गत महिना उपप्रधानमन्त्री एवम् गृहमन्त्रीबाट आकस्मिक रूपमा राजीनामा दिनु परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका मूलधारका मिडियाप्रति आफ्नो आक्रोश पोखे । केही प्रमुख मिडिया हाउस र सञ्चारकर्मीको नामै किटेर बोले । मिडियाले आफू विरुद्ध घेराबन्दी गरेको उनको आरोप थियो ।
उक्त पत्रकार सम्मेलनमा उनले परम्परागत राजनीतिक दलहरू भन्दा आफूलाई फरक देखाउन सकेनन् । आलोचना सहन नसक्ने स्वभाव प्रस्तुत गरे । यद्यपि यस घटनाले नेपालमा मूलधारका मिडियाको बारेमा एउटा बहस सिर्जना गरेको छ ।
नेपालमा भारत लगायत दक्षिण एशियाका अन्य देशको भन्दा केही हदसम्म विश्वसनीय र व्यावसायिक पत्रकारिताको अभ्यास देखिन्छ । यद्यपि अनलाइन मिडियाको उदयसँगै यसले थप चुनौतीको सामना गर्नुपरेको छ । छिमेकी भारतमा जनपक्षीय मिडियाको पूर्णतः अभावले सरकारका विज्ञप्तिहरूलाई मात्र समाचारको स्रोत बनाउने ‘गोदी मिडियाको’ बिगबिगी रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको महिमा गान गर्नु र उनको ‘नयाँ भारत’ अभियानको अंग बनी सरकारबाट बढीभन्दा बढी लाभ लिनु मात्र वर्तमानमा अधिकांश भारतीय मिडियाको उद्देश्य भएको छ ।
पाकिस्तान, श्रीलंका लगायत देशमा भने मिडिया स्थापनाकालदेखि नै कमजोर रहे । सैनिक शासन, धार्मिक कट्टरपन्थ, बलियो परिवारवाद लगायत कारणले यी देशमा व्यावसायिक र स्वतन्त्र मिडिया विकास नै हुन सकेन ।
राज्यको चौथो अंग मानिने आम सञ्चारमाध्यमको राष्ट्रिय महत्व र सार्वजनिक सरोकारका विषयमा जनतालाई सुसूचित गराउने जिम्मेवारी आमसञ्चारको रहन्छ । यसले सरकार, संवैधानिक निकाय, कर्मचारीतन्त्र र राजनीतिक दलहरूले गरेका वा गर्न सक्ने त्रुटिहरूबारे जनतालाई सुसूचित गराउँदछ । त्यसैले मिडियालाई सरकारको ‘वाच डग’ को रूपमा पनि लिइन्छ ।
लोकतान्त्रिक शासन प्रणालीको प्रभावकारिताका लागि मिडियाको अझै महत्वपूर्ण भूमिका हुन्छ । स्वतन्त्र एवम् व्यावसायिक मिडिया र जिम्मेवार नागरिक समाजले सरकारलाई पारदर्शी, जिम्मेवार र नतिजामूलक हुन सहयोग गरी लोकतन्त्रका प्रतिफल नागरिकमा पुर्याउन सहयोग गर्दछ ।
नेपालको सन्दर्भ र विश्वपरिवेशलाई समेत ध्यान दिंदा वर्तमान विश्वमा मूलधारका भनिने मिडियाका थुप्रै समस्या रहेका छन् । ती समस्यामध्ये केही प्रमुख समस्याबारे यहाँ चर्चा गरिन्छ ।
झूटा समाचार
मिडियाको सबैभन्दा ठूलो समस्या गलत वा झूटा समाचारहरू प्रकाशन÷प्रसारण हुनु हो । गलत समाचारहरूले एकातिर मिडियाको विश्वसनीयता कम हुँदै जान्छ भने अर्कोतिर जनतासम्म गलत जानकारी÷सूचना पुग्दछ । मिडियामा आएका समाचारकै आधारमा जनमानसले आफ्ना धारणा निर्माण गर्ने हुँदा यो विषय अत्यन्त जोखिमपूर्ण हुन्छ ।
कतिपय मिडियाले सचेततापूर्ण तरिकाले नै अमूक पक्षलाई फाइदा हुने गरी झूटा समाचार प्रकाशन गर्दछन् । कतिपय अवस्थामा आधिकारिक स्रोतसम्म पहुँचको अभाव, गलत सूचना तथा खोजमूलक पत्रकारिताको अभावले झूटा समाचारहरू प्रकाशित भएको पाइन्छ ।
ब्रेकिङ न्यूजको होड
