पार्टीमा एउटा व्यक्तिको मात्र कामको के अर्थ होला र ?

यो नीति नै बनाएर काम गर्नुपर्ने विषय हो । जस्तो अहिले मैले प्रचण्डसँग पनि कुरा गरें । कम्तीमा माओवादीले जितेको ठाउँमा ३० प्रतिशत रकम शिक्षामा र ३० प्रतिशत बजेट स्वास्थ्यमा न्यूनतम छुट्याउनुपर्छ भनेको छु । यसले केही फरक ल्याउन सक्छ । कि मलाई कसैले सच्याओस् म गलत छु भने, होइन भने कार्यान्वयन हुनुपर्छ भनेको छु । अरूलाई पनि हामीले सम्झाउने प्रयास गर्नुपर्छ । यसले केही फरक पार्छ । जस्तो– बिदुर नगरपालिकामा अरबभन्दा माथिको बजेट छ ।

त्यो बजेटमा ३० करोड चाहिं शिक्षामा गयो । ३० करोड चाहिं स्वास्थ्यमा गयो भने स्वाभाविक रूपमा त्यहाँको स्वास्थ्य सम्बन्धी निकायको स्तर धेरै राम्रो हुन्छ । विद्यालयमा पनि थप आइटी र अंग्रेजी शिक्षक राख्न सक्छौं । बेलाबेलामा त्यहाँ राजनीतिक मान्छे गएर विद्यालयको अनुगमन गरिरहने गर्नुपर्छ । अभिभावक र शिक्षकको छलफल प्रत्येक तीन महीनामा गराइदिने हो भने पनि विद्यालयको स्थिति फेरिन्छ ।

गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुरामा त दुईमत नै भएन । तपाईंहरू सशस्त्र विद्रोहबाट आउनुभएको । रूपान्तरण चाहिं किन भइरहेको छैन ?

एउटा कुरा त यो विकास भन्ने नै गलत बुझाइ हो । यसलाई बिर्साउने कसरी भन्ने समस्या छ । सारा मिडिया र देश यसमा लाग्नुप¥यो । विकास भनेको के हो ? हाम्रो आधारभूत बुझाइ नै गलत भयो । विकासको धूरी खम्बा भनेको त शिक्षा र स्वास्थ्य हो । जहाँ जनता शिक्षित र स्वस्थ छन्, त्यही नै विकासको सबैभन्दा ठूलो प्रमाण हो । तर यहाँ त ढुंगा–गिटी ओछ्याउने, पहाडहरू चिथोर्ने, पर्यावरणलाई समाप्त पारिदिने काम भइरहेको छ । पहाड चिथोरेर बनाएको ढुङ्गाको निर्माणलाई बढी सुन्दर भनिदिने । यस्तो धारणा गलत हो, हामीले यसलाई बदल्नुपर्छ ।

माओवादी र यसको नेतृत्व अहिले आफ्नो निर्णयभन्दा अरूको निर्णय कुरेर बस्नुपर्ने र अरूको निर्णयमाथि प्रतिक्रिया जनाएर बस्ने अवस्थामा पुग्यो नि होइन ? आफ्नो एजेन्डा र विचार सकिएकै हो माओवादीको ?

कुनै पनि ठूलो आन्दोलनसँग एउटा दायित्व पनि हुन्छ । नाफा पनि हुन्छ, नोक्सान पनि हुन्छ । यहाँ केही नेतृत्वमा नोक्सानी चाहिं कबुल नगर्ने प्रवृत्ति पनि देखियो । धेरै जनाले माओवादी नै छाडेर हिंडे । केही साथीहरू माओवादीमै रहे । यस्तो त सम्भवै छैन कि नाफा चाहिं सकार्ने, नोक्सानी चाहिं नकार्ने । माओवादीकालमा भएका खराब कामको पनि हामीले जिम्मेवारी त लिनुप¥यो ।

यस अर्थमा, माओवादीभित्रको युद्धले स्थापित गरेको नेतृत्व छिरलियो । यसपछि अब हाम्रो बाटो के, कसरी अगाडि बढ्ने भन्ने परिभाषित नै भएन । माओवादीले गरेको महाधिवेशन पनि महाधिवेशन जस्तो गरी गरेन । कर्मकाण्डी खालको भयो । छलफल पनि छैन, बहस पनि छैन । कुनै मुद्दामाथि जनताको सरोकार वास्ता गरिएको पनि छैन । यसरी यो पार्टी जनताबाट कट्यो ।

