मेचीनगर, २४ फागुन । काँकरभिट्टामा आजदेखि सुरु मेचीनगर गोल्डकपमा पाहुना टोली भारतको जर्जियन क्लबलाई हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबारदेखि काँकरभिट्टा खेल मैदानमा सुरु उद्घाटन खेलमा कालिम्पोङको जर्जियन फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनमा पुगेको हो ।
कालिम्पोङले खेल सुरुमा खाता खोलेको थियो । उसले २८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । कालिमपोङका लागि सत्यम शर्माले फ्रिकक मार्फत पहिलो सुन्दर गोल गरेका थिए ।
पहिलो हाफको ४४ औं मिनेटमा आयोजकका निशान लिम्बुले पेनाल्टी मार्फत गोल गरेर खेललाई बराबरी पारेका थिए । कालिम्पोङका खेलाडीले आयोजकका विदेशी खेलाडी इब्राहिमलाई डिवक्समा फल्ट गरेपछि आयोजकले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफको छैटौं मिनेटमा आयोजकका लागि विदेशी खेलाडी इब्राहिमले डिवक्समा हेडमार्फत टिमका लागि दोस्रो गोल गरेका थिए ।
दोस्रो हाफको १६ औं मिनेटमा निशान लिम्बुले फेरि दोस्रो गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाएका थिए ।
त्यस लगत्तै १९ औं मिनेटमा आयोजका रोबर्टले टिमका लागि चौथो गोल गर्दा आयोजक ४–१ को अग्रता लिन सफल भयो ।
दोस्रो हाफको अतिरिक्त समयमा कालिम्पोङका सत्यम शर्माले टिमका लागि फेरि दोस्रो गोल गरेर २ गोल गरे ।
उद्घाटन खेलको म्यान अफदि म्याच २ गोल गरेका आयोजकका निशान लिम्बू घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।
प्रतियोगिताको भोलिको खेल चर्च बोइज काठमाडौं र झापा एफसीबीच हुने काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली (दिनेश) ले बताए ।
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख तथा ट्रफि प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीलाई ५१ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट गोलरक्षक र कोचले २१÷२१ हजार प्राप्त गर्ने छन् ।
त्यस्तै उदयीमान खेलाडीले नगद १५ हजार, प्रत्येक खेलको उत्कृष्ट खेलाडीले ११ हजार पाउने छन् । गोल्डकपमा प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघ, मेचीनगर खेलकुद विकास समिति र संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा होटल मेची क्राउन र सहप्रायोजकमा मेची नेत्रालय आँखा अस्पताल रहेको छ ।
गोल्डकप उद्घाटन हुनुअघि दिउँसो काँकरभिट्टा बजारमा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । गोल्डकपको उद्घाटन कोशी प्रदेशका सांसद गोपाल तामाङ, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपाचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेका थिए ।
मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत सहसंयोजक विमल आचार्यले र सञ्चालन सचिव राजु कार्कीले गरेका थिए ।
अस्थायी प्यारापिट भत्कियो
यसैबीच उद्घाटन खेलमा दर्शकको खचाखच भीड थियो । खेल हुनु भन्दाअघि मञ्चको उत्तरपटिको अस्थायी प्यारापिट भत्किएको थियो ।
दर्शकहरुको खचाखच भीडले प्यारापिट भत्किन पुगेको थियो । भत्किदा २÷३ जना बालबालिका सामान्य घाइते भएका थिए । आज नारी दिवसमा महिलाहरुलाई टिकट आयोजकले निःशुल्क गरेको थियो ।
Discussion about this post