‘ब्रेक’ गर्ने वा सबैभन्दा पहिले समाचार प्रकाशन÷प्रसारण गर्ने होडमा विश्वसनीय स्रोत र आधिकारिकता विनै समाचार प्रकाशन हुन्छन् । दुर्घटना, प्राकृतिक विपद्, आन्दोलन, झडप आदिको बेलामा मानवीय संवेदनालाई समेत ध्यान नदिई समाचार श्रव्य–दृश्य प्रकाशन हुन्छ । विपद् र दुर्घटनाको बेलामा मृतकको संख्या समेत बढाइचढाइ गरेर प्रकाशन गरिन्छ । कतिपय अवस्थामा त मृतकको रूपमा पत्रिकामा नाम प्रकाशित भएको व्यक्ति जीवितै रहेको पनि पाइएको छ । विशेषगरी ब्रेकिङको होड अनलाइन मिडिया र टेलिभिजनमा अझ बढी पाइन्छ ।
डाटा म्यानुपुलेशन
साधारणतया सरकारले आफ्ना उपलब्धि बढाइचढाइ गर्न डाटा म्यानुपुलेशन गर्दछन् । आर्थिक वृद्धि, बजेट खर्च, निर्यात, उत्पादन जस्ता विषयमा सरकारको उपलब्धि देखाउनलाई डाटा म्यानुपुलेशन गरिन्छ। मिडियाले समेत अमूक दलको सरकारलाई समर्थन वा विरोध गर्न यसरी तथ्यांकको तोडमोड गर्ने गरेको पाइन्छ ।
सनसनीपूर्ण समाचार
हत्या, दुर्घटना, बलत्कार, झडप जस्ता नकारात्मक विषयका समाचारले मिडियामा अधिक स्थान पाउँदछन् । साधारण प्रकृतिका विषयलाई पनि सनसनीपूर्ण तरिकाले प्रस्तुत गर्दछन् । पत्रिकाका केही बढी प्रति बिकाउन वा टेलिभिजन कार्यक्रमको टीआरपी बढाउन समाचारलाई बढी नै नाटकीय रूपमा प्रस्तुत गरिन्छ । युट्युब र अनलाइनहरूमा भित्रको समाचार भन्दा भिन्दै र सनसनीपूर्ण शीर्षक राखेर ‘भ्यू’ बढाउने होडबाजी चलेको देखिन्छ ।
महत्वपूर्ण विषय छायामा
नेपालमा पत्रिकाका अधिकांश पेजहरू राजनीतिक समाचारले भरिएका हुन्छन्। अविकसित÷विकासशील देशको मिडियामा यो प्रवृत्ति आम रूपमा पाइन्छ। मुख्य समाचार र अग्रपेज सधैं राजनीतिक विषयसँग सम्बन्धित हुन्छन् । टेलिभिजनका ‘टक शो’ हरूमा सधैं राजनीतिकर्मीहरू नै पाहुना हुन्छन् । यसरी राजनीतिले मात्र मुख्य कभरेज पाउँदा वातावरण, शिक्षा, स्वास्थ्य, कला–संस्कृति, उद्यमशीलता लगायत महत्वपूर्ण विषय छायाँमा पर्दछन् । फोहोर र अस्थिर राजनीति भएको हाम्रो जस्तो देशमा अन्य महत्वपूर्ण क्षेत्रका सकारात्मक विषयहरू समाचार नबन्दा युवा पुस्तामा निराशा र नकारात्मक मनोवृत्तिको विकास भएको पाइन्छ ।
खोजमूलक समाचार र फलोअपको अभाव
मिडियाले गहन र महत्वपूर्ण विषयमा विषयवस्तुको गहिराइमा पुगेर समाचार तयार पारेको पाइँदैन । खोजमूलक समाचार तयार पार्न स्रोतसाधन बढी आवश्यक पर्दछ। यसैगरी पत्रकारहरूमा समेत उच्च व्यावसायिकता आवश्यक पर्दछ । मिडिया हाउसमा भौतिक तथा आर्थिक स्रोतसाधनको न्यूनता र उच्च पेशागत सीप भएका जनशक्तिको अभावले राम्रा समाचार तयार हुँदैनन् ।
यसैगरी एकपटक प्रकाशित भएको समाचार वा उजागर गरेको समस्याको विषयमा पुनः के कसो भैराखेको छ भनेर खोजबिन गरेको पाइँदैन । फलस्वरूप समस्या उजागर त हुन्छ तर समाधानको लागि पर्याप्त दबाव पुग्दैन ।
राजनीतिक पक्षधरता
नेपाल जस्तो राजनीतिक रूपमा विभाजित समाजमा मिडियाहरू समेत फरक–फरक राजनीतिक दल वा समूहसँग नजिक रहेर उसैको स्वार्थको पक्षपोषण गरेको पाइन्छ । हाम्रो देशका मूलधारका मिडियाले आफू नजिकको राजनीतिक दल सत्तामा हुँदा सरकारको अन्ध समर्थनमा समाचार लेख्ने र विपक्षमा हुँदा सरकारको खरो विरोधमा समाचार लेख्ने गर्दछन् ।
