काँकरभिट्टा, १२ मंसिर । काँकरभिट्टाको ४८ वर्ष पुरानो परिचित एक सहकारी मर्ज गर्ने तयारीमा पुगेको छ ।
२०३४ सालमा स्थापना भएको काँकरभिट्टाको राष्ट्रियस्तरमा नै नाम कमाएको महेन्द्रद्वार सहकारी संस्था लिमिटेड यो वर्षभित्रै मर्ज गर्ने तयारीमा छ ।
संस्थाको अचल सम्पति भएपनि पछिल्लो समय शेयर सदस्यहरुको निक्षेप फिर्ता गर्न नसकेर खस्किएको अवस्था छ । सोचे जस्तो कारोवार र निक्षेप संकलन गर्न नसकेपछि धीमा गतिमा सदस्यको रकम फिर्ता हुँदै छ । सदस्यको करिव अझै एक करोड रकम तिर्न बाँकी रहेको छ ।
शुक्रबार संस्थाको ३६ औँ बार्षिक साधारण सभामा मर्ज गर्नुको विकल्प नभएको भन्दै मेचीनगर–६ काँकरभिटामै मुख्य कार्यालय रहेको आधुनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग मर्ज गर्ने सहमती भएको छ ।
साधारण सभामा अध्यक्ष राजकुमार दाहाल (राजु) ले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारले सहकारी अभियानलाई गरेको आवहान कार्यक्षेत्र, दोहोरो सदस्यता, एउटै उदेश्य मिल्ने सहकारीहरुबीच एकीकरण गर्ने, सदस्यहरुलाई सहकारीप्रति थप विश्वासिलो, भरपर्दो र जवाफदेही बनाउने योजना समेत रहेको हुँदा यसै क्षेत्रमा मुख्य कारोवार गरेको आधुनिक बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गर्ने दुवै संस्थाको आपसी सहमती भएकोले आवश्यक कानुनी प्रक्रिया पूरा गरी चालु आ.व.भित्रमा सम्बन्धीत निकायहरुबाट स्वीकृति लिइ एकीकरणका लागि प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव पारित भएको अध्यक्ष दाहालले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा, राष्ट्रिय सहकारी बैँकका धुलाबारी शाखा प्रमुख प्रेमबहादुर श्रेष्ठ, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल थापा, काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूपाल शिवाकोटी, समाजसेवी बिना तामाङ लगायतले दुई वटा सहकारी एकीकरण हुँदा सहज र शेयर सदस्यलाई फाइदा नै पुग्ने बताएका थिए ।
संस्थाले श्रममा सदस्य, सदस्यसँग सहकारी नारासहित विगतदेखि नै औषधिजन्य वनस्पति खेती विस्तार तथा प्रशोधन कार्यक्रमलाई थप प्रभावकारी बनाउन अन्य जग्गाको खोजी गरिरहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको सनराइज हर्वल उद्योग रहेको मेचीनगर–८ स्थित कि.न. २६५१ र १०१० को जग्गा बिक्री भइसकेकोले उक्त उद्योग अर्को ठाउँमा सार्न भाडामा जग्गा खोजिरहेको छ ।
महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत उपाध्यक्ष युप्रसाद ओलीले र सञ्चालन सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।




Discussion about this post