सन् २००३ मा हिमालय टाइम्सका लागि राजेश गुरुङले खिचेको यही तस्वीरका कारण कुख्यात सिरियल किलर चार्ल्स शोभराज नेपालमा छन् भन्ने खुलासा भएको थियो । त्यसको तीन दिनपछि नेपाल प्रहरीले उनलाई ठमेलको क्यासिनो रोयलबाट पक्राउ गरेको थियो ।
काठमाडौँ, ८ पुस । फोटोग्राफर राजेश गुरुङ त्यतिबेला जम्मा २६ वर्षका थिए । द हिमालयन टाइम्सका फुर्तिला फोटोग्राफर गुरुङ धेरै सहकर्मीका रोजाइका फोटो पत्रकार थिए । केही नयाँ गरौं भन्ने हुटहुटी थियो । आइलागेका काममा नाइनास्ती नगरी सोझै दौडिहाल्थे ।
अहिले उनलाई लाग्छ, सायद त्यही स्वभावले उनले २८ भदौ २०५९ मा करिअरकै सबैभन्दा ठूलो समाचार तस्वीर ‘स्कुप’ गर्ने मौका पाए । यो उनका लागि एउटा फगत समाचार तस्वीर मात्र थिएन । कुख्यात अपराधी चार्ल्स शोभराजलाई जेल पठाउने विषय पनि थियो ।
माओवादी द्वन्द्व उत्कर्षमा थियो, मुलुकमा संकटकाल लागेको थियो । क्यामरा बोकेर बिहानै निस्किनु उनको दैनिक नै थियो । त्योदिन दिउँसो २ बजेतिर उनलाई कार्यालयबाट बोलावट भयो ।
‘त्यसबेला मलाई इमिडिएट बोसले जरुरी काम छ भन्दै बोलाउनु भएको थियो’, उनी सम्झन्छन्, ‘मैले कार्यालय जोइन गरेको भर्खर एक वर्ष नाघेको थियो ।’ उनका हाकिमले डेस्कटपमा एउटा तस्वीर देखाए र त्यही मान्छेको तस्वीर ठमेलको एक होटलमा गएर खिच्न अह्राए ।
‘त्यसबेलासम्म मलाई त्यो तस्वीर कसको हो भन्ने थाहा थिएन’, गुरुङले भने, ‘डेस्कटपमा देखिएको रंगिन फोटो ब्ल्याक एण्ड ह्वाइटमा प्रिन्ट गरेर मलाई दिनु भएको थियो ।’
त्यतिञ्जेलसम्म गुरुङ यसलाई अरु बेला झैं सामान्य काम सोचिरहेका थिए । तर, त्यसबेला अचम्ममा परे, जब साथी फणिन्द्र पाण्डेले फोटोमा देखिएका व्यक्ति कुख्यात सिरियल किलर चार्ल्स शोभराज जस्तो देखिने बताए ।
त्यसबेलासम्म पनि उनलाई करिअरकै सबैभन्दा संवेदनशील काम गर्दैछु भन्ने महसुस थिएन । ‘फणिन्द्रको अंग्रेजी राम्रो थियो, बाहिरका मिडियाहरु पनि फलो गरिरहेका हुन्थे’, गुरुङ भन्छन्, ‘साथीलाई शंका लागेपछि साइबर गएर गुगलमा हे¥यौं ।’
सर्च गर्दा आफ्नो हातमा भएकै तस्वीर उनीहरुले फेला पारे । त्यसपछि थाहा भयो, गुरूङले भारतको तिहाड जेलबाट फरार फ्रेन्च सिरियल किलर शोभराजकै तस्वीर खिच्ने एसाइनमेन्ट पाएका रहेछन् । भन्छन्, ‘त्योभन्दा अघि मैले कहिल्यै चार्ल्सको नाम सुनेको थिइन ।’
त्यसबेला शोभराज थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानस्तान, टर्की र ग्रिसका लागि पनि मोस्ट वान्टेड थिए । सन् १९६३ देखि १९७६ को अवधिमा श्रृंखलाबद्ध हत्या गरेको अभियोगमा उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।
तीन दिनको पर्खाइपछि खिचिएको तस्वीर
विश्वभरिका प्रहरीले खोजी गरिरहेका व्यक्तिको फोटो खिच्ने ‘एसाइनमेन्ट’ पाउँदा कस्तो लाग्यो ? ‘सुरुमा त डर लागेको थियो’, गुरुङ भन्छन्, ‘तर सधैँ केही फरक काम गर्ने हुटहुटी र द्वन्द्वमा फोटो खिचेको अनुभवले जसरी पनि खिच्छु भन्ने थियो ।’
