अधिकांश युवाको रोजाइमा पर्छ बैदशिक रोजगार । सामान्य लेखपढ गरेका हुन् वा स्नातकोत्तर, सबै युवा रोजगारीको खोजीमा खाडी मुलुक भासिन्छन् ।
देशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नभएपछि युवाले साउदी अरव, कतार, मलेसिया लगायतका खाडी मुलुकलाई आफ्नो मुख्य गन्तव्य स्थल बनाईरहेका छन् । पश्चिमा देशमा रोजगारी गर्न जानेको संख्या पनि वर्षेनि बढ्दैछ । नेपाल अब यस्तो भईसक्यो, सस्तो जनशक्ति उत्पादन गर्ने एउटा कारखाना हो, उसले सधैँ आफ्नो देशका युवा पङ्तीलाई बेचिरहेछ । त्यसलाई सहजरुपमा अन्य देशले निर्वाध किनिरहेका छन् । हामी हाम्रो श्रम र पसिना निरन्तर बेचिरहेका छौँ । वर्षेनि कम्तीमा पाँचलाख युवा विदेशिने देशमा गनिन्छ नेपाल । स्वदेशमा जीवन निर्वाहको दरिलो अवसर नपाउँदा विदेशिने युवाले भोग्नु परेको पीडा यहाँ भनी साध्य छैन । दैनिकरुपमा दुई चार वटा लास वाकसमा आइरहँदा पनि विदेशिनु पर्ने बाध्यता हामी कहाँ छ ।
वाकसका लासलाई हेर्दै, घर परिवार र त्यसमा पनि नावालक छोराछोरीको अनुहार सम्झिएर भक्कानो फुट्न लागेको बेला आशु पुछ्दै हरेक दिन युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ अघि बढिरहेकोे हुन्छ । यस्तै नियतिले गाँजेको छ हाम्रो समाजलाई । यो पृष्ठभूमिकाबीच बैदेशिक रोजगारीलाई छोडेर आफ्नै मुलुकमा रगत–पसिना बगाउने दृढ इच्छाशक्ति भएका युवाहरु पनि भेटिन्छन् ।
विदेशमा काम गर्दा सिकेको सीपलाई स्वदेश फर्किएर कार्यान्वयन गर्नेहरु एकातिर छन् भने त्यहाँ खाएको हण्डर सम्झेर आफँै केही गर्न खोज्नेहरु पनि उत्तिकै भेटिन्छन् । निरन्तर मेहनत गर्ने हो भने आत्मनिर्भर बन्न गाह्रो छैन । मेचीनगर–९ का दिपक र सुनिल शिवाकोटी दाजु–भाइलाई एकपटक फर्केर हेरौँ । तीन वर्ष भन्दाबढी समय सुनिलले बैदेशिक रोजगारीमा बिताए । तर पनि उनले अपेक्षा अनुसार कमाइ गर्न सकेनन् र स्वदेश फर्किए । अर्का दिपक नौ वर्ष प्रहरीको जागिर छाडेर कृषिमा होमिए ।
अहिले उनीहरु मछा र कुखुरा पाल्छन् । त्यसबाट उनीहरुको मासिक आम्दानी एकलाख भन्दाबढी हुन्छ । उनीहरुले ब्यवसायिक रुपमा जमिनमा पोखरी खनेर होइन, आधुनिक प्लास्टिकको भाडोमा माछा पालेर बेचिरहेका छन् । अहिले त्यसबाट उनीहरुले राम्रो सफलता प्राप्त गरेका छन् । आफ्नै मेहनत, सीप र पसिनाको कमाईले उनीहरुलाई पुगेको छ । बैदेशिक रोजगारीमा जाने हुन्, गएर फर्किएका युवा वा यतैका कर्मचारी, उनीहरुका लागि शिवाकोटी दाजु–भाइ प्रेरणाका स्रोत हुन् । बस नेपालमा नयाँ योजनाको खाँचो छ । आफैँले योजना बनाएर लाग्ने हो भने हरेक युवा वेरोजगार बन्न पर्दैन । त्यसका लागि युवाहरुलाई राज्यको सहयोग र प्रोत्साहनको खाँचो छ । युवाले सञ्चालन गरेको कृषिकर्म होस् वा अरु कुनै व्यवसाय, त्यहाँ राज्यको नजर पुग्नुपर्छ । विकेन्द्रीत अवस्थामा युवालाई प्रोत्साहन गर्ने पहिलो दायित्व स्थानीय सरकारको हो । युवालाई रोजगार बनाउने, त्यसका लागि बढी भन्दा बढी अवसर दिने, लागत सहभागिताका आधारमा प्रोत्साहन गर्ने, उत्पादन सामाग्रीलाई बजारीकरणका लागि सहयोग गर्ने काममा स्थानीय सरकारको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । युवाको तागतलाई दलहरुले आन्दोलनमा मात्र लगाउने होइन, आर्थिक क्रान्ति र समृद्धिको सपना साकार पार्न पनि उपयोगमा ल्याउन जरुरी छ ।
Discussion about this post