

काँकरभिट्टा, २९ माघ । मेचीनगरमा पहिलो पटक भकभके संघको शाखा गठन गरिएको छ ।
मेचीनगरका स्थानीय गंगाराम दंगालको संयोजकत्वमा नगर समिति गठन गरिएको हो ।
आज काँकरभिट्टा स्थित होटल होलीडे इनमा भकभके संघको आयोजना र मेचीनगर नगरपालिकाको संयोजनमा भकभकेपन बोली सम्बन्धी सचेतना तथा परामर्श कार्यक्रम गरिएको छ ।
दंगालको संयोजकत्वमा ८ जनाको पहिलो पटक मेचीनगरमा समिति बनिएको छ । जसको सदस्यहरुमा निमिसा बराईली, कृष्णप्रसाद कोइराला, अर्जुन राउत, रोशन सुब्बा, झलकप्रसाद सिटौला, टंकबहादुर कटुवाल र विष्णुकुमार पाण्डे रहेका छन् ।
मेचीनगर–५ का वडाध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता भकभके संघका केन्द्रीय महासचिव नारायण शर्माले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कार्की, मेचीनगर–२ का वडाध्यक्ष दीपक बराल, नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जयन्ती खरेल, डा.प्रकाशचन्द्र शाह, स्वास्थ्य केन्द्र काँकरभिट्टा प्रमुख लेखनाथ खतिवडा, आदर्श माविका प्रधानाध्यापक कृष्ण पुरी, शिक्षक यमुना निरौला लगायतले समाजमा भकभकेपन बोली भएका व्यक्तिहरुलाई हेला होइन, माया र हौशला प्रदान गर्न सबै हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका थिए ।
सचेतना तथा परामर्श कार्यक्रममा संघका अध्यक्ष शर्मा, वरिष्ठ सल्लाहकार शंकरप्रसाद गौतम, पूर्व अध्यक्ष रविनकुमार मैनालीले २०६० सालमा स्थापना भएको संघले २०७४ पछि दश प्रकारका भकभके भएका व्यक्तिहरुको हक, हित र अधिकारका लागि लडिरहेको बताएका थिए ।
देशैभरी भकभके भएका व्यक्तिहरुको पहिचान, संगठित, उपचार सेवा र अपाङ्गता परिचय पत्र लगायतका सेवा सुविधा दिन संस्था लागिरहेको उनीहरुको भनाई छ ।
उक्त कार्यक्रमका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र काठमाडौं महानगरपालिकाकाे सहयोग रहेकाे छ ।
कार्यक्रमको स्वागत रविन्द्रकुमार न्यौपानेले गरेका थिए ।




Discussion about this post