मेचीनगर, ३ असाेज । महिला जनचेतना केन्द्र काँकरभिट्टाले बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरणका लागि झापाकाे तीन ठाउँमा कचहरी नाटक प्रदर्शन गरेकाे छ ।
केन्द्रले झापाकाे मेचीनगर नगरपालिका, कचनकवल र बाह्दशी गाउँपालिकामा जनचेतनामूलक कचहरी नाटक देखाएको हाे ।
मेचीनगर-४, बाहुनडाँगी स्थित सरस्वती मावि परिसर, कचनकवल र बाह्दशीमा देखाइएको नाटककाे सहजीकरण परिवर्तन थिएटर काँकरभिटटाकाे टिमले गरेकाे थियाे ।
ग्रामीण भेगका पिछडिएका समुदायमा कम उमेरमा विवाह गरिदिने चलनले महिला तथा बालबालिकाहरू याैन र घरेलु हिंसामा परेकाे विभिन्न तथ्यांकहरूले पनि देखाएको छ ।
गरिबी र अशिक्षाका कारण ती समुदायमा यस्ता कुराहरूले घर गरेकाे छ । त्यसकाे फाइदा लिदैं केही व्यक्तिहरूले प्रलाेभनमा पारेर मानव तस्करी गर्ने गरेकाे घटनाहरू पनि समाजमा प्रशस्तै छन् ।
केन्द्रले यस्तै घटनाहरूलाई शुष्म ढंगले अनुसन्धान गर्दै दातृ निकायहरूकाे सहयाेगमा ग्रामीण क्षेत्रका अति विपन्न समुदायसँग नजिक रहेर सहकार्य गर्दै आएको छ ।
तीन ठाउँकै सन्देशमूलक नाटकमा वडाका वडा अध्यक्ष, वडा सदस्य, स्कुलका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, लक्षित समुदाय, बाल सञ्जाल र केन्द्रका पदाधिकारी, सदस्य र कर्मचारीहरूकाे उल्लेख सहभागिता रहेकाे थियाे ।
केन्द्रकी अध्यक्ष सीता गुरूङ, संस्थापक अध्यक्ष राधा प्रधान, कार्यक्रम संयाेजक मनिला उप्रेती, कचहरी नाटककी परिकल्पनाकार एवम् परिवर्तन थियटर सञ्चालक कविता नेपाल लगायतले वालविवाह राेक्ने सम्बन्धि चर्चा गरेका थिए ।
केन्द्रकाे स्पष्ट नीति पनि २० वर्ष कटेपछि मात्र विवाह गर्न याेग्य हुने धारणा राख्दै आएको छ । कम उमेरमा बालविवाह गर्नु अपराध रहेकाे केन्द्रकाे भनाई छ ।




Discussion about this post