काँकरभिट्टा, २२ साउन । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई उद्वार गरेर परिवारलाई जिम्मा लगाइएको छ ।
भारतको पश्चिम बंगाल सरकार, कोलकाता स्थित नेपालको महावाणिज्य दूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूलाई नेपाल ल्याउन सहज भएको हाे ।
परिवारसँग पुनर्मिलन गराइएका बालबालिकामा १५ वर्षीया अनुषा परियार, १७ वर्षीय कृष्ण ऋषिदेव, राम ऋषिदेव र श्याम ऋषिदेव रहेका छन् ।
कृष्ण, राम र श्याम एकै परिवारका तीन दाजुभाइ हुन् । (उनीहरू एउटै परिवारका दाजुभाइका छोराहरु हुन) । ( बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राखी समाचारमा प्रयोग गरिएका नाम परिवर्तन गरिएको हो। )
सुनसरीको धरान क्षेत्रकी अनुषा करिब तीन वर्षको उमेरमा पारिवारिक परिस्थितिका कारण उनका काका जोन मार्फत सिलीगुडी स्थित भावना सोसाइटी अनाथालय गृहमा पुगेकी थिइन् । त्यहाँ रहेर उनले आफ्नो अध्ययनलाई निरन्तरता दिँदै हाल कक्षा १० मा अध्ययन गरिरहेकी थिइन् ।
करिब दुई महिनाअघि संरक्षण गृहको दर्ता तथा व्यवस्थापन सम्बन्धी प्रक्रियाका कारण उनलाई सिलीगुडीबाट दार्जिलिङ्ग स्थित शैशाली माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्समा स्थानान्तरण गरिएको थियो । सोही संरक्षण गृहबाट आवश्यक प्रक्रिया पूरा गरेर उनलाई नेपाल फर्काइएको हो ।
त्यसैगरी मोरङको रंगेली क्षेत्रका कृष्ण, राम र श्याम भारतमा रोजगारी गरी पैसा कमाउने, घर बनाउने सोचमा गाउँका अन्य युवाहरूको कुरामा लागेर भारततर्फ गएका थिए ।
तीनै जना दाजुभाइ किशनगञ्जबाट रेलमार्फत चेन्नईतर्फ जाँदै गर्दा खड्गपुर रेलवे स्टेसनमा भारतीय प्रहरीले फेला पारेको थियो । त्यसपछि उनीहरूलाई पश्चिम मेदिनीपुर स्थित चोक कुमार एशाेसिएशन फर सोशल सर्भिसको संरक्षण गृहमा पठाइएको थियो ।
करिब दुई महिना संरक्षण गृहमा बसेपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी तीनै जना दाजुभाइलाई नेपाल फर्काइएको हो ।
बालबालिकाहरूलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा अन्तरगत महिला तथा बालबालिका शाखाकी प्रहरी नायब निरीक्षक सई मिलनकुमारी राई, कोलकाता स्थित नेपालको महावाणिज्य दूतावासका कार्यालय सचिव सतीश थापा, नव अभियान नेपालका प्रतिनिधिहरूले अभिभावकहरूको जिम्मा लगाएकाे थियो ।
काँकरभिट्टा स्थित नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले बालबालिकाहरूलाई यहाँ ल्याउन नेपाल र भारतका सराेकारवाला निकायबीचकाे सहकार्यले सम्भव भएको बताए ।
भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा रहेका नेपाली बालबालिकाको उद्धार, संरक्षण, कानुनी सहायता र परिवारसँग भेट गराउँनलाई संस्था सक्रिय रहेकाे उनकाे भनाई छ ।
।। कृष्ण सिञ्जाली ।।



Discussion about this post