काँकरभिट्टा, २ कार्तिक । भारतका विभिन्न बाल संरक्षण गृहमा रहेका ६ जना बालबालिकालाई परिवारकाे जिम्मा लगाइएकाे छ ।
भारतको कोलकाता स्थित नेपालको महावाणिज्य दूतावास र नवअभियान नेपालबीचको निरन्तर समन्वयपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सम्भव भएको हाे ।
परिवारलाई जिम्मा दिइएका बालबालिकाहरूमा १६ वर्षीया पूजा दनुवार, १६ वर्षीया रीता मण्डल, १५ वर्षीया सीता लिम्बु,१४ वर्षीय कमल मुखिया, १६ वर्षीय विनोद माझी, १५ वर्षीय सन्दिप गुप्ता रहेका छन् । (उल्लेख गरिएका नामहरू परिवर्तन गरिएको छ।)
भारत पुगेका बालबालिकाकाे प्राप्त विवरण अनुसार सिराहाको हरिनगर क्षेत्रकी रीता करिब तीन महिनाअघि परिवारसँग बाबाधाम तीर्थयात्रामा जाने क्रममा भारतको उढिसाबाट हराएकी थिइन् ।
त्यसैगरी, इलामकी सीता घरबाट एक्लै भागेर भारत जादा हराएकी हुन । मोरङको उर्लाबारीकी पूजा २०८० सालतिर भारतको सिलिगुडी स्थित सालबारीमा आफन्तको घरमा बसेर काम गर्दै पढिरहेको अवस्थामा हराएकी थिइन् ।
धनुषाको रघुनाथपुरका कमल केही महिनाअघि आफ्ना भिनाजुसँग भारतको कोलकाता घुम्न गएको समयमा हराएका थिए ।
त्यस्तै, सर्लाहीको बलरा क्षेत्रका विनोद गत असार महिनामा भारतकाे पन्जाबमा धान राेप्ने काम सकेर स परिवार घर फर्किने क्रममा अम्मृतसरमा हराएका थिए भने बाराकाे कलैयाका सन्दिप गाउँका दाजुहरुसँग पछि लागेर तामिलनाडु काम गर्न जादा हराएका हुन् ।
यी बालबालिकाहरु भारतका विभिन्न संरक्षण गृहहरु मध्ये पूजा र सीता माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्स दार्जिलिङमा रहेकी थिइन् भने रीता हावडा स्थित एसएमएम होममा, विनोद कोलकाता स्थित न्यू एज सोसाइटीमा, कमल र सन्दिप हावडा स्थित इतिन्दा संरक्षण गृहमा रहेका थिए ।
सन्दिपलाई कोलकाता स्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको समन्वय तथा सहकार्यमा सरक्षण गृहबाट अभिभावक प्रेमचन्द गुप्ताले जिम्मा लिएर छोरा सन्दिपलाई घर ल्याएका थिए ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी निशेष चापागाई, महिला तथा बालबालिका शाखाकी प्रहरी नायब निरीक्षक सई मिलनकुमारी राई, कोलकाता स्थित नेपालको महावाणिज्य दूतावासका कार्यालय सचिव सतीश थापा, नव अभियान नेपालका प्रतिनिधि तथा बालबालिकाका अभिभावकहरूको उपस्थिति रहेको थियो ।
कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बालबालिकालाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले बताए ।




Discussion about this post