मेचीनगर, २५ असोज । नेपाल प्रहरीको झापाबाट हराएका २४ वटा हतियार अझै भेटिएको छैन । करिव ६ हजार गोली समेत फेला नपरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी खगेन्द्रकुमार खड्काले हराएका हतियार मध्ये २४ वटा र करिव साढे ५ हजार गोली फेला नपरेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय दमकबाट २० वटा र बिर्तामोड प्रहरी कार्यालयबाट अझै ४ वटा सानो, ठुला (पेस्तोल, एसएलआर, थ्रिनटथ्रि लगायत) गरेर २४ वटा हतियार अझै फेला नपरेको उनको दावी छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट हराएका केही हतियार स्थानीयले पछि बुझाएको र केही हतियार अझै नभेटिएको खड्काले बताए । त्यसैगरी करिव ६ हजार गोली समेत हराएको प्रहरीको भनाई छ ।
यसैबीच शनिबार कमल गाउँपालिका–७ स्थित रंगपुर बस्ने ५५ बर्षका गंगाप्रसाद पाण्डेले विहान साढे ६ वजे सोही स्थानको केराको पात काट्ने क्रममा सेतो बोरामा एसएलआरको ७.६२ एमएमको ५५ राउण्ड गोली फेला देखेपछि प्रहरीलाई खवर गरेका थिए । दमक प्रहरीले बोरा खोलेर हेर्दा उक्त संख्यामा गोली भेटेको थियो ।
यसैगरी, झापाका तीन वटा प्रहरी कार्यालयबाट भागेका ९२ जना थुनुवा मध्ये ३ जना सम्पर्कमा आएको खड्काले बताए ।




Discussion about this post