
झापा, ५ मंसपर । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले हात पारेको छ ।
शनिबारकाे अन्तिम खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले एनपीएल तेस्रो सिजनको उपाधि जितेको हो । योसँगै टोलीले उपविजेताको ‘डेडलक’ तोडेको छ ।
१५६ रनको लक्ष्य १३.३ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो । सुदूरपश्चिमको जितमा जर्ज मन्सेले आक्रामक शतक बनाए । उनी १२५ रनमा नटआउट भए । उनले १२ छक्का र ८ चौका प्रहार गरे ।
यस्तै, विनोद भण्डारी ३० रनमा अविजित भए ।
सुदूरपश्चिमले पहिलो ओभरमा आक्रामक ब्याटिङ गर्दै १२ रन जोड्यो ।
सुदूरपश्चिमले शानदार सुरुवात गर्दै ३ ओभरमा कुनै विकेट नगुमाई २५ रन बनायो । ओपनरद्वय मन्से र भण्डारीले सुदूरपश्चिमलाई राम्रो सुरुवात दिलाएका थिए ।
सुदूरपश्चिमले पावरप्लेमा बिना विकेटको क्षतिमा ६० रन बनाउँदै खेल आफ्नो पक्षमा बढायो । मन्सेले ६.४ ओभरमा जीवनदान पाए । लुम्बिनीका सन्दीप जोराले उनको क्याच मिस गरे ।
मन्सेले आक्रामक ब्याटिङ गर्दै २८ बलमा अर्धशतक बनाए । सुदूरपश्चिमले १० ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा ९० रन बनायो । मन्सेले ४९ बलमा आक्रामक ब्याटिङ गर्दै शतक बनाए ।
एनपीएल फाइनलमा शतक हान्ने मन्से पहिलो खेलाडी बने । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन जोड्यो ।
लुम्बिनीले पहिलो ओभरमा १ रनमात्रै बनायो । सुदूरपश्चिमका स्कट कुगलेइनले कसिलो बलिङ गरे ।
लुम्बिनीले २.१ ओभरमा पहिलो विकेट गुमायो । आसिक शेख ४ बलमा १ रनमात्रै बनाएर आउट भए । उनलाई कुगलेइनले पभेलियन पठाए ।
कप्तान रोहित पौडेल तेस्रो नम्बरमा ब्याटिङमा आए । लुम्बिनीले ५.३ ओभरमा दोस्रो विकेट गुमायो । ओपनर डार्सी शर्ट १८ बलमा २१ रन जोडेर आउट भए । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टोलीलाई दोस्रो सफलता दिलाए ।
लुम्बिनीले पावरप्लेमा २ विकेट गुमाएर ३७ रन जोड्यो । रोहितलाई निरोशन डिकवेलाले साथ दिँदै दुई ब्याटरले लुम्बिनीको इनिङ्स सम्हाले ।
तर आक्रामक ब्याटिङ गरिरहेका डिकवेला १७ बलमा २८ रन जोडेर आउट भए । उनलाई आफ्नै देशका श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेले बोल्ड गरे ।
त्यसपछि ब्याटिङमा आएका दिलिप नाथले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीलाई अगाडि बढाए । लुम्बिनीले १४ औं ओभरको समाप्तिमा कप्तान रोहित पौडेलको विकेट गुमायो ।
दिलिप नाथसँग तालमेल नमिल्दा उनी रनआउट हुन पुगे । उनले ३१ बलमा ३० रन जोडे । त्यसपछि ब्याटिङमा आएका सन्दीप जोरा पनि सस्तैमा आउट भए । उनले ५ बलमा ४ रन मात्रै बनाए ।
त्यसपछि ब्याटिङमा उत्रिएका अलि शेखले विष्फोटक ब्याटिङ गर्दै लुम्बिनीको स्कोर माथि उठाए । उनले १२ बलमा २ छ्क्का र २ चौका हान्दै २४ रन जोडे ।
दिलिप नाथले नटआउट ३९ रनको योगदान दिए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले दुई तथा हेमन्त धामी, दिपेन्द्र सिंह र थरिन्दु रत्नायकेले एकएक विकेट लिए ।
विजेता सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ र उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँमा चित्त बुझाउनेछ ।
यसअघिका दुवै सिजनमा सुदूरपश्चिम फाइनलमा पुगेर उपविजेतामा सीमित बनेकाे थियाे ।




Discussion about this post