मेचीनगर, ४ मंसिर । आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ पर्व सकिएको छ ।
आज विहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि छठ पर्व विधिवत रुपमा सकिएको हो ।
यहि मंसिर १ गतेदेखि चार दिनसम्म विधिविधान पूर्वक पूजा आराधना गरेर छठ पर्वको आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएर यस वर्षको छठ पर्व सम्पन्न भएको छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित आदि देव सूर्यको उपासना गरी श्रद्धापूर्वक छठ पर्व मनाइन्छ । छठ पर्वका अवसरमा नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ ।
छठपर्वको पहिलो ब्रतालुले नुहाएर अरबा अरबाईन भोजन गरेका थिए । दोस्रो दिन साँझ चाकुमल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादको रुपमा चढाउँदै ग्रहण गरेका थिए ।
तेस्रो दिन हिजोअस्ताउँदो सूर्यलाई पूजासमाग्रीसहित अर्घ्य दिएका थिए । चौथो दिन सोमबार उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्व विधिवत समापन भएको छ ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिनलाई पारन भनिन्छ । यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ ।
त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवम् विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवतालाई चढाउने गरिन्छ ।
यहि मंसिर १ गतेदेखि सुरु उक्त छठ पूजा ४ गते समापन भएको छ । १ गते नहाय खाय, २ गते खरना, ३ गते संन्ध्या अर्ग र मंसिर ४ गते आज (सोमबार) पारन पूजा गरेर समापन गरिएको धुलाबारी छठ पूजा समितिका पूर्व अध्यक्ष शिवशंकर साहले बताए ।
निन्दा नदीको घाटमा करिव २५ जना पहाडी समुदायले पनि मधेशी समुदायसँगै पूजा आराधना गरेर छठ पर्व मनाएको साहले जानकारी दिए ।
विगतमा तराई मधेशका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो समय पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।
यसपटक झापाको दमक, विरिङ, भद्रपुर र मेचीनगरको मेची खोला, निन्दा खोला लगायतका खोलामा मधेशी समुदायसँगै पहाडीयाहरुले पनि छठ पर्व उत्साहका साथ मनाएका छन् ।
Discussion about this post