ललितपुर, २२ भदौ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिएका सबैप्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएको छ ।
गोदावरीको सनराइज हलमा यही भदौ २०, २१ र २२ गतेसम्म चलेको विधान महाधिवेशनको अन्तिम दिन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन सर्वसहमतिले पास भएको हो ।
यस्तै, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बाद्वारा प्रस्तुत प्रतिवेदन पनि पारित भएको छ ।
प्रतिनिधिलाई समूहगत छलफलका लागि १० वटा समूहमा विभाजन गरिएको थियो । आज समूहगत छलफलको सुझाव टोली नेताले प्रस्तुत गरेका थिए ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सम्पन्न गोदावरी विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जना सहभागी भएका थिए ।




Discussion about this post