मेचीनगर, ६ चैत । नेपाल भेनियर उत्पादक संघले भेनियर उद्योगबाट उत्पादित कोर भेनियर (भेनियर पाता) भारत निकासी कर वृद्वि गरेकोमा चिन्ता व्यक्त गरेको छ ।
मंगलबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा बिर्तामोड केन्द्रीय कार्यालय रहेको नेपाल भेनियर उत्पादक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा कर घटाउन माग गरेको हो ।
नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दिपक पाण्डेले भेनियर पाताको भारत निकासी गर्दा दैनिक २ करोडको कारोवार भइरहेको बताए । राज्यलाई त्यति रकमको कारोवार हुँदा ४५ लाख रुपैयाँ कर तिरिरहेको उनको दावी छ । ‘भेनियर पाताको भारत निकासी कर प्रति केजी ६ रुपैयाँ छ’, अध्यक्ष पाण्डेले भने–‘यसलाई घटाएर ३ रुपैयाँ गर्नुपर्छ ।’
विगतमा प्लाईउड उद्योगहरुलाई चाहिने कच्चा पदार्थ (भेनियर पाता) भेनियर उद्योगबाट लादै आएका थिए । पछिल्लो समय प्लाईउड उद्योगहरुलाई भेनियर पाता लान कम गरेका छन् ।
अहिले अधिकांश प्लाईउड उद्योगहरुले आफै भेनियर पाता उत्पादन गर्न थालेको पाण्डेको भनाई छ । जस्ले गर्दा भेनियर उद्योगहरु संकटमा परेका छन् । २० प्रतिशत प्लाईउड उद्योगहरुले मात्र अहिले भेनियर पाता लिने गरेको संघको बुझाई छ ।
नेपालका पहाडी जिल्लाहरुमा उत्पादन हुने उत्तिस, मलातो, मौवा, कदम, पिठारी लगायतका सढेर जाने कमसल प्रजातिका काठहरुलाई कच्चा पदार्थका रुपमा उपयोग गरेर भेनियर पाता प्लाईउड उद्योग तथा भारत निकासी भइरहेको छ ।
‘हामीले उत्पादन गरेका भेनियर पाता नेपालमा बिक्री हुन छाडेपछि भारत निकासी गर्न बाध्य भएका छौँ । नेपालमा १५० वटा भेनियर उद्योग सञ्चालनमा छन् । ८० हजार बढी मजदुरले रोजगारी गर्छन् ।’
उनका अनुसार प्लाईउड उद्योगले उत्पादन गरेका कच्चा पदार्थ भारत निकासी निःशुल्क छ । त्यसमाथि ६ प्रतिशत अनुदान दिने गरेको छ । तर, राज्यले भेनियर उद्योगलाई मात्र कर थुपारेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले राज्य र प्लाईउड उद्योगका कारण भेनियन उद्यागीहरु मरमा परेको दावी गरे । उनका अनुसार यो विभेदपूर्ण राज्यको निती सच्याउनु पर्छ ।
कार्यक्रममा वन पैदावर संघ इलामका अध्यक्ष रोहित खड्का लगायतले पनि भेनियर पाता भारत निकासीमा सरकारले छुट दिनुपर्ने बताए ।
नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सहजिकरण महासचिव दिनेश शाक्यले गरेका थिए ।
Discussion about this post