भद्रपुर, ८ बैशाख । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
ओखलढुंगाको पद्मा स्पोर्टस् क्लबलाई ६-० गोल अन्तरले हराउँदै एपिएफले क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो ।
एपिएफले क्वार्टर फाइनलमा संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफ १-० गोल अन्तर बनाएको एपिएफले दोस्रो हाफमा गोलको वर्षा गरेको थियो ।
पहिलो हाफको २८ औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफको ४१ औँ मिनेटमा घिसिङले नै अर्काे गोल थपिन् ।
विपक्षी गोलकिपर अगाडि बढेको समयलाई सदुपयोग गर्दै उनले गोल गरेकी थिइन् । खेलको ४२ औँ मिनेटमा एपिएफको लागि तेस्रो गोल रेनुका नगरकोटीको नाममा रह्यो ।
रश्मिकुमारी घिसिङको पासमा नगरकोटीले सुन्दर गोल गरिन् । खेलको ५२ औँ मिनेटमा रश्मिले ह्याट्रिक पूरा गरिन् ।
उनले गरेको कडा प्रहारले पदमा स्पोर्टस् क्लबकी गोलकिपर झरना डुम्राकोटीको हातमा लाग्दै बलले जाली चुम्यो ।
खेलको ५४ औँ मिनेटमा अनिता केसीले अर्काे गोल थपिन् । पदमा स्पोर्टस्की डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै उनले गरेको प्रहार गोल भएको थियो ।
५६ औँ मिनेटमा रश्मिले अर्काे गोल थपिन् । डिबक्समा अनमार्क रहेकी उनले वान टचमा गोल गरेकी थिइन् ।
पद्मा स्पोर्टस्ले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि स्कोर भने निकाल्न सकेन । खेलको ५४ औँ मिनेटमा पदमाकी पुष्पा खड्काले डिबक्सबाट गरेको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले मुस्किलले बचाएकी थिइन् ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी रश्मिकुमारी घिसिङ भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।
बुधबार हुने क्वार्टर फाइनल खेलमा नेपाल पुलिस फुटबल क्लब र भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।




Discussion about this post