मानेभञ्ज्याङ (भारत), १४ असोज । सातौँ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको उद्धघाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो ।
जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे । धरानका पदम भट्टराईले सान्तवना गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा ४ गोल निस्किएको हो । दुवै टिममा सहिद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीहरुको बाहुल्यता रहेको थियो ।
प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा रेडहर्र्स इलाम र चाँद एफसी तीनधारेबीच प्रतिस्पर्धा हुनेछ । आगामी अक्टोबर १५ (असोज २८) गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख (भारु ५ लाख) र उपविजेताले ४ लाख (भारु २ लाख ५० हजार) प्राप्त गर्नेछ ।
प्रतियोगितामा नेपालका ५ क्लब र भारतका ११ क्लब सहभागी छन् । मानेभञ्ज्याङ फुटबल क्लबले विगतका बर्षहरुदेखि अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल–भारत सीमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
Discussion about this post