मेचीनगर, १४ फागुन । यही फागुन २४ गतेदेखि आयोजना हुने पाँचौँ मेचीनगर गोल्डकपमा भारतीय फुटबलका पूर्व कप्तान सुनिल क्षेत्री र चर्चित खेलाडी भाइचुङ भोटिया पनि अतिथिका रुपमा प्रतियोगिता हेर्न आउने भएका छन् ।
आज गोल्डकपको मुल आयोजक समितिले मुख्य प्रायोजकसँग गरेको सम्झौता हस्ताक्षर कार्यक्रममा भारतबाट अतिथिका रुपमा उनीहरु प्रतियोगिता हेर्न आउने भएको बताइएको छ ।
आयोजकले मुख्य प्रायोजकका रुपमा होटल मेची क्राउन (एचएमसी)सँग सहमति गरेको हो । एचएमसीका तर्फबाट बुद्विमान तामाङ र रिष्मा सुब्बाले तथा आयोजकका तर्फकाट संयोजक श्रीप्रसाद मैनालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । होटल मची क्राउनले मुख्य प्रायोजकका रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
पत्रकार भेटघाटमा टिमहरु पनि सार्वजनिक गरिएको छ । जसमा गोल्डकपमा ए डिभिजनका ३ वटामा एपिएफ फुटबल क्लब काठमाडौँ, मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड ललितपुर, विदेशी टिममा भारतको जर्जीयन युनाइटेड कालिम्पोङ र ग्लोबल एफसी आसाम, धरान फुटबल क्लब, झापा एफसी (एनएसएल) र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर गरी ८ वटा टिम प्रतियोगितामा सहभागी हुने बताइएको छ ।
प्रतियोगिताका विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई ५१ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट कोचलाई २१ हजार, उत्कृष्ट गोलरक्षकलाई २१ हजार, उदयमान खेलाडीलाई १५ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार पुरस्कार प्रदान गरिने छ ।
आयोजकले प्रतियोगिताको लाइभ गर्न खेलाडी डटकमसँग सहमति गरेको छ । आजै आयोजकले मेचीनगर गोल्डकप अंकित टिसर्ट पनि सार्वजनिक गरेको छ ।
त्यसैगरी आयोजकले फागुन २४ गतेदेखि आगामी चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रवेशका लागि रु.१०० टिकट लाग्ने बताएको छ । उद्घाटनका दिन नारी दिवस भएकाले महिलाहरुलाई त्यसदिन टिकट निःशुल्क गरिने आयोजकको भनाई छ ।
गोल्डकप सम्पन्न गर्न करिव ८० लाख अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर गोल्डकप मुल आयोजक समितिका संयोजक एवम् कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, सहसंयोजक एवम् मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्य, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर (मामा), आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष दिनेश ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन गोल्डकप मुल आयोजक समितिका सचिव राजु कार्कीले गरेका थिए ।
Discussion about this post