बिर्तामोड, ११ मंसिर । मोफसलको चर्चित फुटबल क्लब झापा-११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै गर्दा खेल मैदानको स्तरोन्नत भइरहेको छ ।
यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड-३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत कार्य धमाधम भइरहेको झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
मैदानको झार छाँटेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेल तथा मर्मतको काम तीव्र गतिमा भइरहेको छ । डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट र आकर्षक मानिन्छ । खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने झापा गोल्डकपका संस्थापक संरक्षक गुरुङले बताए ।
झापा-११ ले आफ्नो ‘होम ग्राउन्ड’ मा आयोजना गर्ने प्रतियोगितामा मैदानको आकर्षण नघटोस् भनेर आयोजक समितिले छोटो समयमा काम सुरु गरेको हो । रंगशालामा उम्रिएका अनावश्यक झार उखेल्ने तथा प्राकृतिक घाँस रोप्ने काम थालिएको छ ।
मैदान संरक्षणमा दीर्घकालीन योजना आवश्यक रहेको उनले बताए । ‘यसरी झार उखेल्ने अस्थायी काम हो’, गुरुङले भने, ‘यसको दीर्घकालीन योजना बनाउनै पर्छ ।
रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण गरिने प्रतियोगिताका संयोजक केशवराज दाहालले बताए । झापा-११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ ।
क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतसहित १० वटा टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।फाइनल खेल आगामी पुस ८ गते हुनेछ ।
झापामा फुटबलको स्तर बढाउने तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङकाे दावी छ ।
११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाडौँमा सम्पन्न एन्फा कपमा पहिलो पटक सहभागितामा नै ए डिभिजन क्लबहरुलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो ।
Discussion about this post