मेचीनगर, ५ वैशाख । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्श युवा क्ल ब बुधवारेले जितेको छ ।
मेचीनगर-८ स्थित विष्णुलक्ष्मी मन्दिरकाे खेल मैदानमा आदर्शले आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको आदर्शले पहिलो हाफमै खेललाई नियन्त्रणमा लिएकाे थियो ।
खेलको ९ औँ मिनेटमा आदर्शका सुदर्शन लिम्बूले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए ।
उक्त गोलपछि झनै आत्मविश्वासका साथ मैदान उत्रिएको आदर्शले आयोजकमाथि निरन्तर दबाब दियाे ।
पहिलो हाफमा थप गोल हुन नसके पनि आदर्शले खेललाई आफ्नो पक्षमा राख्याे ।
दोस्रो हाफमा पनि आदर्शले आफ्नो प्रभाव कायम राख्दै खेललाई एकतर्फी बनायो । खेलको ५४ औँ मिनेटमा दिवस बाँस्तोलाले अर्को सुन्दर गोल गर्दै टोलीको अग्रता दोब्बर बनायाे ।
त्यसपछि आयोजक टोली खेलमा फर्किने प्रयासमा लागे पनि आदर्शको मजबुत डिफेन्स र सन्तुलित मिडफिल्डका कारण सफल हुन सकेन ।
खेलको ६७ औँ मिनेटमा सनिल लामाले थप एक गोल गर्दै आदर्शको जित सुनिश्चित गर्याे । त्यसपछि बाँकी समय दुवै टोलीबाट प्रयास भए पनि थप गोल हुन सकेन र खेल ३-० मा सकियाे ।
प्रतियोगिताको विजेता आदर्शले नगद एक लाख १ हजार र उपविजेताले ५१ हजार नगदसहित ट्रफी पाएका छन् ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका आदर्शका खमिर गिल्सन कन्दङवा ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद एक हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो ।
सर्वाधिक गोलकर्ताको उपाधि आयोजक टोलीका साहिल धिमालले जित्दा उत्कृष्ट गोलरक्षक आदर्शका उपेन्द्र ल्वागुन घोषित भए ।
त्यस्तै उत्कृष्ट डिफेन्डर आयोजकका अनुसरण राई र इमर्जिङ प्लेयर अंश श्रेष्ठ बने । यी सबै विजेताहरूले जनही नगद तीन हजार १ सय तथा ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको समापन कार्यक्रम नकलबन्दा स्पोर्टिङ क्लबका अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर ‘मामा’ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा मेचीनगर-५ का वडाध्यक्ष कनकबहादुर कार्की, वडा नं.६ का कार्यवाहक अध्यक्ष भविन्द्र सुब्बा, कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्यहरू पुष्पकुमार गेलाल, देवीमाया विक, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत (सुन्दर) लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिना, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, प्रहरी चौकी नकलबन्दाका प्रमुख सई अशोक चौहान, विओपी नकलबन्दाका प्रमुख सई सूर्य श्रेष्ठ, सल्लाहकार सदस्यहरू पर्शुराम पराजुली, मेघराज गेलाल र होमराज गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष हिरा सुर्खेतीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन सचिव सुरज तामाङले गरेका थिए ।




Discussion about this post