झापा, १० बैशाख । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान झापाका अग्रज पत्रकार दिपीन राईलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघको स्थापना दिवस र महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठको योगदानको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राईलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पत्रकार राईसँगै चितवनकी पत्रकार संगीता चेपाङलाई फोनिज युके पत्रकारिता सम्मान प्रदान गरिएको छ । सम्मान र पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले दुबै पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिन् । उनले सत्य तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक अध्यक्षको विवाद निरुपण हुनुपर्ने बताइन् ।
कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईले पत्रकारहरुलाई संगठित गरेर पहिलो पटक पत्रकार संघ गठन गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ नै भएको इतिहासको तथ्य रहेको बताए ।
पत्रकार महासंघले संस्थापक अध्यक्षको विवाद निरुपण गर्दै वैशाख ९ गते स्थापना दिवस मनाउनु पर्ने उनको सुझाव थियो ।
कार्यक्रममा फोनिज युकेकी निवर्तमान अध्यक्ष गोमा राना मगरको समेत उपस्थिति रहेको थियो ।




Discussion about this post