अहिले यहाँ समावेशीको कुरा हुन्छ । यो त हाँसोलाग्दो र ढाँट कुरा हो । आफूलाई मन परेको एकजना दलितलाई ल्याएर एउटा ठाउँमा उभ्याइदिएर मैले समाज समावेशी बनाएँ भन्न मिल्छ ! समावेशी हुन त निर्णय प्रक्रियामा ऊ सहभागी हुनुपर्छ । ऊ संलग्न हुन पाउनुपर्छ ।

दलित भन्ने जुन जात व्यवस्था छ, यसलाई समाप्त गर्ने परामर्श, छलफल र नीति निर्माणमा त दलित पनि सहभागी हुन पाउनुप¥यो । एकजना मन परेको पात्र उभ्याइदिएर दलित मुक्ति हुँदैन । त्यसैले नीति निर्माणमा जनताको सहभागिता लोकतन्त्रको सबैभन्दा प्रारम्भिक शर्त हो । यो पार्टीहरूले गरिरहेका छैनन् । लोकतन्त्रलाई गतिशील र जीवन्त बनाइरहनुपर्ने हाम्रा पार्टीहरू नै लोकतान्त्रिक भएनन् ।

साँच्चै हो नि है, माओवादीलाई लोकतान्त्रिक पार्टी भन्न मिलेन नि ! माओवादीमा साढे तीन दशकदेखि एकै जना नेतृत्वमा छन् । एमालेमा यही अवधिमा पाँच जना नेतृत्व परिवर्तन भइसक्यो । मन्त्री पनि पेरिसडाँडाले भन्दा खुमलटारले छान्ने ! न विधिको सर्वोच्चता, न नीतिको सर्वोच्चता ?

यो अवधिमा केही नेता फेर्ने पार्टीहरू पनि लोकतान्त्रिक छैनन् । लामो समयदेखि एउटै नेतृत्व भएको पार्टी पनि लोकतान्त्रिक छैन । माओवादीले यो स्वीकार्नुपर्छ कि यो पार्टीले नयाँ नेतृत्व पैदा गर्नै सकेनौं । २०–२५ वर्षसम्म २०४८ सालका थोत्रा नेताहरूबाट काम चलाइराखेका छौं । हामीले नयाँ नेता पैदा गर्न सकेनौं । ३०–४० वर्षसम्म एउटै नेता हुने पार्टीमा शिक्षित मान्छेहरू लाग्दै लाग्दैनन् । पार्टी लोकतान्त्रिक बनिरहन जहिले पनि भुइँतहसम्म छलफल भइरहनुपर्छ ।

निर्णय प्रक्रियामा भुइँतहलाई पनि सहभागी गराइरहनुपर्छ । माओले भने जस्तो भुइँतहसँगको अन्तरक्रियाबाट ज्ञान पनि आउँछ र यसबाट संगठन लोकतान्त्रिक पनि बनिरहन्छ । हाम्रो समाज पनि आफ्नो पक्षमा निर्णय भयो भने बडा लोकतान्त्रिक हुने, आफ्नो पक्षमा निर्णय गरिदिएन भने मात्रै अलोकतान्त्रिक हुने भयो । त्यसैले विधि, पद्धति मुख्य कुरा हो । यो सैद्धान्तिक कुरा हो । खोतल्दै गयो भने हामी लेनिनसम्म पुग्नुपर्छ ।

कसरी ?

हामीले लेनिनवादी संगठनात्मक पद्धति भन्छौं । लेनिनले मार्क्सवादमा गरेको योगदान एउटा पद्धतिमा छ । एउटा प्रणाली छ जहाँ यो चाहिं लिन्छु, यो चाहिं छाड्छु भन्न पाउनुहुन्न । प्रणाली त एउटा सेटमा हुन्छ, यसका सबै पक्षलाई अवलम्बन गर्नुपर्छ । जस्तो– भेनगार्ड अर्थात् अग्रदस्ता । त्यसको नेतृत्वमा सशस्त्र क्रान्ति । सशस्त्र क्रान्तिपछि सर्वहारा वर्गको अधिनायकत्व ।

