झापा, ११ भदाै । स्वास्थ्य कार्यालय झापाले जापानिज इन्सेफ्लाइटिस (मष्तिस्क ज्वराे) राेगबाट मानिसकाे भटाभट मृत्यु हुन थालेपछि खाेप लगाउने तयारी गरेकाे छ ।
स्वास्थ्य कार्यालय झापाले विहीबार जिल्ला समन्वय समितिकाे सभाहलमा सराेकारवाला र पत्रकारसँगकाे छलफलमा जिल्लामा साेही राेगका कारण ६ जनाकाे मृत्यु भइसकेकाे बताइएकाे छ ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासका अनुसार गत असार र साउनमा जिल्लाका पाँच पालिकाका ६ जनाकाे मृत्यु भएको हाे ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ स्थित कदम चाेकका ५७ वर्षीया महिलाकाे असार २९ गते भद्रपुरकाे ओमसाइ अस्पतालमा, बाह्दशी गाउँपालिका-३, राजबंशी चाेकका ६९ वर्षीय पुरूषकाे असार २३ गते बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा, मेचीनगर नगरपालिका-१४ काे पाटनसरवारीका ५४ वर्षीया महिलाकाे साउन १६ गते बीएण्डसी अस्पतालमा भएको थियाे ।
त्यस्तै, मेचीनगर नगरपालिका-८ काे दुर्गा मन्दिरका ६६ वर्षीया महिलाकाे साउन २६ गते बीएण्डसी अस्पतालमा, बिर्तामोड नगरपालिका-२ पाथिभरा टाेलका ७३ वर्षीय पुरूषकाे साउन १६ गते बीएण्डसी अस्पतालमा र अर्जुनधारा नगरपालिका-१० सेतीगंगाकी ७३ वर्षीया महिलाकाे असार २७ गते बीएण्डसी अस्पतालमा मृत्यु भएको कार्यालयले जनाएकाे छ ।
गत असार र साउन महिनामा जिल्लामा उक्त राेगबाट संक्रमीत १२ जना मध्ये ६ जनाकाे मृत्यु भएको थियाे ।
संक्रमित हुने पाँच जनामा मेचीनगर-७ र ८ का २ जना तथा बिर्तामोड-१० र कचनकवल-५ का २ जना निकाे भएर घर फर्किएका छन् । मेचीनगर वडा नम्बर ६ र ११ का २ जना उपचारमा रहेका छन् ।
१५ वर्ष मुनिकालाई उच्च ज्वराे आउने भनिए पनि विरामी भएका प्राय: ५० वर्षमाथिका दीर्घ राेगीहरू रहेका छन् ।
झापाका ३० वर्ष माथिका ५ लाख मानिसलाई जापानिज इन्सेफ्लाइटिस राेग विरूद्धकाे खाेप लगाउने लक्ष्य रहेकाे दासले जानकारी दिए ।
उनका अनुसार भदाैकाे अन्तिम साता वा असाेज महिनाकाे पहिलाे हप्तादेखि खाेप दिने गरी भण्डारणका लागि तयारी गरिरहेकाे छ ।
कार्यालय प्रमुख दासले साे राेगका विषयमा प्राजेक्टर मार्फत प्रस्तुतिकरण गरेका थिए ।
विशेषत लामखुट्टेबाट सर्ने याे राेग प्राय: धानखेतमा रहेका बकुल्ला, सुँगुर, हाँस, कुखुराबाट मानिसमा सर्छ । फाेहाेर र हिलाेमा बस्ने लामखुट्टेले पशुपंक्षीहरूबाट सार्ने गर्छ ।
छलफल कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख एवम् खाेप समन्वय समितिकि सहसंयाेजक शान्ता राेक्का क्षेत्री, हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला लगायतले यसकाे जाेखिम, संक्रमण, बाच्ने उपाया र समाधान लगायतका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रमकाे सहजीकरण स्वास्थ्य कार्यालयका आजै अवकास हुन लागेका कर्मचारी राजकुमार पोखरेलले गरेका थिए ।




Discussion about this post