नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजे आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यसै हप्ता स्वदेश फर्कंदैछन् ।
सन् १९४९ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता मित्रवत् सम्बन्ध रहँदै आएको छ । दुवै मुलुकले एकअर्काको देशमा सन् १९६७ मा राजदूतावास स्थापना गरेका हुन् । नेपालको विकासमा फ्रान्सले लामो समयदेखि सहयोग गर्दै आएको छ । यद्यपि पछिल्लो दशकमा दुई देशको उच्च राजनीतिक तहमा भ्रमण आदानप्रदान पातलिंदै गएको छ ।
सन् २००१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फ्रान्सको भ्रमण गरेका थिए, त्यसपछि एकैचोटि सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले फ्रान्सको भ्रमण गरेका थिए । फ्रान्सको तर्फबाट भने सन् १९८३ पछि सरकार वा राज्यप्रमुख तहमा कुनै भ्रमण भएको छैन । सन् १९८३ मा फ्रान्सका तत्कालीन राष्ट्रपति फ्रान्कोइस मिटर¥याण्डले नेपालको राजकीय भ्रमण गरेका थिए । ओलीको भ्रमणपछि फ्रान्सको तर्फबाट उच्चस्तरीय भ्रमण गराउने तयारी भए पनि कोरोना महामारीका कारण अगाडि बढ्न सकेन ।
नेपाल र फ्रान्स सम्बन्धमा विभिन्न आयाम तथा दुई देशको बीचमा केही समानता समेत रहेका छन् । यसै सन्दर्भमा राजदूत फंस्वा–जाभिए लेजेसँग उनको तीनवर्षे कार्यकाल र अन्य विभिन्न द्विपक्षीय विषयमा केन्द्रित रहेर कमलदेव भट्टराई र नसना बज्राचार्यले उनीसँग गरेको कुराकानीको सम्पादित अंश :
नेपालमा लगानीका थुप्रै अवसर छन् । नेपालले युरोपियन युनियन मुलुकबाट ल्याउन सकिने लगानीको सम्भाव्यता खोजबिन गर्नुपर्छ । फ्रान्सले नेपालमा पहिला नै लगानी गरेको छ ।
राजदूतको रूपमा आफ्नो तीन वर्षे कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?
नेपालको लागि राजदूतको रूपमा मेरो नियुक्ति सन् २०१९ मा भएको हो, जतिबेला हामी नेपाल र फ्रान्सबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठ मनाइरहेका थियौं । त्यसैले मेरो कार्यकालको प्रारम्भिक समय विभिन्न कार्यक्रम गर्न र त्यसमा सहभागी भएर बित्यो । त्यसपछि कोरोना महामारी शुरू भयो ।
लगत्तै मेरो सम्पूर्ण काम र ध्यान कोभिड–१९ रेस्पोन्स, युरोपेली नागरिकलाई नेपालबाट लैजाने र नेपालमा कोरोना खोप ल्याउन सहजीकरण गर्ने काममा नै बित्यो । मेरो तीन वर्ष पूर्ण रूपमा विभिन्न अनुभवले भरिएको छ । यस बीचमा मैले नेपालको कला र संस्कृतिको प्रवद्र्धन गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेको छु जसको समकालीन नेपालको प्रतिनिधित्व गर्छ ।
कुनै क्षेत्रलाई मैले समय दिन पाइनँ भन्ने लागेको छ ?
नेपाल र फ्रान्सका बीचमा केही समानता रहेका छन् । विशेषतः पारस्परिकता, विदेश नीति, शान्तिपूर्ण वार्तामा झुकाव, विश्व शान्ति कायम गर्न दुवै देशको प्रतिबद्धता र जलवायु परिवर्तनका विषयहरूमा दुई मुलुकको बीचमा समानता रहेको छ । नेपालमा म पहिलोपटक आएको हुँ । नेपालको बारेमा जुन सामान्य बुझाइ र विश्वास थियो त्योभन्दा मैले नेपाललाई निकै पृथक पाएँ । नेपाल एउटा सानो, कम विकसित र दुई ठूला मुलुकको बीचमा रहेको मुलुक हो भन्ने बुझाइ छ, तर नेपाल इतिहास, संस्कृति लगायत हरेक क्षेत्रमा निकै धनी छ ।
मलाई के लाग्छ भन्दा नेपालको जनसंख्यालाई बुझ्ने कार्य निकै जटिल छ । साउन महीनाको सोमबार मैले पशुपतिनाथ मन्दिरको भ्रमण गरें र मलाई के थाहा भयो भने यहाँको संस्कृति बुझ्न निकै जटिल छ । नेपाललाई बुझ्नको लागि निकै समय र प्रयासको आवश्यकता पर्दछ । मैले यहाँ सिकेको एउटा महत्वपूर्ण पाठ चाहिं पारिवारिक महत्व हो ।
यहाँका मानिसको प्रचुर सम्भावना रहेको छ । उनीहरूले बहुराष्ट्रिय कम्पनीमा काम गरिरहेका छन्, देश बाहिर उनीहरूले आफ्नो व्यापार विस्तार गरिरहेका छन्, युवा शक्ति अझ गतिशील छ र महिला नेतृत्व पनि उत्तिकै सक्रिय छन् । अनौपचारिक क्षेत्रमा काम गर्नेहरू पनि मिहिनेत गरिरहेका छन् । उनीहरूको लचकता र सहनशीलता साँच्चिकै प्रशंसायोग्य छ ।
मलाई आफैंलाई थक्क–थक्क लागेको विषय चाहिं के हो भने मैले विभिन्न कारणले विभिन्न भागको भ्रमण गर्न पाइनँ । मेरो आफ्नै बाध्यता र महामारीका कारण यात्रा गर्ने कार्य मेरो लागि असम्भव नै थियो । तर मलाई नेपालमा फेरि आउन र माथिल्लो मुस्ताङ, मनाङ, डोल्पा र तराई क्षेत्रको भ्रमण गर्न मन छ ।
अब तपाईंको उत्तराधिकारीको रूपमा नेपाल आउने राजदूतलाई केही भन्न चाहनुहुन्छ ?