अब सशस्त्र क्रान्ति पनि नगर्ने, सर्वहारा वर्गको अधिनायकत्व पनि लागू नगर्ने, अनि संगठन चाहिं लेनिनवादी संगठनात्मक सिद्धान्तमा हिंडेका छौं भन्ने । तपाईं या त पूर्णरूपमा नोकरशाही केन्द्रीयतामा हुनुहुन्छ, या त तपाईं अराजकतातिर जाँदै हुनुहुन्छ । त्यसैले अब हामीले नयाँ विधिको विकास गर्नुपर्नेछ । संगठनात्मक सिद्धान्त पनि विकास गर्नुपर्नेछ ।

माओवादीले विकास गर्नुपर्ने नयाँ संगठनात्मक सिद्धान्तबारे तपाईंको केही मार्गचित्र छ ?

वन, पानी, विद्यालय चलाउने उपभोक्ता समितिहरूमा कहीं पनि पार्टीका सदस्यहरूलाई सामेल हुन दिनुहुँदैन । समर्थकहरू बस्न सक्छन् । तब मात्र ती संस्थाहरू लोकतान्त्रिक बनिराख्छन् । भुइँतहका संगठनहरूले पार्टीलाई लोकतान्त्रिक बनाइराख्न बाध्य बनाउँछन् । त्यहाँ पनि पार्टीकरण गरेपछि लोकतान्त्रिक वातावरण बिग्रन्छ । म अहिले काठमाडौंमा बसेर झापाको कुनै वन समितिबारे निर्णय गरिदिन्छु । खानेपानीको निर्णय गरिदिन्छु ।

महिला, किसान, विद्यार्थी जस्ता जनवर्गहरूको संगठन स्वायत्त हुनुपर्छ । त्यसको राजनीतिक दलसँग वैचारिक साइनो मात्र हुनुपर्छ । नत्र भने पद्मकन्या क्याम्पसमा कसलाई सभापति बनाउने भन्ने कुरा जुँगामुठे बुढाहरू बसेर निर्णय गरेपछि कसरी लोकतान्त्रिक संगठन बन्छ ? तर, हामी नेताहरूलाई कुनै पनि बनिबनाऊ उत्तर छैन भन्ने कुरा मैले मान्नुपर्छ, हामी सबैले मान्नुपर्छ । उत्तरका लागि जनताको बीचमै जानुपर्छ ।

माओवादीले २१औं शताब्दीको जनवादको कुरा गरेको थियो । अहिले अलपत्र छ । आन्तरिक लोकतन्त्र यही दयनीय अवस्थामा राखेर पार्टी पुनर्गठन हुनसक्ला र ?

म जोड दिएर के भन्न चाहन्छु भने अरू बिग्रिए भनेर तपाईंलाई बिग्रिने सुविधा हुँदैन । अर्को कुरा पूँजीवादी व्यवस्थाले गाँजेको संकट संसारभर अभिव्यक्त भइरहेका छन् । अमेरिका, भारत, चीन, नेपालमा फरक–फरक ढंगले अभिव्यक्त भइरहेका छन् । त्यसलाई एउटा विश्व व्यवस्थाको रूपमा के भइराखेको छ भनेर हेर्नुपर्छ । त्यसको नेपाली संस्करण यसरी आइरहेको छ भनेर हामीले बुझ्नुपर्छ ।

नेपालमा समाजवादी केन्द्र कि कम्युनिष्ट केन्द्रको बहस पनि शुरू भएको छ ! तपाईंको विचारमा कुन केन्द्र ठीक होला ?

समाजवादी केन्द्र भन्नाले अलिकति कन्फ्युजन हुन्छ । किनभने लोकतान्त्रिक समाजवाद र समाजवादको दुई धार छुट्टिएको छ । अहिले त लोकतान्त्रिक समाजवादको धार पनि असाध्यै कमजोर भएको छ । मेरो विचारमा आज पनि संसारभरका उत्पीडितहरूका लागि वाणी भनेको मार्क्सवाद नै हो । त्यो कम्युनिष्ट नै हुनुपर्छ । यसका लागि कम्युनिष्ट केन्द्र नै बनाउनुपर्छ । यसमा कुनै द्विविधा हुनुहुँदैन ।

अब बल्ल आएर माओवादी वडा कमिटी बनाउन लागि परेको छ । यो पार्टीलाई पूर्णरूपमा ट्रयाकमा फर्काउने उपाय के हो ?

