मेचीनगर अनलाइन आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । पाठकहरुसँग यो खुसी साट्न पाउँदा हामी निकै उत्साहित छौँ । एक वर्षमा पाठक र विज्ञापन दाताहरुबाट पाएको न्यानो माया, हौशला, विश्वास र खबरदारी हाम्रो सम्पत्ति हुन् । यसको निरन्तरताको पक्षमा छौँ ।
यसको प्रकाशन सुरु गर्दा मुख्य त हामी पत्रकारिता तटस्थ र निष्पक्ष गर्ने पक्षमा थियौँ र अहिले पनि छौँ । हामीले आफूलाई निरन्तर समावेशी लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, नागरिकका मौलिक हक, मानवअधिकार, सुशासन र भुईमान्छेका पक्षमा उभ्याउने प्रयत्न गरिरहेका छौँ ।
देशले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको छ । एउटा संघीय सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकारबाट संविधानको कार्यान्वयन गरिरहेको अवस्था विद्यमान छ । ती सरकारहरुसँगै नेपाली समाजका अपेक्षाका चाङहरु पनि धेरै छन् । घोषणा गरिएका वाचा, अपेक्षा र आवश्यकताको फिउँजन कसरी मिलाउने सबैको चासोको विषय छ ।
हामी सम्भव भएसम्म तीनै तहका सरकारका काम कारवाहीप्रति चनाखो र निगरानी गरिरहेका छौँ । उनीहरुले गरेका काम कारवाही पाठकहरु माझ सूचित गर्ने कार्य भइरहेको छ । आगामी दिनमा पनि स्वतन्त्र र सत्ताको प्रतिपक्षी भूमिकाकै रुपमा सतिशालको रुख जस्तै भएर ठिंग उभिनेछौँ भन्ने विश्वास पाठकहरुलाई राख्न चाहन्छौँ ।
मिटरव्याज पीडित, किसान, मजदुर, स्थानीय वा संघीय कर्मचारी लगायतका समस्या, सत्ताबाट सिर्जित बहस वा सडकमा लागेका नारा । हामी आफ्नो विवेकले सही ठहर्याएको मुद्दाका पक्षमा उभियौँ, र सधै त्यसैका पक्षमा डटेर लाग्ने प्रण गर्दछौँ । देशमा अहिले समृद्धिको चर्को बहस पनि चलिरहेको छ । समृद्ध नेपालको प्रयत्नप्रति हाम्रो पनि साथ छ । तर, अहिले जसरी समृद्धिको बहस चर्चामा आइरहेको छ, त्यसप्रति हामी सजग छौँ ।
एउटा राजा हटे पनि अहिले मुलुकमा धेरै छोटे राजाहरुको जन्म भएको छ । जनतालाई रैती वा दास नसम्झ । राम्रो काम गरे हाई हाई हुनेछौँ नत्र जुत्ताको माला लगाउन पनि तयार हुनु पर्ने दिन आउन सक्छ । छोटे राजाहरु शासक होइन जनताको साथि बनेर जनमुखी काम गर । त्यसमा हाम्रो पनि साथ र सहयोग रहनेछ ।
त्यसो त कर्मचारीहरु पनि दोषी छैनन् भन्ने कुरा होइन । राणाशासन होस्, पञ्चायती शासन । अहिले पनि कर्मचारीहरुको मुलुकमा रजगज छ । नियमपूर्वक आएका फायल नरोक, सेवाग्राहीलाई दुःख नदेउ । हुन्छ भने हुन्छ भन्दिने, हुँदैन भने यो कारणले हुँदैन भनेर प्रस्टसँग भन्दिने । जबसम्म यो देशका कुनै पनि समुदायले आफूलाई दोस्रो दर्जाको नागरिक महसुस गरी नै रहनुपर्ने हुन्छ; तबसम्म राज्यसँग हाम्रा प्रश्न सोझिरहनेछ ।
हाम्रा यस्तै कर्महरुले नै हामीलाई पाठकमाझ विश्वसनीय अनलाइनका रुपमा उभ्याएको हाम्रो ठहर छ । अझै यो अनलाइनलाई भुईमान्छेको बनाउने हाम्रो प्रयास जारी नै छ । हामी आवाज विहीनहरुको पक्षमा वकालत गर्नेछौँ । त्यसका लागि विगतमा जस्तै स्वतन्त्र, जिम्मेवार, जवाफदेही र भयरहित पत्रकारिता हाम्रो मुख्य अभियान हुनेछ ।
यो एक वर्षे यात्रामा मेचीनगर अनलाइन सम्झना योग्य रह्यो । यो अभियानलाई साथ र निरन्तर सहयोग गर्ने देश–विदेशमा रहनुहुने सम्पूर्ण शुभेच्छुक महानुभावहरुप्रति हार्दिक आभारसहित शुभकामना ।
Discussion about this post