झापा, १९ भदौ । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् झापा इञ्चार्ज विशाल भट्टराईले दृष्टिकोण नभएका दलहरु विस्तारै कमजोर भएर जाने बताएका छन् ।
आज बिर्तामोडमा प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको जिल्लास्तरीय प्रचार भेलामा उनले एमाले विरुद्ध जस्तोसुकै षडयन्त्र रचिए पनि दृष्टिकोण नभएका दलहरुले गरेको षडयन्त्र सफल नहुने दावी गरे ।
उनले एमाले जनताको सर्वाधिक रुचाइएको पार्टी र जनताको भरोसाको पार्टी भएकाले सबैखाले एमाले विरोधी गतिविधि असफल हुने बताए ।
झापाका अगुवा पत्रकारहरुको सहभागिता रहेको भेलामा प्रमुख अतिथि समेत रहेका इञ्चार्ज भट्टराईले एमाले विरुद्धको षडयन्त्र तोड्न एकतावद्ध ढंगबाट प्रतिकार गर्नुपर्ने बताए । एमालेले गल्ति गरेको अवस्थामा जोगाउनु पर्दैन, तर षडयन्त्रको सशक्त प्रतिकार गर्न तयार हुन आग्रह गरे ।
प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको फाइल खोल्ने धम्की दिदैं एमालेको मुद्धा खोजिरहेको उनको भनाई थियो । सरकारको अहिलेको गतिविधि भ्रष्टाचार विरुद्धको अभियान होइन, एमालेलाई सिध्याउन पाइन्छ कि भन्ने अभियान मात्रै हो । तर, एमाले कहिकतै चुकेको छैन, चुक्दैन । एमाले संस्थागत रुपमा भ्रष्टाचार विरुद्ध उभिएको पार्टी भएको उनको भनाई छ ।
भेलामा पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले जिल्लाको प्रचारप्रसारलाई व्यवस्थित गर्दै जाने प्रतिवद्धता जनाए । उनले पालिका तहमा प्रचार विभाग व्यवस्थापन गरेर पार्टीको प्रचार व्यवस्थित गर्ने बताएका हुन् ।
प्रेस चौतारीका कोशी प्रदेश इञ्चार्ज गणेश पोखरेल, झापा पार्टीका उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुंगेलसहित कार्यक्रममा प्रेस चौतारी र प्रचार विभागमा आवद्ध सदस्यहरुले प्रभावकारी प्रचार प्रसार र सामाजिक सञ्जालको प्रयोगका बारेमा सुझाव दिएको विभाग प्रमुख गोपाल काफ्लेले बताए ।
Discussion about this post