झापा, २४ माघ । नेकपा एमाले झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठक मंगलबारदेखि सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनसम्म सञ्चालन हुने पूर्ण बैठकको उद्घाटन गरेका हुन् ।
झापाका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता एवम् सचिव शिव ढुंगेलको सञ्चालनमा झिलझिले स्थित एक रिसोर्टमा बैठकको उद्घाटन गरिएको हो ।
बुधबारको बैठक जिल्ला पार्टी कार्यालय बिर्तामोडमा बसिरहेको छ । अध्यक्ष ओलीले नेकपा एमालेको नीति, कार्यक्रम, दृष्टिकोण र कार्ययोजना प्रष्ट भएको जनाए । अरु राजनीतिक दलहरुले एमालेको सिकोमात्र गर्ने हुन्, उनीहरुसँग कुनै मौलिक कार्यक्रम नै नभएको उनले ठोकुवा गरे ।
‘अरु राजनीतिक पार्टीहरुसँग त केवल एमालेलाई गाली गर्ने बाहेक अरु केही नीति नै छैन, बरु एमाले पार्टीलाई सिध्याउँछौं भन्नेहरु आफैं सिद्धिने लाइनमा छन’ उनले भने ।
एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्न हामी एकतृत, संगठित, अनुशासित, सक्रिय एवम् विस्तारित हुनुपर्छ र मात्र पार्टी मजवुत हुन्छ भन्दै अध्यक्ष ओलीले झापा जिल्ला कमिटीको बैठकले गहन छलफल गरी कार्ययोजनाहरु कार्यान्वयन गर्नुपर्ने निर्देशन दिए ।
उनले जिल्ला कमिटी मातहतका सबै कमिटीहरु, जनसंगठन, जनवर्गीय संगठनहरु चुस्त दुरुस्त एवम् व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने दायित्व जिल्ला कमिटीको रहेको स्मरण गराउँदै पार्टीको सदस्य विस्तार एवम् संगठित गरेको अवस्थाका बारेमा बैठकमा गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए ।
ओलीले आफ्नो पार्टीलाई वैचारिक मतभेद नभएको पार्टीका रुपमा चित्रित गर्दै भने, ‘२०७८ साल अघिसम्म केही मतभेद थिए । २००८ सालदेखि सुरु भएका मतभेद ७० वर्षपछि २०७८ मा टुंगिएको थियो । पार्टीमा मिर्जाफर–मिर्कासिन प्रवृत्ति देखाएकाहरुले पार्टी टुक्राएर गएपछि यतिबेला वैचारिक मतभेद छैन ।’
‘हामीलाई अब कसैले हराउँन सक्दैन । विगतमा आफैंले आफ्नै भित्रका तत्वहरुले सरकार पनि ढालेको हो । पार्टीभित्र त्यो प्रवृत्तिको अन्त्य हुनुपर्छ’ अध्यक्ष ओलीले भने ।
बैठकका अध्यक्ष गिरीले बैठकको कार्यसूचि प्रस्तुत गर्दै आज पाँचवटै निर्वाचन क्षेत्रीय कमिटीका संयोजकहरुबाट, १५ वटै पालिकाका इन्चार्जहरुबाट राजनीतिक रिपोर्ट प्रस्तुत हुनेछ भने कार्यालय सचिवले आर्थिक रिपोर्ट प्रस्तुति गर्ने जानकारी दिए ।
बैठकको अर्को कार्यसूचिमा फागुन २१ गते ५१औं सुखानी शहीद दिवसका सन्दर्भमा झापामा सप्ताहव्यापी कार्यक्रम गरी मनाउने विषयमा छलफल हुने, राजनीतिक वैचारिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आगामी २०८१ जेठ मसान्तभित्र पार्टीका जिल्ला मातहत सबै तहका कमिटीको अधिवेशन गरिसक्ने सम्बन्धमा जिल्ला कमिटीमा गहन छलफल हुने कार्यवाहक अध्यक्ष गिरीले बताए ।
बैठकमा सहभागी सबै कमरेडहरुलाई जिल्ला कमिटीका उपसचिव असारु राजवंशीले स्वागत गरेका थिए ।




Discussion about this post