झापा, २ भदौ । मेचीनगरका युवा लेखक निरोज कट्टेलद्वारा लिखित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ पुस्तक शनिबार काठमाडौंमा विमोचन भएको छ ।
आज सो पुस्तकको विमोचन नेकपा एकीकृत समाजबादीका महासचिव घनश्याम भुसाल, नेकपा समाजबादीकी केन्द्रीय सदस्य मानुषी यमी र कान्तिपुर दैनिकका पूर्व सम्पादक सुधीर शर्माले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा भुसाल, यमी र शर्माले पुस्तक र समसामायिक राजनीतिक विषयका बारेमा चर्चा गरेका थिए ।
विमोचन कार्यक्रम काठमाडौँ स्थित मण्डला थिएटर थापागाउँमा भएको थियो । कार्यक्रमको उद्घोषण रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईले गरेका थिए ।
कार्यक्रममा पुस्तक प्रकाशनको जिम्मा लिएको बेला पब्लिकेसन्सका विनोदविक्रम केसी लगायत श्रष्ठाहरुको उपस्थिति रहेको थियो ।
ज्यामिरगढी निवासी लेखक कटेल क्षेत्रीय पर्यटन कार्यालय काँकरभिट्टाका सूचना अधिकारी समेत हुन् । झापा विद्रोह सुरु भएको ज्यामिरगढी नै भएका कारण पनि लेखकलाई यो विषय उठान गर्न सहज भएको थियो । तर, अर्को पाटोबाट हेर्दा एमालेबाट फुटेर गएको एकीकृत समाजवादी पार्टी निकट कर्मचारी संगठनका नेतासमेत भएका कारण चुनौतिहरु पनि निक्कै थिए ।
झापा विद्रोहमा विद्रोहीबाट मारिने पात्रहरुका विषयमा खोज र अनुसन्धान गर्न लेखकलाई ८ वर्ष लाग्यो । त्यो चानचुने कुरा थिएन । विद्रोहीबाट मारिएकाहरु मध्ये सुखानीमा मारिने झापा विद्रोहका शहिद वीरेन्द्र राजवंशी र विद्रोहीबाट मारिएका कर्णबहादुर गौतमका विषयमा अध्ययान गर्न समस्या परेन । तर, यस्ता थुप्रै पात्रका विषयमा लेखकलाई गहन अध्ययान गर्न त्यति सजिलो थिएन ।
झापा विद्रोहका नेताहरुले भारत पश्चिम बंगालको नक्सलवादी आन्दोलनबाट प्रभावित भएर सुरु गरेका थिए । लेखक पात्रहरू खोज्दै जाँदा नक्सलवादीसँगै पश्चिम बंगालका गाउँहरू पुगेर त्यसका विषयमा खोजी गरे ।
उनी भन्छन्–‘राज्य र विद्रोहबाट पीडित भएका मान्छेहरूको इतिहास हो । यो पुस्तक तिनै भुइँका पात्रहरूको भोगाइको आधारशिला हो ।’
झापा विद्रोहका बेला सेल्टर दिने, खाना खुवाउने, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने भुईमान्छेहरुको समुह आन्दोलनमा होमिएको थियो । विद्रोहीबाट मारिएकाहरू, अनि धेरै जेलजीवन बिताएका जीवित पात्रहरु कोहि सत्तामा पुगे, कोहि गुमनाम भए ।
एक छाकमात्र खाएर आन्दोलन गर्ने ती पात्रहरुको योगदानले यो अवस्था आएको छ । त्यस बेलाको आन्दोलनले अहिले भुईमान्छेहरूको मुक्ति भयो कि भएन भन्ने विषयलाई लेखकले केन्द्रमा राखेर उठान गरेको देखिन्छ । लेखकको पुस्तक प्रकाशन गर्नुको मुख्य उद्देश्य पनि यहि हो भन्ने आम पाठकको बुझाई छ ।
Discussion about this post