धुलाबारी, २३ भदौ । मेचीनगर-९ काे एउटा किराना पसलमा गाई-भैंसीलाई खानामा प्रयाेग गरिने १४ बाेरा पेलेट दाना म्याद गुज्रिएकाे पाइएकाे छ ।
जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा खटिएको अनुगमन टोलीले साेमबार धुलाबारी स्थित दास किराना पसलबाट ४९० किलोग्राम (१४ बोरा) म्याद गुज्रिएको पेलेट दाना बरामद गरेको थियाे ।
स्थानीय किसान एवम् साहित्यकार जयराज आचार्यले साे पसलबाट लगेकाे दाना खाएर पशु विरामी परेकाे दावी गरेका छन् ।
उपभोक्ता आचार्यले पशु बिरामी परेको गुनासो उपभोक्ता जागरण अभियान नेपाललाई गरेका थिए । अभियानको पहलमा प्रशासनसहितको संयुक्त टोलीले पसलमा आकस्मिक अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा वीरगञ्ज उपमहानगरपालिका–२१ स्थित प्रो बायोटेक इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘शक्ति ब्रान्ड’का बी-२१, बी-२२, बी-२३ र बी-२४ ब्याच नम्बरका दाना म्याद गुज्रिएको अवस्थामा पाइएकाे थियाे ।
बरामद दानाका बोरामा उत्पादन मिति २०८३ जेठ ६ गते र उपभोग्य अवधि ६० दिन भनेर स्पष्ट उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत टिकाराम निरौलाले म्याद गुज्रिएको दाना जफत गरी पसल सञ्चालक जयनारायण दासमाथि कानूनी कारबाही सुरु गरिएको बताए ।
आचार्यले यही भदौ १४ गते उक्त पसलबाट दाना खरिद गरेको बताएका छन् । पसलले आचार्यलाई दानाको रकम फिर्ता गरेका छन् ।
अनुगमन टोलीले दाना विक्रेता दासलाई भदौ २४ गते आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । बरामद गरिएका दाना शिलबन्दी गरी मेचीनगर-९ को वडा कार्यालयमा सुरक्षित राखिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाका अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्तीले म्याद गुज्रिएका अखाद्य वस्तु बिक्री वितरण गर्नु दण्डनीय अपराध भएकाेले पसलमाथि थप अनुसन्धान गरिने बताए ।
प्रशासकीय अधिकृत निरौलाको नेतृत्वमा खटिएको उक्त अनुगमन टोलीमा खाद्य प्रविधि कार्यालयका अनुसन्धान अधिकृत ओस्ती, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी नायव निरीक्षक (सई) शंकरकुमार खत्री, जिल्ला प्रशासनका नासु यदुनन्दन दाहाल, मेचीनगर-९ का वडाध्यक्ष कञ्चन तामाङ, उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय सदस्य मोहन काजी, मेचीनगर अध्यक्ष रचना घिमिरे लगायतकाे उपस्थिति रहेको थियो ।




Discussion about this post