




मेचीनगर, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं.१ मा दलका र स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
झापा–१ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार दुई जना स्वतन्त्र र १३ जना राजनीतिक दलका उम्मेदवारसहित १५ जनाले मनोनयन पत्र दर्ता गरेका हुन् ।
निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार नेकपा एमालेका तर्फबाट रामचन्द्र उप्रेती, नेपाली काँग्रेसका तर्फबाट केशबराज पाण्डे, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट अशेष घिमिरे, राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट हेमराज कार्की, श्रम संस्कृति पार्टीका तर्फबाट केवलराम राई, मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) को तर्फबाट सन्तोष तामाङ, उज्यालो नेपाल पार्टीका तर्फबाट नरेशकुमार लावती, नेपाल मजदुर किसान पार्टीका तर्फबाट हिरण्यप्रसाद भट्टराई, नेपाल जनमुक्ति पार्टीका तर्फबाट खान्द्रु बुरुवा, जनता समाजवादी पार्टीका तर्फबाट रमा मेचे, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका तर्फबाट मानबहादुर साँवा लिम्बु र नेपाल सदभावना पार्टीका तर्फबाट ओलिन राजबंशीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै दुई जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृतका टेकबहादुर श्रेष्ठले मेचीनगर–८ निवासी गणेशप्रसाद खरेलले र अर्का बुद्वशान्ति गाउँपालिका–५ का दुर्गाप्रसाद सावाँ लिम्बुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।
झापामा हेभिवेटहरुको उम्मेदवारी
यता झापा–२, ३, ४ र ५ मा हेभिवेटहरुले पनि उम्मेदवारी दिएका छन् ।
झापा–५ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, काठमाडौँ महानगरपालिकाका मेयर एवम् रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह, नेपाली कम्यूनिष्ट पार्टीबाट रञ्जित तामाङ लगायत स्वतन्त्रसहित २४ ले उम्मेदवारी दिएका छन् ।
झापा–४ मा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, एमाले नेता एलपी साँवा लिम्बू लगायत स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् ।
झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेसबाट राजेन्द्र घिमिरे लगायत स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै झापा–२ मा संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, कांग्रेसकी सरिता प्रसाई, राप्रपाबाट भद्रप्रसाद नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट अर्जुनकुमार पाण्डे लगायत स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालय झापाले जनाएको छ ।




Discussion about this post