अर्जुनधारा, ९ पुस । सयौँ बालबालिकाहरुको आमाको नामले परिचित इन्दिरा राना मगर सांसद बनेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातितर्फ प्रतिनिधि सभाको सांसद बनेकी हुन् । पहिलो पटक संसद भवन प्रवेश गरेकी छन् । शनिवार मगरले आफुले सञ्चालन गरेको बन्दी सहायता नेपालको गृह परिसरमा पत्रकार भेटघाटको आयोजना गरेकी थिइन् । उनले सबैलाई नयाँ जिम्मेवारीका निमित्त धन्यवाद दिएकी छन् ।
सयौं बालबालिकाको आमा इन्दिरा राना मगर पूर्णकालिन सामाजिक अभियान्ता हुन् । उनले कैदीबन्दी, बेसहारा बालबालिकाको हेरचाह देखि मानवअधिकारको क्षेत्रमा योगदान गर्दै आएकी थिइन् ।
अकास्मात राजनीतिमा प्रवेश गरेर समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्यको जिम्मेवारी प्राप्त गरिन् । नयाँ जीवनबारे पत्रकार सामु छर्लङ्ग पारेकी छन् । आमा इन्दिराबाट अब ‘माननीय इन्दिरा राना मगर’ का रुपमा परिचय बदलिएको छ ।
पार्टी राजनीति नगर्ने सोचका साथ सामाजिक सेवामा क्रियाशिल मगरलाई उनको सामाजिक योगदानको लोभले राष्ट्रिय स्वतन्त्र पार्टीले तानेको हो । नभन्दै, उनलाई टिकट दिइयो र समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाइएको छ ।
जेल जीवन विताइरहेका अभिभावकका सन्तानको हेरचार, शिक्षा, स्वास्थ्यको रेखदेख गर्दै आएकी उनले अब प्रतिनिधिसभाबाट बालअधिकार, बेसहारा बालबालिकाको सवाल र महिला अधिकारका बारे सशक्त आवाज उठाउने बताइन् ।
‘पहिले मुद्धाहरु उठाइदिन आग्रह गर्दै डेलिगेशन गइन्थ्यो । अब आफै मुद्धा उठाउछु ’ उनले भनिन्, – ‘लामो सामाजिक सेवाको क्रममा आफुले दर्जनौं मुद्धाहरु उठाउँदा आफ्नो मुद्धाहरु डस्टपिनमा फालिएको स्मरण गरिन् । त्यसैले मुद्धालाई ठाउँमै राख्न राजनीतिको बाटो रोजेको हो ।’
उनले जेल जीवन विताइरहेका व्यक्तिहरुका लागि सरकारले दिने सुविधा कम भएको बताइन् । ६० रुपैयाँले जीवन चल्दैन, कम्तिमा पनि हामीले मानव अधिकारको ख्याल गर्नूपर्छ, उनले थपिन्, – दैनिक जीवन चल्ने गरि जेल बसेका नागरिकहरुलाई सुविधा दिनुपर्छ । अन्य क्षेत्रमा हुने केहि खर्च कटौती गरेर भएपनि उनीहरुको हेरचाहमा सरकारले प्राथमकिता दिनुपर्ने उनको भनाई छ ।
बन्दी सहायता सञ्चालन गर्दै बेसहारा बालबालिकाको हेरचाहमा क्रियाशिल उनले विधालयमा सरकारले दिन थालेको खाजाको रकम पनि पर्याप्त नभएको बताइन् । कक्षा ६ सम्म सरकारले एक विद्यार्थी बराबर १५ रुपैयाँ दिने गरेको भन्दै उनले कक्षा १० सम्मका विद्यार्थीलाई पोषणयुक्त खाजाका लागि पर्याप्त रकम दिनुपर्ने बताएकी छन् ।
उनले आफ्नो संसद् प्रवेश यस्तै मुद्धाहरु उठाउनका लागि भएको सुनाइन् । सरकारले देशका कर्णधार भन्ने बालबालिकालाई बेलैबाट राम्रो लगानी गर्नुपर्ने उनको बुझाई छ । विशुद्ध सामाजिक सेवामा रहेर काम गरेको अनुभव सुनाउदै मगरले अब देशमा नीति निर्माणकै तहबाटै धेरै समस्याहरु समाधान गर्दै जाने बताइन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका झापा सभापति उमेश खरेल लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post