मेचीनगर, १० मंसिर । काँकरभिट्टामा जारी जिल्लास्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा कनकाई नगरपालिकालाई पराजित गर्दै भद्रपुर नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज काँकरभिट्टा खेल मैदानमा भद्रपुरले कनकाईलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
प्रतियोगिताको दोस्रो दिनको खेलमा कनकाई र भद्रपुर आमने सामने भएका थिए । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएका अवसरहरू सदुपयोग गर्न नसक्दा निर्धारित समय अवधिमा नतिजा विहिन बने ।
निर्धारित समयमा दुवै टिमले कुनै गोल गर्न नसक्दा खेलको नतिजा सिधै टाइब्रेकर मार्फत गरिएको थियो । जसमा भद्रपुर भाग्यमानी बन्यो । यता कनकाई भने प्रतियोगिताबाट बाहिरियो ।
टाइब्रेकरमा भद्रपुरको तर्फबाट अनुस्का मगर, वीरा हस्ता, वीपसा धिमाल र पूजा रसाइलीले गोल गर्दा नूमा लिम्बूको प्रहार भने कनकाईकी गोलरक्षक सुम्निमा लिम्बूले रोकिन् ।
यता कनकाईको तर्फबाट अञ्जली चन्द, सोनिका चौधरी र वीनिसा श्रेष्ठले गोल गरिन् भने मोनिका राईको प्रहार पोस्ट बाहिर जाँदा ममता बस्नेतको प्रहार भद्रपुरकी गोलरक्षक वर्षा तामाङले रोकिन् ।
प्रतियोगितामा उत्कृष्ट खेल्दै टिम जिताउने भद्रपुरकी गोलरक्षक वर्षा तामाङ हुमेन अफ द म्याच घोषित भइन् । उनले एक हजार ५ सय नगदसहित ट्रफी प्राप्त गरिन् ।
भोलि (शुक्रबार) को खेल आयोजक टिम मेचीनगर नगरपालिका र बाह्रदर्शी गाउँपालिकाबीच दिउँसो ३ बजेदेखि सुरू हुनेछ ।




Discussion about this post