मेचीनगर, २३ पुस । एक हजार जना कोरोना संक्रमितलाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगर नगरपालिका–१४ मा निर्माण भएको आठ महिना बितिसक्यो ।
सरकारले यसलाई सञ्चालनमा ल्याउन नसक्दा राज्यको ठूलो लगानी प्रयोगविहीन बनेको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि सरकारले सातै प्रदेश र उपत्यकामा सुविधा सम्पन्न होल्डिङ सेन्टर निर्माण गरेको थियो । मेचीनगरमा निर्माण भएको सो संरचना प्रदेश स्तरीय हो ।
२०७८ को असारतिर सरकारले ठेक्का दिएपछि नेपाली सेनाको अनुगमनमा नौ महिनामै होल्डिङ सेन्टरका भौतिक संरचना तयार भएका थिए । पूर्वीनाका काँकरभिट्टाबाट प्रवेश गर्ने सम्भावित कोभिड संक्रमितलाई राख्न भनेर निर्माण गरिएको यसमा २८ करोड लगानी भएको छ ।
नेपालमा कोभिड–१९ को नयाँ लहर आउने त्रास छ । पहिलो लहर टरिसकेपछि दोस्रो लहरका बेला यो होल्डिङ सेन्टरको अवधारणा आएको हो । काँकरभिट्टा लगायत देशका प्रमुख नाकाबाट दिनहुँ हजारौंको संख्यामा भित्रिने नेपाली र विदेशीलाई कोभिड संक्रमण भएको शंका लागेमा कहाँ लगेर राख्ने र परीक्षणको प्रक्रिया अपनाउने भन्ने विषयमा विज्ञहरुको सल्लाह बमोजिम सरकारले मेचीनगर–१४ दुहागढी स्थित हँडिया खोलाको किनारमा यो संरचना बनाएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताएका छन् ।
‘होल्डिङ सेन्टर बनाउने सम्झौता हुँदा नेपाली सेनाले अनुगमन गर्ने भन्ने निर्णय भएको थियो, तर कसले सञ्चालन गर्ने निधो गरिएको थिएन’, अध्यक्ष ढकालले भने–‘अहिले संरचना बनिइसक्यो । कसलाई हस्तान्तरण गर्ने भन्ने अन्योल कायमै छ ।’
उनले नेपाली सेनाको अनुगमनमा होल्डिङ सेन्टरका सबै संरचना राम्रो बनेको र अब स्थानीय तहको सरकार वा प्रदेश सरकारमध्ये कुनै एउटालाई सञ्चालनको जिम्मेवारी दिनुपर्ने धारणा व्यक्त गरे ।
करोडौं लगानी गरेर बनाइसकेपछि त्यसको उपयोग गर्ने बारेमा सरकारको ढिलाई देखेर नागरिक समाज रुष्ट छ । ‘कोरोनाको नयाँ लहरले चीन र भारतमा खतराको घण्टी बजाइसक्यो, यता होल्डिङ सेन्टर सञ्चालनको कुनै तयारी छैन’–नागरिक अगुवा गोविन्द न्यौपानेले भने ।
उनले कोभिड महामारीका लागि बनेको भए पनि सँधैभरि त्यस्तो महामारी नरहने भएकाले यतिठूलो भौतिक संरचनालाई अरु महत्वपूर्ण कार्यमा उपयोग गर्न सकिनेतर्फ समेत सोच्न आवश्यक रहेको बताए ।
‘प्ररदेशस्तरीय सुधारगृह बनाउने भन्ने पनि मैले चर्चा सुनेको थिएँ, लागू औषधका प्रयोगकर्तालाई सुधार गर्नका लागि यसको उपयोग गर्न उपयुक्त हुन्छ कि हुँदैन भन्ने कुनै अध्यययन भएको चाहिँ थाहा छैन’–न्यौपानेले भने ।
कोरोना मात्र नभएर अरु कुनै पनि संक्रामक महामारी फैलिएमा जोखिम न्यूनीकरण र विपत् व्यवस्थापनमा सरकार तयारी हालतमा रहनु पर्ने जनाउँदै उनले मेचीनगरमा बनेको होल्डिङ सेन्टर कसरी र कसले सञ्चालन गर्ने भन्ने विषयमा सरकार छिटो निर्णयमा पुग्नुपर्ने धारणा व्यक्त गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले होल्डिङ सेन्टर सञ्चालनको आवश्यक गृहकार्य भइरहेको बताए । ‘बिसीएमसीको हालै सम्पन्न बैठकमा यसको सञ्चालन बारेमा छलफल भएको थियो ।’ उनले भने–‘निसकेको संरचना छिटो सञ्चालनमा ल्याउन पहल र छलफल भइरहेको छ ।’ रेखदेख गरिरहेको नेपाली सेनालाई तत्कालै एकसय बेड तयारी अवस्थामा राख्न आग्रह गरिएको सहायक प्रजिअ नेपालले बताए ।
प्रदेश नं. १ का स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले होल्डिङ सेन्टरको निर्माणको विषय गृहमन्त्रालय अन्तर्गत रहेको जनाउँदै महामारीले निम्त्याउने जोखिम न्यूनीकरणका लागि यस्ता संरचनाहरु हरहालतमा तयारी राखिन आवश्यक रहेको बताए ।
के छ होल्डिङ सेन्टरमा
मेचीनगर नगरपालिकाले प्रदान गरेको चार विगाहा जग्गामा बनेको होल्डिङ सेन्टरमा एकै डिजाइनका २२ वटा अत्याधुनिक पक्की भवन छन् ।
जसमा १४ वटा क्वारेन्टीन, एक एक वटा चिकित्साकर्मी र अन्य स्वास्थ्यकर्मीका आवासगृह, १२ वटा डाइनिङ हल, तीन वटा भान्सा र १६ वटा शौचालय भवन रहेका छन् ।
निर्माण भएपछि प्रयोगमा नआउँदा कति सामान काम नलाग्ने भए कि भएनन् भन्ने निश्चित छैन । हँडिया खोलाको बगरमा बनेको होल्डिङ सेन्टर क्षेत्रलाई सेनाले काँडे तारले घेराबेरा गरेको छ ।
यहाँ खानेपानी, सडक र विद्युतको सुविधा पुगिसकेको छ । शौचालय र घेराबेरा समेत भएकाले चाहेका बेला सञ्चालनमा ल्याउन सकिने अवस्था छ ।
रेडक्रस सोसाइटी झापाका अध्यक्ष ढकालका अनुसार सेन्टरमा जाने सडकमा कालोपत्रे कार्य र नजिकैको खोल्सोमा पुल हाल्न बाँकी रहेको जानकारी दिए ।
एक साताअघि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्देशन दिएपछि एकसय बेड तयारी अवस्थामा रहेको र आवश्यक पर्दा एक हजार बेड जुनसुकै बेला सञ्चालनमा ल्याउन सकिने नेपाली सेनाले जनाएको छ ।
Discussion about this post