बिर्तामोड, १० बैशाख । मिक्लाजुङ गाउँपालिका मोरङ झापाको बिर्तामोडमा जारी प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माविको मैदानमा भएको खेलमा महमाई एकता क्लब इलामलाई १ –० गोल अन्तरले पराजित गर्दै मोरङको मिक्लाजुङ गाउँपालिकाको टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।
बिर्तामोड–१० स्थित सैनिकमोडको ‘अल इन वान’ क्लबलको आयोजनामा भइरहेको प्रतियोगितामा मिक्लाजुङका लागि पुर्णिमा राईले खेलको ८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
विपक्षी खेलाडीले डि–एरिया भित्र मिक्लाजुङकी खेलाडी सम्झना बेघालाई लडाएपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै उनले टिमका लागि एक गोल गरेकी थिइन् ।
खेल अवधीभर दवाबमा परेको महमाईले भने गोल स्कोर गर्न सकेन् । मिक्लाजुङले पाएको पेनाल्टी प्रहारको अवसर उसका लागि दुर्भाग्य बन्यो । उत्कृष्ट खेल प्रदर्शन गरेको मिक्लाजुङले गाले गर्ने थुपै्र अवसर पाए पनि महमाईकी गोल रक्षक पवित्रा लिम्बुले विफल पारिदिएकी थिइन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी महमाईकी गोल रक्षक लिम्बु ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाइन् । उनलाई बिर्तामोड–१० का वडाअध्यक्ष दुर्योधन गुरुङले पुरस्कार प्रदान गरे ।
१६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कारसहित ट्रफी, मेडर र प्रमाणपत्र पाउने आयोजक संस्था ‘अल इन वान’ क्लबलका अध्यक्ष कृष्ण योञ्जनले जानकारी दिए ।
सोमबार नमोबुद्ध युवा क्लब सप्तहरी र ताप्लेजुङ महिला फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।
झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमको सहभागिता रहेको आयोजकले बताएको छ ।
Discussion about this post