रोङ, ४ भदौ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले इलामको रोङ गाउँपालिका–२ मा रहेको शान्तिपुर माविका बालबालिकाहरुलाई ट्र्याकसुट वितरण गरेको छ ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले संस्थाको सामाजिक उत्तरदायित्व निर्वाहा गर्दै रोङ गाउँपालिकाको सहजीकरणमा उक्त सहयोग गरेको हो ।
रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) को प्रमुख आतिथ्यमा विद्यालय परिसरमा आइतबार आयोजित विशेष कार्यक्रममा कक्षा १ देखि ७ सम्म अध्ययन गर्ने ६३ जना नियमित विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ ।
कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान, सचिव भूपाल बस्नेत, सञ्चालक समिति सदस्य गुञ्जन थापा, विभागीय प्रमुखहरु मनहरि निरौला र लक्ष्मीनारायण भट्टराईले संयुक्तरुपमा सो सामग्री विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा रोङ गाउँपालिका–२ को तर्फबाट वडाध्यक्ष चन्द्रशेखर घिमिरेले विद्यालयका लागि एकथान नेटसहितको भलिबल र एकथान फुटबल हस्तान्तरण गरे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष स्याङ्बोले चालू आर्थिक वर्षभित्रै नीति बनाएर विद्यार्थीमाझ दैनिक एक रुपैयाँ बचत कार्यक्रम सञ्चालन गर्ने जानकारी गराए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया खवास, वडा नम्बर २ का वडाध्यक्ष घिमिरे, शिक्षा शाखा प्रमुख श्रुतीकुमारी तामाङले शिक्षा क्षेत्र र सहकारीको तर्फबाट भएको सहयोगको प्रशंसा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्तिमाया राईको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत शिक्षक चन्द्र लकान्द्रीले र सञ्चालन विद्यालयका शिक्षक पृथ्वी कार्कीले गरेका थिए ।
Discussion about this post