पहिले सेनामा जागिर खाने रहर बोकेका गुरुङलाई सिरियल किलरको तस्वीर खिच्न जाँदा युद्धमा जान लागेको सिपाही झैँ महसुस भएको थियो । उनलाई त्यो दिन रातभर निन्द्रा पनि लागेन ।
‘२९ भदौ २०५९ को बिहान ६ बजे नै शोभराज बस्ने भनिएको ठमेलस्थित लजमा पुगेँ’, गुरुङलाई अझै त्यो दिन याद छ, ‘अलिअलि चिसो हुन थालिसकेको थियो । म लजको अघिल्तिर बाटोमा बसेको थिएँ ।’ तस्वीर पनि साथमै बोकेका थिए र वरिपरि हिँड्ने विदेशीलाई उनी सतर्कतापूर्वक नियालिरहेका थिए ।
त्यो दिन त्यत्तिकै वित्यो । शोभराज ‘स्पट’ भएनन् । ‘त्यो कुराइ कम्ता पट्यार लाग्दो थिएन’, गुरुङ भन्छन् । शोभराजको तस्वीर लिने प्रयास दोस्रो दिन पनि उही समयबाट सुरु भयो । ‘चियाखाजा खान जाँदा पनि शोभराज छुटे कि भन्ने डर लागि राख्थ्यो’, उनी सम्झन्छन्, ‘खाँदै गर्दा शोभराजको लजतिरै नजर हुन्थ्यो ।’
दोस्रो दिन साँझ पर्दासम्म पनि उनी देखिएनन् । ‘चार्ल्सलाई भेटिन्न कि क्या हो भन्ने लाग्न थालेको थियो’, उनी भन्छन्, ‘तर, कार्यालयबाट प्रयास गरिरहनु भन्ने सन्देश थियो ।’
अग्ला गोरा व्यक्तिहरु देख्ने वित्तिकै उनी चनाखो हुन्थे । धेरै पटक झुक्किन्थेँ पनि । ‘एकपटक ४०÷५० मिटरसम्म पछ्याएर पनि हेरेको थिएँ’, गुरुङ भन्छन्, ‘त्यो क्रम दोस्रो दिनसम्म पनि जारी रह्यो ।’
तेस्रो दिन मध्याह्नसम्म पनि उही क्रम दोहोरिरहेको थियो । उनी बिहानै विकिनी किलर खोज्दै ठमेल पुगेका थिए । १ बजेतिर तीन÷चार जना विदेशी नागरिकको समूह देखे । ‘त्यसमा चार्ल्स जस्तै मान्छे निस्किएको जस्तो लाग्यो’, उनले सुनाए, ‘त्यसपछि पछ्याउँदै गएँ, अलिपर पुगेपछि होइन रहेछ भन्ने थाहा भयो ।’
उनी खिन्न बनेर फर्किए । तर, हतोत्साही भइसकेका थिएनन् । ‘होटलमै छिरौं कि क्या हो भन्ने पनि लागेको थियो’, गुरुङ भन्छन्, ‘मार्सल आट्स पनि सिकेको थिएँ, केही भए प्रतिवाद गर्न सक्छु भन्ने मनमा आएको थियो ।’ यद्यपि, उनी संयम भएर बाहिरै बसिरहे ।
उनले सोचेका थिए, त्यो दिन पनि त्यत्तिकै खेर जाने भयो । तर, झण्डै २ देखि ३ बजेको बीचमा उनले केही अघि विदेशी नागरिकहरु देखेकै ठाउँमा हातमा बोकेको फोटोमा भएको हुलियाको मानिस देखे ।
‘देख्ने वित्तिकै मनमा डर, खुशी, उत्साह सबै एकैपटक आयो’, गुरुङ सुनाउँछन्, ‘एकछिन त पुरै कक्र्क्क भएँ ।’ उनले टाढाबाटै दुई÷तीन सट स्न्याप लिइहाले । ‘टेली लेन्सले खिचेको थिएँ’, गुरुङ भन्छन्, ‘सुरुमा राम्रो तस्वीर नआएपछि फलो गर्न थालेँ ।’
जब शोभराज टेलिफोन बुथ छिरे
संयोग नै भनौं, एकातिर उनको फोटो राम्रो आएको थिएन, अर्कातिर शोभराज होटल अगाडि रहेको टेलिफोन बुथमा छिरे ।
‘लक्किली ऊ त्यहाँ छिरेपछि मलाई फोटो खिच्न सजिलो हुने भयो भन्ने लाग्यो, किनकि, निस्किँदा अनुहारसहितको तस्वीर आउन सक्थ्यो’ गुरुङले भने, ‘नभन्दै गजबको सट लिन पाएँ ।’ करिब एक मिनेटमै सेतो सर्ट, जिन्स पाइन्ट र ज्याकेट लगाएका शोभराज टेलिफोन बुथबाट निस्किए । गुरुङले ६÷७ सट स्न्याप लिइहाले ।
निस्किएर शोभराज एक जना नेपालीले चलाएको मोटरसाइकलको पछाडि बसे । गुरुङले खिचेको एउटा तस्वीरमा मोटरसाइकल चालकले क्यामरातिर हेरिरहेको देखिन्छ ।
