झापा, १८ असोज । अलैचीले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने भए तापनि विभिन्न समस्याले नेपालमा यसको खेती तथा व्यापार संकटमा पर्दै गएको व्यवसायीहरुको गुनासो छ ।
नेपाल अलैची व्यवसायी महासंघले बुधवार बिर्तामोडमा आयोजना गरेको छलफल कार्यक्रममा अलैची व्यवसायीहरुले सो गुनासो गरेका हुन् ।
महासंघले अलैची व्यवसायसँग सम्बन्धित गुनासो र माग समेटिएको ज्ञापन पत्र संघीय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयकी सहसचिव सबनम शिवाकोटीलाई बुझाएको छ ।
वैदेशिक मुद्रा आर्जनको मुख्य श्रोत मानिएको अलैचीको निर्यात व्यापार खस्किन नदिन यसको खेती, प्रशोधन र बजारमा सरकारले बेलैमा ध्यान दिनु पर्ने महासंघको १४ बुँदे ज्ञापन पत्रमा उल्लेख छ ।
पछिल्लो समय नेपाली अलैंचीको उत्पादन घटेको र बजार मूल्यमा गिरावट आइरहेको जनाउँदै नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले अलैंची खेती तथा व्यवसायमा रहेका समस्याहरुको हल गरिदिन मन्त्रालयलाई आग्रह गरे ।
“‘खोल्सीको सुन’ भनेर विश्वमा प्रख्यात अलैंचीमा लागेको रोग नियन्त्रण हुन नसक्नु, समयमा किसानलाई प्राविधिक सेवा उपलब्ध गराउन नसक्नु र सिञ्चाई सुविधाको अभाव हुनु नै उत्पादन बढ्न नसक्नुको मुख्य कारण हो,” अध्यक्ष भट्टराईले भने–“उत्पादनदेखि बजारसम्म देखिएका समस्या समाधानका लागि एउटा मात्र निकाय लागेर नपुग्ने अवस्था आएको छ ।”
अलैंचीका समस्या सम्बोधन गर्न स्थानीय, प्रदेश र संघीय तीनै तहमा अलैंची सम्बन्धी कुनै पनि नीति र कानुन नबनेको अध्यक्ष भट्टराईको आरोप छ ।
अलैंचीको भण्डारण गर्ने गोदाम घरहरू निर्माण गर्ने, अलैंचीको महोत्सव सञ्चालन गर्ने, अलैंचीको बजारीकरणका लागि विविध कार्यक्रम सञ्चालन गर्ने रणनीति बनाउन महासंघले ज्ञापनपत्र मार्फत सरकारलाई आग्रह गरेको छ ।
सहसचिव शिवाकोटीले अलैंची किसान तथा व्यवसायीले उठाएका माग र समस्याको समाधान गर्न मन्त्रालयले सम्बद्ध निकायमा छलफल चलाउने आश्वासन दिइन् ।
“निर्यात व्यापारमा प्रमुख हिस्सा ओगटेको नेपाली अलैचीको खेती र व्यवसायमा उत्पन्न समस्याहरु धेरै रहेछन्,” उनले भनिन्–“नेपाल अलैची व्यवसायी महासंघले अलैचीको उत्पादन र व्यापार प्रवर्धनमा खेलेको भूमिका सराहनीय छ । कसरी समस्याहरुको हल गरेर अन्तर्राष्ट्रिय बजारमा हाम्रो मुलुकको अलैचीलाई उच्च गुणस्तरयुक्त रुपमा पहिचान दिन सकिन्छ भनेर सरकारले पहल गर्नेछ ।”
नेपालको अलैंची गुणस्तर र उत्पादनका दृष्टिले विश्व बजारमा पहिलो मानिँदै आएको भए पनि भारतीय बजारको विकल्प खोज्न नसक्दा व्यवसायीहरु जहिल्यै सकसमा पर्ने गरेको अलैची निर्यातकर्ता ओमकृष्ण विमलीले बताए । अलैंची उत्पादकदेखि निर्यातकर्तासम्मका समस्यालाई सम्बोधन गर्न अलैंचीको तेस्रो बजार खोज्न ढिला भइरहेको उनको धारणा थियो ।
कृषकहरूमा प्राविधिक ज्ञानको कमी, अलैंची सुकाउने आधुनिक भट्टीको अभाव, सिञ्चाइको अभाव, मल–बिउको अभाव, जिल्ला तथा केन्द्र तहमा अलैंचीको गोदामघर अभाव, गैरकानुनी तथा दोहोरो कर संकलन, मूल्यको उतार–चढाव, पछिल्लो समयमा भारत तथा भुटानमा तीव्र रूपमा अलैंची खेती विस्तार हुनु, विश्व बजारमा नेपाली अलैंचीको आफ्नै पहुँच पुग्न नसकेर भारतीय बजारमा मात्र निर्भर रहनु मुख्य चुनौती भएको महासंघका महासचिव नारायणप्रसाद चिमरियाले बताए ।
अलैंची खेतीबाट वार्षिक ८ हजार मेट्रिक टनभन्दा बढी तयारी अलैंची उत्पादन हुने, त्यसमध्ये ५ प्रतिशत नेपालमा खपत हुने र बाँकी भारत तथा तेस्रो मुलुकमा निर्यात भई वार्षिक १० अर्ब विदेशी मुद्रा आर्जन हुँदै आएको छ ।
अलैंचीको बजार विस्तारका लागि स्वदेशमै यसको खपत बढाउने अभियान सञ्चालन गर्नुपर्ने महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले जोड दिए । ढुंगानाका अनुसार हाल नेपालको ५२ वटा जिल्लामा १७ हजार हेक्टर जमिनमा अलैची खेती विस्तार भइसकेको छ ।
Discussion about this post