मेचीनगर, २९ माघ । मगमग चाउचाउ उद्योगमा भइरहेको आगलागी नियन्त्रण गर्न मेचीनगर नगरपालिकासहित १७ वटा दमकलले प्रयास गरिरहेको छ ।
मेचीनगरसहित झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट १७ वटा दमकल आगो निभाउन आएको चाउचाउ उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बताए ।
यसअघि काँकरभिट्टाको एसएस फुटवेयर (जुत्ता उद्योग) मा आगलागी हुँदा मेचीनगरको दमकल बिग्रिएको हुँदा प्रयोगमा आएकोे थिएन । तर, सो उद्योगमा आगलागी भएपछि मेचीनगरको दमकल पुगेको छ ।
शनिबार विहान ४ बजेदेखि मेचीनगर वडा नं. १४ स्थित मनषा थाइफुड्स (मगमग चाउचाउ उद्योग)मा भीषण आगलागी भइरहेको छ ।
मेचीनगरको दमकल साढे ४ वजेदेखि उद्योगमा आगो निभाउन व्यस्त रहेको घिमिरेले बताए । अहिलेसम्म मेचीनगरको दमकलले २२ ट्याङ्की पानी भरेर आगो निभाउने प्रयास गरिरहेको दमकलका कमाण्डर शेरबहादुर लिम्बुलेले बताए ।
‘सुरुमा उद्योगमा आगो लाग्दा बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकल पुगेको थियो’,–त्यसपछि हाम्रो दमकलले २२ ट्याङ्की पानी भरेर आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।’ अब करिव आधा घण्टामा आगो नियन्त्रणमा आउने उनले जानकारी दिए ।
मेचीनगर दमकलका कमाण्डर लिम्बुसहित ७ जनाको टोली आगो नियन्त्रणमा खटिएको छ । दिउसो साढे ३ बजेको समय सम्ममा करीव ९५ प्रतिशत आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिलसिंह दाहालले जानकारी दिए ।
दमकलका कर्मचारीहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, उद्योगका कर्मचारी लगायत स्थानीयले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् ।
चार वर्षअघि एक अर्बको लगानीमा झापाली उद्यमीहरुले स्थापना गरेको सो उद्योग आगलागीबाट पुरै खरानी भएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीमा कुनै पनि मालबस्तु जोगाउन नसकिएको घिमिरेले बताए ।
Discussion about this post