मेचीनगर, १९ असाेज । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वकाे अनुगमन टोलीले एक महिनाअघि मेचीनगरबाट बरामद गरेकाे ४९० किलो पेलेट दाना नष्ट गरिएको छ ।
गत भदाै २३ गते उपभोक्ता जय आचार्यले मेचीनगर-९, धुलाबारी स्थित दास किराना पसलबाट गाई-भैंसीका लागि खानामा प्रयाेग गरिने पेलेट दाना खरिद गरेका थिए ।
आचार्यले लगेकाे दाना खाएर पशु विरामी परेको उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा खटिएको अनुगमन टोलीले उक्त पसलबाट ४९० किलोग्राम (१४ बोरा) म्याद गुज्रिएको पेलेट दाना बरामद गरेको थियाे ।
बरामद गरेर राखिएको उक्त पेलेट दाना आज (साेमबार) सराेकारवाला निकायकाे राेहवरमा ९ नम्बर वडा कार्यालय परिसरमा खाल्डाे खनेर नष्ट गरिएको हाे ।
बरामद पेलेट दानाकाे मेचीनगर-९ का वडा अध्यक्ष कञ्चन कुमार तामाङ, नगरपालिकामा खाद्य विश्लेषक दिपेन्द्र कार्की, जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि यदुनन्दन दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाका अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्ती, उजुरीकर्ता उपभोक्ता जय आचार्य, दास किराना पसलका सञ्चालक जयनारायण दास, मेची उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अर्जुन तिवारी, संघका कार्यकारी निर्देशक गाेपाल वस्नेत, उपभोक्ता जागरण अभियान नेपालका जिल्ला सदस्य अर्जुन कार्की, नगरप्रहरीहरू
लगायतकाे उपस्थिति रहेको थियो ।
म्याद गुज्रिएको दाना फेला परेपछि जिल्ला प्रशासन कार्यालयले पसल सञ्चालक जयनारायण दासलाई कारवाही स्वारूप २ लाख जरिवाना गराएकाे थियाे ।
त्यसबेला उपभोक्ता आचार्यले पशु बिरामी परेको गुनासो उपभोक्ता जागरण अभियान नेपाललाई गरेका थिए । अभियानको पहलमा प्रशासनसहितको संयुक्त टोलीले पसलमा आकस्मिक अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा वीरगञ्ज उपमहानगरपालिका–२१ स्थित प्रो बायोटेक इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘शक्ति ब्रान्ड’का बी-२१, बी-२२, बी-२३ र बी-२४ ब्याच नम्बरका दाना म्याद गुज्रिएको अवस्थामा पाइएकाे थियाे ।
बरामद दानाका बोरामा उत्पादन मिति २०८३ जेठ ६ गते र उपभोग्य अवधि ६० दिन भनेर स्पष्ट उल्लेख गरिएको थियाे ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत टिकाराम निरौलाले म्याद गुज्रिएको दाना जफत गरी पसल सञ्चालक जय नारायण दासमाथि कानूनी कारबाही सुरु गरेकाे थियाे ।
आचार्यले भदौ १४ गते उक्त पसलबाट दाना खरिद गरेका थिए । पसलले आचार्यलाई दानाको रकम फिर्ता गरेका थिए ।




Discussion about this post