।। अर्जुन कार्की ।।
मेचीनगर, ३० पुस । आज विहान मेचीनगरको दमकल साइरन बजाउँदै काँकरभिट्टातिर लागेपछि कहाँ आगलागी भएछ भन्दै सर्वसाधारण दौडिदैँ थिए ।
दमकल काँकरभिट्टा माविको खेल मैदानतिर लाग्यो । खेल मैदानमा दनदनी आगो बलिरहेको थियो । मैदानमा भएका टाटी र परालले छाएको केहि साना घरहरुमा आगो लागिरहेको थियो ।
घरभित्रका मान्छेहरु लौ न आगो लाग्यो भन्दै हारगुहार गरिरहेका थिए । त्यसैबेला नगरप्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको टोली आगो निभाउन थाल्छन् । लगत्तै दमकलले पनि आगो निभाउन लाग्छ ।
दौडिएर खेल मैदान पुगेका सर्वसाधारणहरु एकछिन झुक्किए, हेरेर छक्क परे । यो सत्य घटना थिएन् । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा. झापाले मेचीनगर नगरपालिकाका नगरप्रहरी, बारुणयन्त्रका प्रहरी तथा कर्मचारी र वडा सदस्यलाई समुदाय विपद् स्वयंसेवक तालिम दिइरहेको थियो । १८ दिनसम्म सञ्चालन भएको तालिमको बुधबार समापनको दिन थियो ।
सशस्त्र प्रहरीका प्रशिक्षक, नगरप्रहरी र वडा सदस्यहरुलाई घर तथा पसलमा राखेको ग्यास सिलिण्डर पडकिएर हुने आगलागी र घरमा लागेको आगो निभाउन, उद्वार गर्न लगायत विपद्को जोखिमका बारेमा डेमो प्रदर्शन गराइएको थियो ।
सशस्त्र प्रहरी बल झापाका डीएसपी एवम् प्रवक्ता रोहित घिमिरेको कमाण्डमा प्रहरी निरीक्षक सुजल भण्डारी र नायव निरीक्षक खेमराज कटुवालले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
तालिममा घर, भवन, वनमा आगलागी हुँदा डोरीको सहायतबाट जिपलाइन, अपर रिभर्सक्रस,¥याप्लिङ्ग, विभिन्न गाँठो तथा नटहरु बनाउने तरिका, वाढी तथा डुबानमा रेस्क्युको दौरान इम्प्रोभिसेड ¥याफट बोट बनाउने तरिका, घाइते बिरामीलाई अस्पताल लैजान स्थानीय स्तरमा उपलब्ध हुने सामाग्रीबाट स्ट्रेचर बनाउने तरिका, घाइते विरामीको प्राथमिक उपचार लगायतका बारेमा जानकारी गराइएको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, सशस्त्र प्रहरी कोशी प्रदेश प्रमुख डिआईजी कुमार न्यौपाने, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, तालिममा सहभागी नगरप्रहरी प्रकाशकुमार बानियाँ लगायतले बोलेका थिए ।
तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सशस्त्र प्रहरीको सहकार्यमा नगरपालिकाले बाढी, पहिरो, डुबान, आगलागी जस्ता विपद्का घटनाहरुको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय श्रोत तथा साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधिहरु र विपद्को समयमा आधुनिक उपकरणहरुको प्रयोगका बारेमा तालिम उपलब्ध गराइएको जानकारी दिए ।
कार्यक्रमको सहजीकरण तालिमका प्रशिक्षक नायव निरीक्षक कटुवालले गरेका थिए ।




Discussion about this post