काँकरभिट्टा, ६ असार । मेचीनगरमा लागूऔषध नियन्त्रणका जतिसुकै अभियानहरु चलाएपनि रोक्न नसकिने सरोकारवालाहरुको बुझाई रहेको छ ।
इलाका प्रहरी कार्यालय र मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाले आयोजना गरेको लागूऔषध ओसारपसार नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमका वक्त्ताहरुले जतिसुकै अभियानहरु चलाएपनि रोक्न नसकिन धारणा व्यक्त गरेका हुन् ।
‘लागूऔषध नियन्त्रणका लागि अभियान चलाएर मात्र हुँदैन’ सामाजिक अभियन्ता अर्जुन राईले भने–‘यसलाई मुद्दा बनाएर लानु पर्छ । दरो मुद्दा बनाएर लगे मात्र न्युनिकरण गर्न सकिने छ । क्रस बोडर वैठकलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्छ ।’
स्कुल, कलेजहरुमा लागूऔषध न्युनिकरण सम्बन्धी पुस्तक प्रकाशन गरेर विद्यार्थीहरुलाई हप्तामा २ पटक पढाउन सके केहि हदसम्म न्युनिकरणमा टेवा पुग्ने राईको भनाई छ ।
अर्का अभियन्ता भीम लुईटेलले पहिलाको भन्दा अहिले मेचीनगर लागूऔषध प्रयोगकर्ता र ओसारपसारको मुख्य अखडा बनेको बताए ।
‘पहिला भारतको पानीट्याङकीबाट गाँजा, कोरेक्स र टेबलेट मात्र ल्याउने गरेका थिए’, उनले भने–‘अहिले ब्राउनसुगर जताततै पाइन्छ । अहिले युवापीडि ब्राउनसुगरको लतमा फसेका छन् । स्कुल, कलेज र गाउँघरमा यसबारेमा सचेतना नजगाए स्थिति भयावह छ ।’
मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओलीले यहाँका युवाहरु लागूऔषध फस्नुको मुख्य कारण खुल्ला सीमा नाका भएको दावी गरे । उनले पाँच विगाहा जग्गामा लागूऔषधमा फसेकाहरुको संरक्षणका लागि उपचार केन्द्र बनाउनु पर्ने बताए । त्यसका लागि ५० लाख बजेट सुरुमानै छुट्टाउनु पर्ने उनको धारणा थियो ।
भारतको पानीट्याङकीमा वर्षौँदेखि नेपालीलाई खुलेआम लागूऔषध बिक्री वितरण गरिरहेको छ । पानीट्याङकीका औषधि पसलेलाई कसले कारवाही गर्ने, दिनहुँ नाकाबाट लागूऔषध नेपाल भित्रिरहेको छ कस्ले समात्ने यी विषयमा केन्द्रस्तरबाट पहल गर्न आवश्यक रहेको सरोकारवालाको भनाई छ ।
मेचीनगर–४ को बाहुनडाँगी, वडा नम्बर १ को गाडागल्ली, वडा नम्बर ७ को टोकला चिया बगान छेउ काली मन्दिर, सतिघट्टा, वडा नम्बर ६ को नकलबन्दा, बर्मेली टोलको खानेपानी ट्याङकी छेउ, मेचीपुल लगायतका स्थानमा लागूऔषध ओसारपसार, कारोवार र प्रयोगकर्ताको मुख्य अखडा रहेको बताइएको छ ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक व्यक्तित्वहरु गोविन्द घिमिरे, राजु कार्की, गोविन्द गिरी, शुभद्रा भट्टराई, शुवर्ण भट्टराई, खडानन्द भण्डारी, गणेशकुमार खरेल, फडिन्द्र घिमिरे लगायतले लागूऔषध ओसारपसार, कारोवार र प्रयोगकर्ताको समस्या र समाधानका विषयमा धारणा राखेका थिए ।
यी स्थानहरुको जानकारी हुँदा समेत त्यस क्षेत्रमा काम गर्ने संघ–संस्था, प्रहरी प्रशासन रमिते बन्ने गरेको स्थानीयबासीको आरोप छ ।
कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दीपक भारती र मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।
Discussion about this post