झापा, २५ चैत । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानकाे युद्वविराम भएको छ ।
उनीहरू दुई हप्ताको युद्धविराममा सहमत भएका हुन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको नेतृत्वसँग भएको वार्तापछि इरान होर्मुज जलघाँटी (स्ट्रेट अफ होर्मुज)बाट जहाजहरूको आवागमन अनुमति दिन सहमत भएसँगै अमेरिका र इरानबीच युद्धविराम लागू भएको बताएका छन् ।
उनले भने, ´म इरानमाथि बमबारी र आक्रमण दुई हप्ताका लागि रोक्न सहमत भएको छु ।` ट्रम्पले यस युद्धविराममा दुवै पक्ष सहमत भएको बताए ।
इरानमाथि ´विनाशकारी आक्रमण` गर्ने ट्रम्पको समयसीमा नेपाली समय अनुसार बुधबार विहान ५ः४५ बजे सकिँदै थियो।
त्यसको ठीक १० मिनेटअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो युद्धविराम ‘तत्काल प्रभाव’बाट लागू भएको घोषणा गरेका थिए ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि युद्धविराम सम्झौताको पुष्टि गरेको छ ।
मेहर समाचार एजेन्सीद्वारा प्रकाशित वक्तव्यमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको मध्यस्थतामा भएको भनिएको दुई हप्ते युद्धविराम सम्झौताको पुष्टि गरेको हो ।
वक्तव्यमा भनिएको छ कि उक्त युद्धविराम सम्झौता इरानका नयाँ सर्वोच्च नेतृत्त्व मोज्तबा खामेनीको स्वीकृतिमा सम्पन्न भएको हो ।
साथै, उक्त सम्झौताले ´इरानका लागि विजय` भएको बताइएको छ र स्थायी सम्झौताका लागि वार्ता इस्लामाबादमा गरिने पनि उल्लेख गरिएको छ ।
ट्रुथ सोसलमा आफ्नो लामो पोस्टमा ट्रम्पले भनेका छन्, ´पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरसँग भएको कुराकानीका आधारमा उनीहरूले मसँग आज राति इरानमाथि विनाशकारी सैन्य कारबाहीलाई हालका लागि रोक्न अनुरोध गरेका थिए । म इरानमाथि बमबारी र आक्रमण दुई हप्ताका लागि रोक्न सहमत भएको छु । तर, यो सर्तमा कि इस्लामिक गणतन्त्र इरान होर्मुज जलघाँटी पूर्ण रूपमा, तुरुन्त र सुरक्षित तरिकाले खोल्न सहमत होस् ।`
ट्रम्पले भने, ´यो एक द्विपक्षीय युद्धविराम हुनेछ ।` ट्रम्पले यसको कारण बताउँदै भनेका छन् कि अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्यहरू केवल हासिल मात्र गरेको छैन, त्यसभन्दा अगाडि समेत बढिसकेको छ, र इरानसँग दीर्घकालीन शान्ति तथा मध्यपूर्वमा स्थायी शान्तिका लागि निर्णायक सम्झौताका निकै नजिक पुगेको छ ।
उनले दाबी गरे कि इरानतर्फबाट १० बुँदे प्रस्ताव प्राप्त भएको छ, जसलाई वार्ताका लागि व्यावहारिक आधार मानिएको छ ।
ट्रम्पका अनुसार अमेरिका र इरानबीच पहिले नै विवादका झण्डै सबै महत्वपूर्ण मुद्दाहरूमा सहमति बनिसकेको छ, तर यी दुई हप्ताको समय सम्झौतालाई अन्तिम रूप दिन र औपचारिक रूपमा लागू गर्नका लागि दिइएको हो ।
अन्त्यमा ट्रम्पले भने, ´संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको रूपमा, साथै मध्यपूर्वका देशहरूको प्रतिनिधित्व गर्दै, लामो समयदेखि चलेका मुद्दाको समाधानको नजिक पुग्नु सम्मानको कुरा हो ।`




Discussion about this post