‘त्यति खिच्ने वित्तिकै बाटोमा गाडी आयो, रोड पारि भएकाले शोभराज छेलिए’, उनले थपे, ‘अलिपर बाइक थियो, म चढेर पछ्याउन थालेँ ।’
क्याप लगाएकाले शोभराजको तस्वीर राम्रोसँग देखिएको थिएन । उनलाई छिटोछिटो अगाडि गएर सिधा तस्वीर खिच्न मन नलागेको पनि होइन । ‘मनमा आइरहेको थियो, तर त्यसो गर्न पनि सकिन’, गुरुङ भन्छन्, ‘बरु पछ्याउँछु भन्ने नै सोचेँ ।’
उनी पछ्याउँदै भद्रकालीसम्म पुगे । त्यहाँबाट शोभराज न्यूरोडतिर लागे । गाडीहरुको भिड भएकाले उनी अलमलिए । ‘टर्निङमा ड्राइभरले मलाई नोटिस गरे जस्तो पनि लाग्यो’, गुरुङले सुनाए, ‘त्यसपछि म जति खिचेँ त्यसैमा चित्त बुझाउँ भनेर अफिसतिर फर्किएँ ।’
अनामनगरस्थित कार्यालयमा पुगेर हाकिमलाई फोटो दिँदा उनले ‘वेल डन, थ्यांक यू’ भन्ने जवाफ फर्काएको गुरुङले सम्झिए । भन्छन्, ‘मलाई एकदम खुशी लाग्यो ।’ भोलिपल्ट ‘द हिमालयन टाइम्स’ र यसको सह–प्रकाशन अन्नपूर्ण पोष्टमा त्यो तस्वीरसहित फ्रन्टपेजमा समाचार छापियो । द हिमालयन टाइम्सको शीर्षक थियो, ‘द सर्पेन्ट लिभिङ इनकग्निटो इन ठमेल ।’
सिरियल किलर शोभराज ‘द सर्पेन्ट’ नामले पनि चिनिन्छन् । उही नाममा उनीमाथि नेटफिल्क्सले सिरिज पनि बनाएको छ । शोभराजबारे स्कुप समाचार छापिएपछि त्यसले सनसनी मच्चायो । गुरुङ सम्झन्छन्, ‘त्यसबेला हिमालय टाइम्स र अन्नपूर्ण अरु बेलाभन्दा ५० प्रतिशत बढी संख्यामा प्रकाशित भयो ।’
बाइलाइन नराखेकोमा थकथकी
त्यसबेला समाचारमा जोसेफ नाथनको बाइलाइन थियो । तर, तस्वीरमा उनलाई क्रेडिट दिइएको थिएन । ‘खासमा गुण्डाहरुको तस्वीर खिच्दा नाम राखिन्नथ्यो । शोभराजकोमा पनि नाम राखिएन’, गुरुङले भने, ‘अहिले थकथकी लाग्छ ।’
हाल गुरुङ द हिमालय टाइम्समै कार्यरत छन् । ‘अहिले म फोटोग्राफी डिपार्टमेन्टको चिफ छु, अहिले त धेरैलाई त्यो तस्वीर मैले खिचेको भन्ने थाहा भइसक्यो’, गुरुङ भन्छन्, ‘तर, त्यसबेला मेरै डिपार्टमेन्टका धेरैलाई यो कुरा थाहा थिएन ।’
फोटो प्रकाशित भएको दिनबाटै कार्यालयमा प्रहरीहरु पनि आउन थाले । चहलपहल बढ्यो । अन्तर्राष्ट्रिय मिडियाले पनि फलो गर्न थलो । त्यसपछि उनलाई ठूलै काम गरिएछ भन्ने लाग्यो ।
‘बाहिरका मिडियाले पनि मलाई तस्वीर मागे, मैले केही डलर लिएर पठाइदिएँ’, उनी भन्छन्, ‘पछि भारतका केही टेलिभिजन र फ्रेन्च टेलिभिजनले अन्तरर्वार्ता दिन प्रस्ताव गरे । तर, अफिसियल कारणले त्यो सम्भव थिएन ।’
शुक्रबार शोभराज छुट्दा उनी १९ वर्षअघिका तिनै दिनहरु सम्झना गरिरहेका छन् । ‘मिल्यो भने त हात मिलाएर हे, म्यान ह्वाट्स अप भन्न मन थ्यो’, उनी भन्छन्, ‘अझ आई एम द म्यान हु स्पोटेड यु फस्ट टाइम भन्थे होला ।’
तर, उनको यो इच्छा पूरा हुने छैन । किनकि, सुरक्षाको कारण देखाउँदै अध्यागमन विभागले शोभराजलाई शुक्रबार साँझ ६ बजे नै फ्रान्स डिपोर्ट गर्दैछ । शोभराज स्वयम्ले पनि मिडियालाई तस्वीर खिच्न नदिन प्रशासनसँग अनुरोध गरेका छन् ।
(गौरव पोखरेल ÷ अनलाइन खवर)
Discussion about this post