काँकरभिट्टा, ६ चैत । तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड झापाले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर काठमाडौँलाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि जितेको हो ।
काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको उपाधि जिताउँन बिर्तामोडका सुशन राई र रमेश गुरुङ सफल भए । उनीहरुले समान एक–एक गोल गरे ।
काठमाडौँले गोल गर्ने अवसरहरु थुप्रै पाएको थियो । तर अवसरलाई सदुपयोग गर्न भने सकेन । शुसन राईको गोलबाट अग्रता लिएको बिर्तामोडले पेनाल्टी मार्फत पुनः अर्को गोल गर्दै उपाधि हात पार्यो । उपाधिसगैँ बिर्तामोडले नगद २ लाख राशिसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गयो ।
उपविजेता बनेको काठमाडौँले नगद १ लाख राशिसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका बाबुलाल आस्था घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा उपविजेता फ्रिडम फाइटर काठमाडौँका श्यामबहादुर गुरुङ घोषित भए । सर्वाधिक गोलकर्ताको उपाधि आयोजक समेत रहेको काँकरभिट्टा भेट्रान फुटबल क्लबका सुजन शाक्यले पाए ।
प्रतियोगितामा ज्येष्ठ भेट्रान खेलाडीलाई समेत सम्मान गरिएको थियो । जसमा डाउन टाउन दार्जिलिङका राजन गोले तामाङ सम्मानित भए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड काठमाडौँका राजकुमार घिसिङले प्राप्त गरे । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, विशेष अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी लगायतले प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरेको आयोजक समितिका महासचिव शेरबहादुर बस्नेत (सुन्दर) ले बताए । प्रतियोगिता गत फागुन २७ गतेदेखि सुरु भएको थियो ।




Discussion about this post