झापा, १७ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पालिकालाई प्राविधिक र सांस्कृतिक विद्यालय सञ्चालनका लागि संविधान र कानूनले नछेक्ने बताएका छन् ।
आज विर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैठौं अधिवेशनको उद्घाटन गर्दै उनले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक र प्राविधिक शिक्षा अपरिहार्य रहेको बताए ।
‘अब सैद्धान्तिक शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिदैन’, उनले भने– ‘प्रविधिको युग सुरु भएको छ । शिक्षालाई प्रभावकारी बनाउन स्थानीय पालिकाहरुले प्राविधिक विद्यालयको स्थापना गर्नुपर्छ ।’
सभामुख घिमिरेले पूर्वाधार विकासमा धेरै बजेट खर्च गर्दा गुरुयोजना बनाएर मात्र विकास निर्माणका कार्यअघि बढाउन आग्रह गरेका थिए ।
भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सरकारलाई उनको सुझाव छ ।
उनका अनुसार प्राविधिक शिक्षाको अभावमा मुलुकको ठूलो जनशक्ति विदेशिएकाले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो मात्र बनिरहेको छ । अब यहीँ उत्पादन गर्ने थलोका रुपमा विकास गर्नु पर्छ ।




Discussion about this post