मेचीनगर, ३० भदौ । नेपाल जेसीज वर्ष २०२४ को क्षेत्र ‘क’ सम्मेलन धुलाबारीमा भव्य र सव्य ढंगले हुने भएको छ ।
आज विहान धुलाबारी स्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठान टाउन हलमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजक संस्था धुलाबारी जेसीजले आगामी असोज ११ र १२ गते भव्य रुपमा हुने बताएको हो ।
क्षेत्र ‘क’ सम्मेलन आयोजक समितिका निर्देशक एवम् वर्ष २०१६ का अध्यक्ष अनन्तप्रकाश वस्तीले क्षेत्र ‘क’ का ४३ वटा शाखा र यो वर्ष सम्भावित ३ वटा गरी ४६ वटा शाखा, जुजियर जेसीज १६ वटा, देशभर तथा नेपाल जेसीजका पदाधिकारीसहित करिव ६०० जना जेसीहरुको उपस्थितिमा उक्त कार्यक्रम भव्य र सव्य रुपमा हुने जानकारी दिए ।
‘धुलाबारी जेसीजमा कुनै विवाद छैन’, निर्देशक वस्तीले भने–‘सानातिना समस्या जहाँ पनि आउँछ । सम्मेलनलाई अपठ्यारो पर्दैन । सम्मेलन भव्यरुपमा सम्पन्न गछौँ ।’
क्षेत्र ‘क’ को झापाको बाहुनडाँगीदेखि सर्लाहीको मलंगवासम्म ४३ वटा शाखा रहेका छन् । त्यसमध्ये झापामा मात्र १७ वटा शाखा रहेका छन् । असोज ११ र १२ गते हुने सम्मेलनको पहिलो दिन उद्घाटन हुनेछ । प्रमुख अतिथिको भने टुंगो लागेको छैन ।
पहिलो दिनका कार्यक्रमहरु यस्ता रहेका छन् । जस्मा थिम सेमिनार (विभिन्न क्षेत्रका व्यक्तिहरु वक्ता हुने), जेनेरल एसेम्ली, सिनेटर वैठक, जुनियर जेसीजको वैठक, अन्तर शाखा वक्तृत्वकला र जेसीज नाइट हुनेछ ।
यस्तै दोस्रो दिनका कार्यक्रमहरुमा तालिम, जेनेरल एसेम्ली, नेपाल जेसीजको अवार्ड वितरण, समापन र विभिन्न क्षेत्रका १७ वटा उपसमिति निर्माण हुने आयोजकको भनाई छ ।
अनुमानित ३२ लाख रुपैयाँ खर्च लाग्ने उक्त सम्मेलनका लागि १८ लाख रुपैयाँ सहभागिताबाट, १४ लाख रुपैयाँ अन्य विभिन्न दाता र पूर्व अध्यक्षहरुको संस्थाका अध्यक्षहरुबाट संकलन गरिने वस्तीले बताए ।
वैदेशिक रोजगारमा जानबाट रोकेर युवाहरुलाई उद्यमशिलतामा लगाउन तालिम दिने सम्मेलनको मुख्य उदेश्य रहेकोे आयोजकको भनाई छ ।
यसअघि उक्त सम्मेलन गर्न नेपाल जेसीजले मेचीनगर लेडी जेसीजलाई पत्र पठाएको थियो । तर, विभिन्न कारणवश लेडी जेसीजले सम्मेलन गर्न असमर्थ जनाएपछि धुलाबारी जेसीजले अपनत्व लिएको छ ।
पत्रकार सम्मेलनमा धुलाबारी जेसीजका अध्यक्ष मञ्जिल रसाइली, निर्देशक वस्ती, तेजप्रसाद चौलागाई, ऋषिराज तिम्सिना, दिनेश शाक्य, राजिव प्रसाई लगायत जेसीजका सिनियर जुनियर जेसीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण पूर्व अध्यक्ष लिलाप्रसाद भण्डारी र बाहुनडाँगी जेसीजका अध्यक्ष एवम् सम्मेलनका प्रचारप्रसार समिति संयोजक देबु बानियाँले संयुक्त रुपमा गरेका थिए ।
भिडियो पनि हेर्नुहोला ।




Discussion about this post