यहाँका मानिससँगको भेट एकदमै गज्जब लागेको छ । त्यसैले मेरो सुझाव के हुन्छ भने बाहिर जानुस्, मानिसहरूसँग भेट्नुस् र उनीहरूसँग अन्तरक्रिया गर्नुस् । नेपाललाई गहिराइमा बुझ्नका लागि समय लिनुहोस् । अझ मेरो जोड के छ भने काठमाडौं बाहिर जानुस्, वास्तविक नेपाल र यसको विविधताको अवलोकन गर्नुहोस् । मैले निश्चय नै यहाँका मानिसलाई मिस गर्नेछु । मलाई के विश्वास छ भने दूतावासको ग्रिन एम्बेसी परियोजनालाई अगाडि बढाइनेछ । यो परियोजना मात्र होइन, एउटा प्रक्रिया हो । यसलाई दीर्घकालीन रूपमा अगाडि बढाउनुपर्छ ।
फ्रान्सले नेपाललाई कोभिड विरुद्ध लड्नका लागि सहयोग गरेको छ, यसको प्रयोग र प्रभावकारितालाई कसरी हेर्नुभएको छ ?
जब फ्रान्सले प्रयोग गरेको सहयोग नेपाल आयो, मैले त्यो भण्डारण गरेको ठाउँ घुम्ने अवसर पाएको थिएँ । मेडिकल सामग्रीहरूको ट्रयाकिङ प्रणाली रहेको छ । यसमार्फत सामग्रीको प्रयोग र वितरण कसरी भयो थाहा पाउन सकिन्छ । म पूर्ण रूपमा के आश्वस्त भएको छु भने हाम्रो सहयोगको पारदर्शिता कायम भएको छ र प्रादेशिकस्तरमा यसको वितरण भएको छ । हामीले वितरण होस् भन्ने चाहेको पनि त्यही हो ।
नेपालले अर्थतन्त्रलाई उकास्नको लागि अन्तर्राष्ट्रिय लगानी खोजिरहेको छ तर आएको छैन, तपाईंको अनुभवमा नेपालमा लगानीको सम्भावना कत्तिको छ ?
नेपालमा लगानीका थुप्रै अवसर छन् । नेपालमा पहिला नै प्रसिद्ध रहेको ल्याण्डमार्क र सांस्कृतिक विविधता छ । यसलाई पर्यटनको लागि मात्र प्रयोग गर्ने नभई योजनाबद्ध रूपमा लगानीको उद्देश्यका लागि प्रयोगगर्न सकिन्छ । नेपालले युरोपियन युनियन मुलुकबाट ल्याउन सकिने लगानीको सम्भाव्यता खोजबिन गर्नुपर्छ ।
फ्रान्सले नेपालमा पहिला नै लगानी गरेको छ । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा फ्रान्सको कम्पनीको लगानी रहेको छ । त्यसैगरी अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गरिरहेको छ । नेपालले सोलार फार्म, बाटो, सार्वजनिक यातायात, केबलकार लगायतका क्षेत्रमा लगानी ल्याउन सक्छ । त्यसैगरी नेपालले कफी, चिया, मह लगायतका वस्तुहरू निर्यात गर्न सक्छ । लगानी र निर्यातका लागि नेपालका धेरै विकल्प छन् ।
लामो समयपछि प्रधानमन्त्री केपी ओलीले सन् २०१९ मा फ्रान्सको भ्रमण गरे, तर १९८३ यता फ्रान्सको तर्फबाट कुनै उच्च तहको भ्रमण भएको छैन, यस पछाडिका कारण के हुन् ?
प्रधानमन्त्री केपी ओलीले द्विपक्षीय सम्बन्धको ७० वर्षगाँठको उपलक्ष्यमा फ्रान्सको भ्रमण गर्नुभयो । त्यही वर्ष फ्रान्सको युरोप र फरेन अफेयर्स मन्त्रालयको महासचिवले नेपालको भ्रमण गर्नुभयो ।
फ्रान्सको तर्फबाट उच्चस्तरीय भ्रमणको कुराकानी पनि भएको तर महामारीको कारणले यसमा पुनर्विचार गर्नुपरेको थियो । नेपाल र फ्रान्सबीचमा एकदमै सौहार्द, शान्तिपूर्ण र राम्रो सम्बन्ध रहेको छ । तर फ्रान्सको तर्फबाट छिट्टै नै उच्च तहको भ्रमण हुन्छ भन्ने मलाई लाग्छ । त्यसले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेछ ।
Discussion about this post