उनीहरूको समर्थन र विरोध तथ्यमा आधारित रहेको पाइँदैन कतिपय सम्पादकहरूले मिडिया मार्फत दलहरूलाई सहयोग गरेकै आधारमा पार्टीको केन्द्रीय कमिटीमा मनोनीत या लाभका पदमा नियुक्ति हुने गरेको पाइन्छ ।
कर्पोरेट हाउसको प्रभाव
मिडियाको आम्दानीको मुख्य स्रोत कर्पोरेट हाउसहरूले प्रदान गर्ने विज्ञापन हुन् । आफ्नो मिडियालाई निरन्तर रूपमा विज्ञापन उपलब्ध गराउने व्यवसायीका खराब समाचारहरू मिडियाले प्रकाशन÷प्रसारण गर्दैनन् । सो गरेमा उनीहरूबाट विज्ञापन नपाउने र मिडियाको आम्दानी घट्ने डर उनीहरूमा हुन्छ । बजार अनुगमन वा अन्य अवसरमा भेटिएका अखाद्य वस्तुहरूको बारेमा केही मिडियामा लगातार समाचार आउनु तर सोही समयमै अर्को मिडियामा समाचार नआउनुबाट यो विषय स्पष्ट हुन्छ ।
ब्रगेल्ती अनलाइन–नियमनको अभाव
मान्छेहरूको हातहातमा मोबाइल र इन्टरनेट हुँदा अनलाइन मिडियाहरू ब्रगेल्ती खुलेका छन् । जिल्लामा हरेक पत्रकारसँग एउटा अनलाइन समाचार संस्था दर्ता भएको हुन्छ । तर यी अनलाइनको काम समाचार प्रकाशन गर्नु भन्दा पनि विज्ञापन र ‘पेड न्यूज’ प्रकाशन गर्नु हो । कतिपय अनलाइनहरू हप्तौंसम्म अपडेट भएका हुँदैनन् ।
दशैं–तिहार, नयाँ वर्ष र यस्तै विज्ञापन पाउने समयमा मात्र अपडेट हुन्छन् । विज्ञापन वा अनुचित लाभको लागि बार्गेनिङ गर्ने र सो कुरा प्राप्त गर्न नसकेमा व्यक्तिगत स्तरमै तल्लो तहसम्म झरेर समाचार बनाउने गरेको पाइन्छ । कतिपय अवस्थामा दर्ता विना नै अनलाइनहरू सञ्चालनमा रहेको पाइन्छ । तर अनलाइन मिडियाको उचित नियमन भएको पाइँदैन ।
पत्रकारहरूमा पेशागत दक्षताको अभाव
पत्रकार हुनको लागि कुनै निश्चित शैक्षिक योग्यता र अनुभवको खाँचो पर्दैन । यसले गर्दा योग्य र अयोग्य दुवैथरी व्यक्तिहरू पत्रकारितामा प्रवेश गरेका छन् । शैक्षिक योग्यता र तालिमको अभावमा उनीहरूको थप पेशागत विकास हुनसकेको छैन । उनीहरूमा समाचार लेखनदेखि लिएर पत्रकारका आचारसंहिता र व्यावसायिकता लगायत विषयमा समेत आधारभूत ज्ञानको अभाव छ ।
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन नहुँदा पत्रकारहरूको पेशा सुरक्षित छैन । मोफसलमा विद्यार्थी, नेता, शिक्षक, निर्माण व्यवसायी, व्यापारी आदि विभिन्न पेशामा संलग्न व्यक्ति पत्रकारका रूपमा कार्यरत छन् । फलस्वरूप निजहरूले अँगालेको अर्को पेशा व्यवसायको प्रभाव उनीहरूले प्रेषित गर्ने समाचारमा पर्दछ ।
मिडियाको काम सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशित गरी जनतालाई सुसूचित गराउनु हो । व्यावसायिक र निष्पक्ष सञ्चार क्षेत्र विना सो कुरा सम्भव छैन । नेपालमा आमसञ्चारको क्षेत्रमा देखिएका समस्याको निराकरणको लागि पत्रकारका पेशागत संगठनहरू, मिडिया हाउस, प्रेस काउन्सिल, नेपाल सरकार लगायत सम्बन्धित सबै पक्षले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ ।
उल्लेखित पक्षहरू बीच उचित समन्वय र सहकार्य समेत आवश्यक पर्दछ । सबै सरोकारवालाहरूको सामूहिक पहलद्वारा आमसञ्चारको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकेमा स्वतन्त्र र विश्वसनीय मिडियाको विकास हुन गई यसले वास्तविक रूपमा सरकारको ‘वाच डग’ को भूमिका निर्वाह गर्न सक्दछ ।
Discussion about this post