झापा, १२ कात्तिक । नेकपा एमाले पार्टीले प्रत्येक मतदाताको राजनीतिक आवद्धता विवरण संकलन गर्ने भएको छ ।
सरकारको नेतृत्व गरिरहेको एमालेले राजनीतिक दलहरुको शक्ति सन्तुलन पत्ता लगाउन हरेक घरको मतदाता विवरण र तिनको राजनीतिक आवद्धता संकलन गर्ने तयारी गरेको हो ।
आगामी चुनाव–०८४ मा निर्णायक राष्ट्रिय शक्ति बन्ने लक्ष्य अन्तर्गत नै एमालेले प्रत्येक मतदाताको राजनीतिक आवद्धता विवरण तयार पार्न लागेको छ ।
‘उपचुनाव हुने क्षेत्रहरुमा यो अभियान सुरु भइसकेको छ । कुन घरमा कति मतदाता छन् र उसको राजनीतिक आवद्धता के हो भनेर पत्ता लगाइरहेका छौं’, एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराईले भने ।
उनका अनुसार आगामी मंसिरमा उपचुनाव हुने क्षेत्रमा यो अभियान चलिरहेको छ । उपचुनाव हुने बाहेकका क्षेत्रमा भने आगामी फागुन र चैतमा यो अभियान सञ्चालन हुने भट्टराईको भनाई छ ।
एमाले संगठन विभागको योजना अनुरुप हरेक वडामा राजनीतिक पक्षधरता विवरण संकलन अभियान सुरु हुन लागेको हो ।
‘महासचिव शंकर पोखरेलसहितको उपस्थितिमै भएको संगठन विभागको बैठकले यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो’, संगठन विभाग सदस्य समेत रहेका भट्टराईले भने ।
वडा–वडामा चलाउन लागिएको यो अभियानको समन्वय प्रदेश कमिटीहरुले गरिरहेका छन् । जस अन्तर्गत गत असोज १० गते बसेको बैठकबाट कोशी प्रदेशले अन्तरपार्टी निर्देशिका नै जारी गरिसकेको छ ।
‘आर्थिक वर्षको अन्तिम २ महिनालाई शक्ति सन्तुलन तथा जनमतको स्थिति तथ्याङ्कमा (वडा÷पालिका÷प्रदेश÷संघ) केलाउने महिना बनाउने र गोपनीयता कायम गरी सम्बन्धित तहका अध्यक्षहरुले प्रदेश कमिटीमा आर्थिक वर्षको अन्तिम महिनामा प्रदेशमा बुझाउने’, अपानिमा उल्लेख छ ।
पार्टी केन्द्रको निर्देशन बमोजिम जारी अपानिमा मतदाताको राजनीतिक पक्षधरता विवरण संकलनको नमूना फारम समेत पठाइएको छ । उक्त फारममा हरेक वडाको जम्मा मतदाता संख्यासहित एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र अन्य पार्टीमा आवद्ध मतदाता विवरण भर्न भनिएको छ ।
‘मिसन–८४ को लक्ष्य पूरा गर्नका लागि यही मंसिर मसान्तभित्रमा सबै टोल अधिवेशनहरु समेत सम्पन्न गर्ने र घर–घरसम्मको कार्यविभाजन गरी हरेक घर परिवारको मतदाता संख्या र मतको एकिन गरी चालु आर्थिक वर्षको अन्तिम (असार मसान्त) सम्म शक्ति सन्तुलनको यकिन सर्वेक्षण तथ्याङ्कमा निम्न अनुसारको फर्म्याटमा पठाउन निर्देशन गरिएको छ’, अपानिमा भनिएको छ ।
यो अभियानको उद्देश्य पार्टीको कमजोरी पत्ता लगाउनु रहेको भट्टराई बताउँछन् । ‘हाम्रो अवस्था कहाँ कमजोर छ र कसरी सुधार्ने भन्ने प्रयोजनका निम्ति मात्र हामीले यो विवरण लिन लागेका हौं’, उनले भने ।
कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य एमालेले लिएको छ । गत बैशाख पहिलो साता सम्पन्न पहिलो विधान महाधिवेशनमा महासचिव पोखरेलले प्रस्तुत गरेको तथ्याङ्क अनुसार अगामी आम चुनावसम्म एमालेले ५ लाख नयाँ सदस्य थप्ने लक्ष्य राखेको छ ।
गत आम चुनाव–०७९ मा एक करोड ७९ लाख ७८ हजार मतदाता रहेकाले यसको ६ प्रतिशत अर्थात् १० लाख पार्टी सदस्य बनाउनुपर्ने लक्ष्य पोखरेलले प्रस्तुत गरेका थिए । सो प्रस्ताव विधान महाधिवेशनले पारित गरेपछि त्यसपछि एमालेको गतिविधि तिब्ररुपमा बढिरहेको छ ।
Discussion about this post