काँकरभिट्टा, ८ असाेज । अपहरण तथा शरीर बन्धक मुद्दाको अनुसन्धानका क्रममा काँकरभिट्टामा दुई वर्षपछि गाडिएको अवस्थामा मानवकाे कंकाल निकालिएको छ ।
प्रहरीले उक्त मुद्दामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जन अवाले ललितपुर साविक मिखेल हाल महाङ्काल गाउँपालिका-१ स्थायी ठेगाना भएका दिलनाथ बजगाईं २०८१ कात्तिक २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका-६ स्थिच काँकरभिट्टाबाट सम्पर्कविहिन भएकाे बताए ।
बजगाई वेपत्ता भएको भन्दै उनकी श्रीमती तुलसा बुढा बजगाईंले प्रहरीमा निवेदन दिएकी थिइन् ।
निवेदनका आधारमा अनुसन्धानका क्रममा बजगाईंसँगै हिँड्ने गरेका उनका नजिकका साथी म्याग्दी घर भई हाल मेचीनगर-१० बस्ने ४५ वर्षीय ‘राम’ भन्ने गुप्तबहादुर सिंहमाथि शंका लागेपछि प्रहरीले सोधपुछ गरेको थियो ।
बुधबार सोधपुछका क्रममा सिंहले देखाएको स्थान मेचीनगर-७, भान्सा खोला (गैरीगाउँ) स्थित जयप्रसाद तिवारीको जग्गा भाडामा आफैले सञ्चालन गरेको बंगुर फर्मभित्र उत्खनन गर्दा मानवकाे कंकाल भेटिएको थियाे ।
प्रहरीले थप भारत अलेपुरकाे विरपारा घर भई हाल मेचीनगर-८ बस्ने ४९ वर्षीय सञ्जय लामालाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ ।
प्रहरीले स्थानीय, जनप्रतिनिधिहरूको रोहबरमा जेसीवी प्रयोग गरेर शंका लागेकाे ठाउँमा खाल्डाे खनेर हेर्दा मानवकाे कंकाल भेटिएको हाे ।
उक्त कंकाल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
भेटिएको कंकाल सम्पर्कविहिन दिलनाथ बजगाईंकै हो वा होइन भन्ने यकिन गर्न शव परीक्षण पश्चात् नमुना परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाइएको प्रहरीको भनाई छ ।




Discussion about this post