
।। कृष्ण सिंजाली ।।
झापा, २२ असार । २०८३ असारको अन्तिम दिन । भारतको कोलकातास्थित नेपालको महावाणिज्य दूतावासमा एउटा औपचारिकपत्र तयार हुँदै थियो ।
त्यो पत्र कुनै व्यापारिक सम्झौता वा कूटनीतिक निर्णयका लागि थिएन । त्यस पत्रले चार जना नेपाली बालबालिकाको जीवनमा नयाँ अध्याय सुरु हुने शुभसन्देश बोकेको थियो ।
पत्रमा चार नाम थिए-मीना विश्वकर्मा (१६), सीमा मुर्मु (१३), ( दुवै झापा), सुरज जोगी (१४), (मोरङ ) र माया तामाङ (१७), (नुवाकोट)। (बालबालिकाको गोपनीयताका लागि सबै नाम र ठेगाना परिवर्तन गरिएको हो।)
कागजमा लेखिएका ती नाम सामान्य देखिन्थे, तर प्रत्येक नामभित्र एउटा छुट्टै कथा लुकेको थियो-बिछोडको पीडा, अनिश्चित भविष्य र आफ्नै परिवारसँग फेरि भेट्ने गहिरो चाहना ।
यी बालबालिकाहरू भारतको पश्चिम बंगालस्थितशैशाली माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्स तथा हसान्ना कोभेनेन्ट च्यारिटेबल ट्रस्ट कालिम्पोङको संरक्षणमा रहेका थिए ।
बालगृह उनीहरूका लागि सुरक्षित आश्रय बनेको थियो । त्यहीँ उनीहरू विद्यालय जान्थे, पढ्थे, नयाँ साथी बनाउँथे र भविष्यका सपना बुन्थे । तर साँझ पर्दै जाँदा उनीहरूको मन भने सधैं आफ्नै घरको आँगनतिर पुग्थ्यो ।
झ्यालबाहिरको आकाश हेर्दै उनीहरू सोच्थे, “मेरो घर अहिले कस्तो होला ? बाबु-आमाले मलाई सम्झिरहनुभएको होला ? हजुरआमाले अझै मेरो बाटो हेरिरहनु भएको होला ?”
समय र परिस्थितिले उनीहरूलाई आफ्नै देशबाट टाढा पुर्यायो । बाल्यकाल नै अपरिचित भूमिमा बिताउन बाध्य भएका उनीहरूका लागि घर फर्किने आशा भने कहिल्यै मरेन ।
भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काई आफ्ना परिवारसँग पुनर्मिलन गराउन सम्भव भयो ।
पुनर्मिलन प्रक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी निशेष चापागाईं, महिला तथा बालबालिका शाखाकी प्रहरी नायब निरीक्षक (सई) मिलनकुमारी राई, नेपालको महावाणिज्यदूतावास, कोलकाताका कार्यालय सचिव सतीश थापा, सम्बन्धित चिल्ड्रेन्स होमका सुमित्रा रोय तथा ट्रस्टका सन्जोक बराइली, नव अभियान नेपालका प्रतिनिधिहरू, सम्बन्धित सरकारी निकायका अधिकारीहरू तथा बालबालिकाका अभिभावकहरूको उपस्थिति रहेको थियो । सबै कानुनी तथा प्रशासनिकप्रक्रिया पूरा गरी बालबालिकाहरूलाईसुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनीहरूका आँखामा अनेकौं भावना थिए-थोरै डर, धेरै उत्सुकता र अझ धेरै आशा । आखिर वर्षौँपछि उनीहरू आफ्नै देश, आफ्नै माटो र आफ्नै परिवारको न्यानो अँगालोमा फर्किन सफल भएका थिए ।
त्यो दिन कुनै ठूलो समारोह भएन । न त धेरै प्रचार भयो, न त ठूलो भीड जम्मा भयो । तर ती चार परिवारका लागि त्यो दिन जीवनकै सबै भन्दा ठूलो उत्सव थियो ।
बिछोडको अँध्यारोपछि आशाको उज्यालो फर्किएको दिन थियो । कहिलेकाहीँ एउटा सरकारी पत्र केवल प्रशासनिक कागजात मात्र हुँदैन ।
त्यसले टुटेका सम्बन्धहरूफेरि जोड्ने पुल बन्छ । हराएका मुस्कानहरूफर्काउने माध्यम बन्छ । र एउटा बालबालिकालाई आफ्नै घरको आँगनसम्म सुरक्षित पुर्याउने आशाको यात्रा बन्छ ।




Discussion about this post