मैले जे भनें, पुरानो पिंढीबाट भने । नयाँ पिंढीको बारेमा त मैले भनेको छैन । कम्युनिष्टहरूको जो परम्परा छ, हेगेललाई गलत सावित गरेर मार्क्स आएका । हेगेलको सबैभन्दा राम्रो चेला मार्क्स । मार्क्सवादमा सबैभन्दा बढी संशोधन गरेका छन् लेनिनले । त्यसैले लेनिनलाई मार्क्सको सबैभन्दा राम्रो चेला भनिन्छ । हामीलाई संशोधन गर्ने मानिस आउनुप¥यो नि त फेरि । यो मेरो आग्रह हो । मैले राम्रो सोचेर सुम्पन तयार छु भनेको हुँ । तर नयाँ पुस्ताले भन्नुप¥यो नि तिमीहरूलाई हामी पर्खंदैनौं । तिमीहरूले बनाउन सक्दैनौ ।

यो कुरा त २०६२÷६३ पछि तपाईंहरूले बाबुराम÷प्रचण्डहरूलाई भन्नुपर्थ्यो होला नि ?

यो भित्र बस्नेलाई थाहा छ । बाहिरबाट त जंगल देखिन्छ, रूख देखिंदैन । म त सधैं भनिरहने, लडिरहने मान्छे हुँ । हुने के रहेछ भने दर्शन अगाडि आएको बेला विज्ञान पछाडि जाँदोरहेछ । विज्ञान अगाडि आउँदा दर्शन पछाडि जाने रहेछ भनेर राहुल सांकृत्यायनले भन्थे । लामो बलिदानपछि अहिले नेपाली समाज एकदमै थाकेको, क्लान्त र विश्रान्तिमा छ जस्तो लाग्छ । तर यो उठ्छ । यो ज¥याकजुरुक उठ्छ । युवा पुस्ताले ध्यान दिनुपर्छ– संघर्षको ऊर्जा भनेको नवीकरणीय ऊर्जा हो ।

गाउँबाट शहर घेर्ने दीर्घकालीन जनयुद्धको रणनीति अख्तियार गर्ने ‘माओवाद’लाई नै बोकेर अब अगाडि बढ्न सकिन्छ ?

त्यो त एउटा सन्दर्भ हो । यसलाई सन्दर्भको रूपमा मात्र प्रयोग गर्न सकिन्छ । किनभने चीनको जस्तै पहाड खडा गरेर, खोला तरेर लड्ने कुरा होइन । सबै कुराहरू ऐतिहासिक सन्दर्भमा काम लाग्छन् । लेनिनलाई अर्को नयाँ लेनिन चाहियो । संकट ठ्याक्कै उस्तै छ । १९औं शताब्दीको अन्त्य र २०औं शताब्दीको शुरुआतमा जस्तो संकट अहिले देखा परेको छ ।

पूरा व्यवस्था कोल्याप्स भएको, माथिल्लो वर्ग शासन गर्न नसक्ने अवस्थामा पुगेको, तल्लो वर्ग सहन नसक्ने अवस्थामा पुगेको । मान्छे आजित भइरहेको अवस्थामा लेनिनवाद आयो । यो कहिल्यै बिर्सन भएन कि लेनिनवाद त्यसै जन्मिएको होइन । त्यो युगको संकटले जन्माएको हो । अहिले त्यस्तै संकट आएको छ, केवल लेनिन देखा परेका छैनन् । बोल्सेभिक पार्टी र सामाजिक जनवादी पार्टीका नेताहरू पनि देखा परेका छैनन् ।

नेपालमा अहिलेको सबैभन्दा प्रगतिशील पार्टी कुन हो ?

स्वाभाविक रूपमा माओवादी नै हो । माओवादीसँग त्यो इतिहास र एजेन्डा सहितको दम छ । यसका लागि हामी लडिरहेका छौं । अन्तिम साससम्म लड्नेछौं ।

(नेकपा माओवादी केन्द्रका नेता राम कार्कीसँग अनलाइन खवरका सुदर्शन खतिवडाले गरेको कुराकानी)

पछिल्लो समाचार

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलको सरकार संकटमा

अघिल्लो समाचार

एमालेमा अब शक्तिशाली अध्यक्ष

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.