झापा, २८ साउन । डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कारबाट प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी पुरस्कृत हुने भएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति झापाले २२ औं स्थापना दिवसको अवसरमा सो घोषणा गरेको हो ।
डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ राजवंशीलाई प्रदान गरिने भएको हो । त्यस्तै यस वर्षको पुरस्कार भने पत्रकार कमन देवानलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि जनही २५ हजार नगद रहेको छ । कोरोना महामारीका कारण गत वर्ष सो पुरस्कार प्रदान गर्न सकिएको थिएन ।
त्यस्तै उदयीमान पत्रकारिता पुरस्कार २०७७ मिना नेम्बाङ, सुभला तामाङ, २०७८ का लागि डिल्लीश्वर मुसाहाङ (अम्याङ्सा) र लीला राईलाई छनौंट गरिएको फोनिज झापाका अध्यक्ष बिशाल नेम्बाङले बताए ।
उदयीमान पत्रकारिता पुरस्कारको राशि जनही ५ हजार रुपैयाँ रहेको छ । आगामी अधिवेशनमा सो पुरस्कार वितरण गरिने अध्यक्षले नेम्बाङले जानकारी दिए ।
फोनिज झापाले हरेक स्थापना दिवसमा डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार एकजना अग्रज पत्रकार र उदयीमान पत्रकारिता पुरस्कार २ जना नयाँ पत्रकारलाई वितरण गर्दै आएको छ ।
फोनिजका झापा जिल्ला अध्यक्ष नेम्बाङको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रममा फोनिजका केन्द्रिय सचिव कमन देवान प्रमुख अतिथि रहेका थिए । त्यस्तै अतिथिहरुमा फोनिजका प्रदेश १ अध्यक्ष अर्जुन जम्नेली राई, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेती, प्रेस युनियन झापाका उपाध्यक्ष गिरीराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post